निर्वाचनको परिवेश तयार गरिदेउः आयोग

काठमाडौ, ७ असार । निर्वाचन आयोगका आयूक्त अयोधिप्रसाद यादवले दलहरुवीच सहमति बन्न नसके मंसिर ७ गते निर्वाचन सम्भव नरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने बताए । उनले भने, ‘निर्वाचन हुन गतिशिल अवस्थाको सृजना गर्नु पर्छ ।’
सबै कानुनी, राजनीति र प्राविधिक समस्याको अन्त्य पछि निर्वाचन सम्पन्न गर्न १ सय २० दिन आवश्यक रहेको भन्दै यादवले साउन पहिलो सातासम्म कानूनी जटिलताको अन्त्य गर्नै पर्ने बाध्यता सरकारलाई रहेको बताए ।
आयूक्त यादवले निर्वाचन गर्न संविधानमा संसोधन गरेर मतदातको बैद्यता, संविधानसभा सदस्य निर्वाचन ऐन २०६९, मतदाता नामावलीको अपडेट भर्सन, ईलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोगको तालिम र कर्मचारीको ब्यवस्था गर्नु पर्नेमा जोड दिए ।
निर्वाचन आचार संहिता सरकारले पूर्ण रुपमा पालना गर्नु पर्ने भन्दै उनले आयोगले यसको कडा अनुगमन गर्न संयन्त्रको निर्माण गरिसकेको जानकारी दिए । यादवले भने, ‘अहिलेसम्म १ सय ७ वटा आचार संहिता उल्लघनको उजुरी आयोगमा पसिरकेका छन् ।’
प्रहरीका उच्च अधिकारीहरुको सरुवा गर्न आयोगले अनुमति नदिएको भन्दै उनले नेपाल टेलिभिजनका निमित्त महाप्रवन्धक दीपकमणी धिताललाई हटाएको विषयमा समेत आयोगले अनुसन्धान थालिसकेको जानकारी दिए । सरकारले भने आयोगसँग अनुमति लिएर प्रहरी उच्च अधिकारीको सरुवा गरेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया