वृद्धवृद्धा र नाबालकको बिचल्ली

चितवन, ६ असार । ‘६ महिनाको नातिलाई कसरी हुर्काउने,’ ८० वर्षीय मैतलाल चेपाङले भने, ‘दिनदिनै गरेर घरमा भएका ठूलाजति सबै मरे, बाँकी दुई काखे बालक र बूढाबूढीमात्र छौँ ।’ चितवन कविलास–७, चौकीका मैतलालका छोराबुहारी र तीन नातिको विषालु च्याउ खाएपछि निधन भएको छ । घरमा उनी, पत्नी र दुई वर्षका र ६ महिनाका नातिमात्र छन् ।
३१ जेठमा जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी भएका छोरा बुद्धिबहादुरको परिवारका पाँच सदस्यको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । उपचार गराइरहेका अर्जुनको पनि सोमबार ज्यान गएपछि बुद्धिबहादुरको परिवारका दुई नाबालक र वृद्ध बाबुआमामात्र बाँचेका हुन् ।
उपचारका क्रममा शनिबार ६ वर्षीय सन्तबहादुर, आइतबार ९ वर्षीय मनबहादुर र आमा सोमतीको मृत्यु भएको थियो । सोमबार ३५ वर्षीय बुद्धिबहादुरको निधन भयो । सोमबार राति अर्जुन चेपाङ पनि उपचारकै क्रममा मरे ।
‘म बूढोले काइँलालाई कसरी हुर्काउनु,’ मैतलालले निराशा प्रकट गरे । उनका दुई वर्षीय नाति भोकले रुन्थे भने बेलाबेला आँगन र पिँढीमा खेल्थे । उनलाई बाबुआमा र दाइहरू बजार गएको मात्र थाहा छ । अबोध बालकको अनुहार हेरेर भक्कानिँदै मैतलाल भन्छन्, ‘यो ६ महिने दुधे बालक काइँलालाई पाल्नै समस्या पर्ने भयो ।’ उनले थपे, ‘आमाको दूध चुस्नुपर्ने बालक कसरी हामी बूढाबूढीसँग मानोस् ।’
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका पाँचको मृत्यु मात्र भएको छैन । बाँचेका दुई अबोध बालक र वृद्ध दम्पत्ती पनि समस्यामा परेका छन् । मंगलबार पत्रकारहरू चौकी गाउँ पुग्दा मैतलाल केही बोल्न सकेनन् । बोलून् पनि कसरी, उनी ६ महिने नाति भुलाउन कोसिस गरिरहेका थिए । धूलोमा लटपटिँदै उनका नाति रोइरहेका थिए । भाँडाकुँडा अस्तव्यस्त थिए । मैतलाल चित्त बुझाउन नसकेर भन्दै थिए, ‘जंगलकै च्याउ खाएर यो उमेरमा आइपुगिओ तर च्याउकै कारण छोराबुहारी र तामाका मुनाजस्ता नाति गुमाउनुपर्‍यो, यो उमेरमा यो दिन देख्नु पर्‍यो ।’

प्रतिक्रिया