बैंक ब्याजदर मुद्रास्फीतिभन्दा तल

काठमाडौं, ६ असार । निक्षेप परिचालन निरन्तर बढ्दै जाने तर ऋण परिचालन भने बढ्न नसकेपछि बैंकले विस्तारै निक्षेपमा दिने ब्याजदरलाई मुद्रास्फीतिभन्दा पनि तल राख्न थालेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नौ महिनाको देशको आर्थिक स्थितिअनुसार मुदास्फीति साढे सात प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूले भने अहिले बचत निक्षेपमा सात प्रतिशतभन्दा तल मात्र ब्याज दिन थालेका छन् ।

तेस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशित गरेपछि बैंकहरूले विस्तारै निक्षेपमा दिने ब्याजदर घटाउँदै लैजान थालेका हुन् । लक्ष्मी बैंकले ग्रिन सेभिङ भनेर सञ्चालनमा ल्याएको योजना सुरु हँुदा आठ प्रतिशत ब्याजदर कायम गरिएको थियो । करिब ६ महिनाअघि यो ब्याजदर पुनरावलोकन गरी सात प्रतिशत पुर्‍याइएको छ । हालै पुन: सो खातामा ब्याजदर पुनरावलोकन गरी ६ प्रतिशत मात्र कायम गरिएको बैंकद्वारा प्रकाशित गरेको सूचनामा उल्लेख छ । ग्लोबल बैंकले कर्मचारी बचत खातामा आठ प्रतिशत ब्याज प्रदान गर्दै आएको थियो । करिब दुई साताअगाडि बैंकले सूचना पकाशन गरी यो दरलाई सात प्रतिशतमा झारेको हो ।
गत वर्ष चरम तरलता अभावको समयमा बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ता आकर्षित गर्न निक्षेपमा बिस्तारै ब्याजदर बढाएर दोहोरो अंकसम्म कायम गरेका थिए । विशेषगरी नयाँ बैंकहरू यो दौडामा अगाडि देखिएका थिए । तुलनात्मक रूपमा स्थिर मानिएको हिमालयन बैंक, एनआइसी बैंक कुमारी बैंकले पनि बचतको ब्याजदर नौदेखि १० प्रतिशतसम्म पुर्‍याएको थियो भने ग्लोबल बैंक, सनराइज बैंकलगायत बैंकले पनि १० प्रतिशतभन्दा बढी नै ब्याजदर कायम राखेका थिए ।
अमेरिकी डलर बलियो हुनु, बजेट समयमा आएर सरकारी खर्च बढ्नुजस्ता विविध कारणले गर्दा वित्तीय प्रणालीमा निक्षेप बढ्न थालेपछि बैंकहरूले विस्तारै निक्षेपमा ब्याजदर घटाउन सुरु गरेका हुन् । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा चैत मसान्तसम्म साढे १३ प्रतिशतले निक्षेप बढेर एक खर्ब १० अर्ब ७३ करोड रुपियाँ थपिएको छ । सो अवधिमा वित्तीय प्रणालीको कर्जा तथा लगानी भने करिब १० प्रतिशत अर्थात् ८६ अर्ब ४९ करोड रुपियाँले मात्र बढेको छ ।
घरजग्गा कारोबार अझै पूर्णरूपमा चलायमान नभएको तथा सेयर बजारसमेत संविधानसभाको विघटनपछि सुस्त गतिमा चलेका कारण विगतजस्तो यस क्षेत्रमा कर्जा लगानी बढेको छैन । छिटफुट कृषि क्षेत्र र सेवा क्षेत्रमा कर्जा लगानी बढे पनि त्यसको नतिजा देखिन समय लाग्ने विज्ञ बताउँछन् । अधिकतम बैंकको घरजग्गा क्षेत्रमा गएको कर्जा उठ्न नसकेकाले नोक्सानी व्यवस्थाका लागि धेरै रकम छुट्याउनुपर्दा खुद मुनाफासमेत प्रभावित भएको छ ।
खुद मुनाफामा प्रभावित हुने भएपछि बैंकहरूले निक्षेपमा ब्याज धेरै घटाउने तर त्यसको तुलनामा कर्जामा भने ब्याज कम मात्र घटाउने गर्न थालेका छन् । विगतका वर्षमा अत्यधिक लागतमा मुद्दती निक्षेप उठाएकाले तुरुन्त कर्जामा ब्याजदर घटाउन नसकिएको बैंकरहरूले बताउँदै आएका छन् । निक्षेपमा ब्याज घटाउने एवं कर्जामा ब्याज नगन्य मात्र घटाउने गर्दा बैंकहरूको स्प्रेडदर समेत घट्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा ब्याजदर करिडोर लागू भएपछि अल्प समयमा ब्याजदर घटबढ हुने समस्या नहुने बताउँछन् । श्रीलंका र भारतमा गएर राष्ट्र बैंकका अधिकारीहरू ब्याजदर करिडोरको विषयमा अध्ययन गरेर फर्केको बताउँदै सोही अध्ययनका आधारमा आगामी वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोर लागू गरिने बताए ।
बचत निक्षेपको ब्याजदर ७ प्रतिशतभन्दा मुनि नै रहे पनि मुद्दती निक्षेपको ब्याजदर भने अझै पनि मुद्रास्फितिभन्दा माथि नै रहेको उनले बताए । वित्तशास्त्रको सिद्धान्तमा बैंकको ब्याजदर मुद्रास्फीतिभन्दा माथि हुनुपर्ने मान्यता छ । ‘एक वर्षको मुद्दती निक्षेपलाई आधारभन्दा नेपाली बैंकले दिएको ब्याजदर अझै सकारात्मक नै छ,’ उनले भने । भारतमा पनि मुद्दती निक्षेपको ब्याजदर मात्र अत्यधिक रहेको तर अन्य बचत निक्षेपको ब्याजदर कम रहेकाले पुँजी पलायनको खतरा न्यून रहेको उनने दाबी गरे ।

प्रतिक्रिया