पूर्वसदस्य–सचिव शाहको निधन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव शरदचन्द्र शाहको बुधबार अपराह्न सिंगापुरमा निधन भएको छ ।
उपचारका लागि सिंगापुरस्थित सिंगापुर जनरल अस्पताल पुर्‍याइएका ६६ वर्षीय शाहको उपचारका क्रममा निधन भएको उनका सहयोगी मनोज प्रधानले जानकारी दिए । पछिल्लो केही महिनादेखि अस्वस्थ रहेका शाहका दुवै मृगौलाले काम गर्न छाडेका थिए । एक महिनाअघि उपचारार्थ सिंगापुर पुर्‍याइएका शाहलाई केही दिनयता भेन्टिलेटरमा राखिएको थियो । विक्रम संवत् २०३४ सालमा राखेप सदस्य–सचिव नियुक्त भएका शाह १० वर्ष उक्त पदमा रहेका थिए । पञ्चायती व्यवस्थाको अवसान हुनुभन्दा करिब दुई वर्ष पहिले परिषद् नेतृत्वबाट हटाइएका शाहको नेतृत्वलाई नेपाली खेलकुदमा उल्लेखनीय मानिन्छ ।
देशको खेलकुद इतिहासकै सर्वाधिक शक्तिशाली व्यक्तित्व मानिने शाहकै पालामा २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सुरु भएको थियो । त्यस्तै, देशभर पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय प्रतियोगिता साग, एसियाड र ओलम्पिकका विजेता खेलाडीलाई मोटरसाइकल र नगद रकमसहित सम्मानित गर्ने प्रचलन पनि उनले सुरु गरेका थिए । विशेषगरी, उनकै पहलमा नेपालमा २०४१ सालमा दक्षिण एसियाली खेलकुद सागको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । उनी नेपाल ओलम्पिक कमिटी (एनओसी)मा ११ वर्ष अध्यक्ष पनि भए । त्यस्तै, अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघमा वरिष्ठ उपाध्यक्ष पनि चुनिएका थिए ।
बेलायतमा अध्ययन गरी फर्किएका उनले राजा महेन्द्रका ज्वाइँ खड्गविक्रम शाहले छाडेपछि राखेप सदस्य–सचिव पद सम्हालेका थिए । २०४४ सालको रंगशाला काण्डपछि उनलाई राखेप सदस्य–सचिव पदबाट हटाइएको थियो । २०४६ सालको जनआन्दोलनमा राजाको पक्षमा देखिएका उनी त्यसपछि लामो समय विदेशमा रहे ।
खेलकुदबाहेक राजनीतिक स्तरमा उनको प्रभाव बलियो थियो । अहिलेका राजसंस्था पक्षधर कतिपय राजनीतिक दलका प्रभावशाली नेतालाई स्थापित गर्न स्वर्गीय शाहकै विशेष भूमिका रहेको बताइन्छ । २०५८ सालदेखि सुरु भएको तत्कालीन राजा ज्ञानेन्द्रको शाही शासनताका उनी राजाका सल्लाहकार थिए । यस क्रममा उनी उच्चस्तरीय सूचना प्रविधि आयोगको उपाध्यक्ष पनि भएका थिए । सूचना र प्रविधिका क्षेत्रमा उनको विशेष दख्खल थियो । काठमाडौंको उच्च खानदानमा जन्मिएका स्वर्गीय शाहका बुबा सुरेन्द्र नेपाल आर्मीका पूर्वप्रमुख हुन् । (सौस)

प्रतिक्रिया