डिजेल र मट्टीतेलको भाउ ४ रुपियाँ बढ्यो

काठमाडौं, ६ असार । अन्तर्राष्ट्रिय बजारमा मूल्य गिरावट भइरहेका बेला नेपाल आयल निगमले भने डिजेल र मट्टीतेलमा फेरि मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमबार राति बसेको बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपियाँ मूल्य बढाएको हो ।
बढाएको मूल्यअनुसार मंगलबारदेखि नै उपभोक्ताले डिजेल र मट्टीतेलमा प्रतिलिटर ९३ रुपियाँ तिर्नुपर्ने भएको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८९ रुपियाँ थियो । यसले सवारीसाधन र औद्योगिक क्षेत्रका प्रयोगकर्ता बढी प्रभावित भएका छन भने सवारी भाडा र औद्योगिक क्षेत्रको लागतसमेत बढ्ने भएको छ । तर, यसपटक पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको भने मूल्य वृद्धि नभएको निगमले जनाएको छ ।
निगमको मासिक घाटा कम भइरहेका समयमा उपभोक्तालाई प्रत्यक्ष मार पार्नेगरी निगमले मूल्य बढाएको हो । यसबाट उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । भारतीय आयल निगमले १६ जुनमा पठाएको नयाँ मूल्य सूचीअनुसार अहिले निगमको मासिक घाटा १३ करोड नौलाखमा सिमित रहेको छ ।
सरकारसमेतले निगम घाटा कम गर्न र पुरानो बक्यौता तिर्न करिब डेढ अर्ब रुपियाँ ऋण दिएको तथा भाका नाघेको ऋण मिनाहको प्रक्रिया अघिबढाएका अवस्था एकतर्फी मूल्य वृद्धिले समग्र उत्पादनको लागत बढ्ने भएको छ । निगमलाई ऋणस्वरूप दिएको पाँच अर्ब रुपियाँ मिनाह गर्ने प्रक्रिया अहिले सरकारले अगाडि बढाएको छ । पेट्रोलियम पदार्थ सहज आपूर्ति गर्न भन्दै निगमलाई विभिन्न समयमा दिएको ऋणमध्ये भाका नाघेका ऋण मिनाह गर्ने प्रक्रियामा सरकार लागेको छ । वाणिज्य तथा अपूर्ति मन्त्रालयले निगमले ऋण तिर्न नसक्ने र लिएको ऋणको तिर्ने भाका पनि नाघेकाले मिनाहको प्रक्रियामा अघि बढेको जनाएको छ ।
यस्तो अवस्थामा मूल्य वृद्धि आवश्यक नभएको उपभोक्तावादीको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बाँनिया निगमले गरेको मूल्य वृद्धिले उपभोक्ता मारमा पर्ने र औद्योगिक उत्पादनको लागत खर्चसमेत बढ्ने बताउँछन् । उनले घाटा कम भइरहेका समयमा निगमले मूल्य बढाउनु उपयुक्त नभएको जनाए । अन्तर्राष्ट्रिय बजारमा भइरहेको तेलको मूल्य गिरावट र निगम नाफा–घाटा बराबरी अवस्था आइसकेकाले पनि मूल्य वृद्धि अहिले आवश्यक्ता नभएको उनको तर्क छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९५ डलरको हाराहारीमा छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य गिरावट भए पनि घाटा कम नभएकाले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमको दाबी छ । मूल्य वृद्धिपछि पनि भारतीय आयल निगमको पछिल्लो मूल्य सूचीअनुसार डिजेलमा अझै प्रतिलिटर एक रुपियाँ २० पैसा घाटा रहेको निगमको दाबी छ । एलपी ग्यासमा भइरहेको ठूलो घाटाले नै डिजेल र मट्टीतेलमा मूल्य बढाउनु परेको निगम अधिकारीको दाबी छ ।
निगमका अनुसार अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय ५३ रुपियाँ घाटा छ । यस्तै एलपी ग्यासको कुल घाटा अहिले ५४ करोड ३७ लाख रुपियाँ रहेको जनाएको छ । डिजेलमा मूल्य वृद्धिपछि पनि कुल घाटा सात करोड ८० लाख रहेको निगमले दाबी गरेको छ । नयाँ मूल्य सूचीअनुसार अहिले निगमलाई पेट्रोलमा २० करोड १९ लाख कुल नाफा र प्रतिलिटर ११ रुपियाँ ८८ पैसा, मट्टीतेलमा पाँच करोड साच लाख कुल नाफा र प्रतिलिटर आठ रुपियाँ ४५ पैसा, आन्तररिक उडानको हवाई इन्धनमा चार करोड ७५ लाख कुल नाफा र प्रतिलिटर १५ रुपियाँ ८४ पैसा, हवाई इन्धनकर छुटसहित अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा १९ करोड ६ लाख कुल नाफा र प्रतिलिटर २७ रुपियाँ २३ पैसा नाफा रहेको निगमले जनाएको छ ।
निगम प्रवक्ता मुकुन्द ढुंगेलले आइओसीलाई अहिले एक अर्ब ७० करोड भारु तिर्न बाँकी रहेको जनाएका छन् । बक्यौता बढेकोबढ्यै गर्ने तथा आपूर्ति सहज नहुने भएकाले निगम मूल्य वृद्धिका लागि बाध्य भएको उनको भनाइ छ । उनले निगमको पेट्रोलियम भण्डारण क्षमता ७२ हजारकिलो लिटर भए पनि सरदर मासिक एक सय १५ हजार किलो लिटर पेट्रोलियम आयत गर्ने गरेको जनाए । उनका अनुसार अहिले उपत्यकामा दैनिक तीन हजार किलो लिटर पेट्रोलियम खपत हुन्छ ।

प्रतिक्रिया