सुरुङको ढुंगामाटोले पहिरोको खतरा

सिन्धुपाल्चोक, ६ असार । मध्यभोटेकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरुङ (टेस्ट अडिट टनेल) खन्दा निस्केको ढुंगामाटो जथाभावी फ्याँक्दा सिन्धुपाल्चोक गाती गाविसस्थित सखुवामा पहिरो जाने खतरा बढेको छ । गत वैशाखदेखि खन्न सुरु गरिएको सुरुङबाट निस्केको ढुंगामाटो छुट्टै व्यवस्थापन नगरी जथाभावी फ्याँकिदा वर्षात्सँगै पहिरोको खतरा बढेको हो ।

पाँच मिटर चौडाइ र पाँच मिटर उचाइको सुरुङ ४८ मिटर खनिसक्दा प्रतिमिटर २२.३२ घनमिटरका दरले करिब एक हजार ७२ घनमिटर ढुंगामाटो निस्किसकेको छ । सुरुङसम्म पुग्ने बाटो र छेउछाउमा यत्तिकै राखिएकाले जुनसुकै बेला पहिरो जानसक्ने डर भएको स्थानीय भीमबहादुर शाहीले बताए । ‘दिनदिनै निस्केको ढुंगामाटो जथाभावी फालिँदा पानी पर्नेबित्तिकै पहिरो झर्ने खतरा छ,’ उनले भने, ‘पहिरो गए अरनिको राजमार्ग र रिसोर्ट बगाएर लैजाने खतरा छ ।’
प्राविधिकका अनुसार अरनिको राजमार्गदेखि एक सय मिटरमाथि खनिएका टेस्ट अडिट टनेलमा प्रतिमिटर २२.३२ घनमिटर माटो निस्कने भए पनि बाहिर ल्याउँदा त्यसको ठ्याक्कै दोब्बर हुन्छ । अहिलेसम्म करिब दुई हजार एक सय ४३ घनमिटर माटो सुरुङबाट बाहिर निकालिसकिएको छ । परियोजनाले सानो परीक्षण सुरुङ भएकाले छुट्टै ढुंगामाटो राख्ने ठाउँ नछुट्याइएको जनाएको छ । ‘मुख्य सुरुङ होइन, त्यसैले परीक्षण सुरुङका लागि साइट छुट्याइएन,’ मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक प्रकाशमान श्रेष्ठले सौर्यसँग भने, ‘निस्केको ढुंगामाटो कच्ची बाटोमै बिच्छ्याउने काम भइरहेको छ ।’
एक सय दुई मेगावाट विद्युत् उत्पादन लक्ष्य राखिएको आयोजनाले खन्दै गरेको परीक्षण सुरुङ दुई सय ५० मिटर लामो हुनेछ । ४८ मिटरमात्रै खन्दा निस्केको ढुंगामाटो निस्किसकेकाले अब बाँकी करिब दुई सय मिटर खन्दा बाटोमा बिच्छ्याउने र राख्नै नसक्ने अवस्था आउने ठेकेदार कम्पनी हिमाल हाइड्रो एन्ड जेनेरल कन्स्ट्रक्सन प्रालिले जनाएको छ । ‘सुरुङबाट निस्केको ढुंगामाटो अहिले नै कच्ची बाटोमा बढी भइसकेको छ, सुरुङ पूरा हुँदासम्म व्यवस्थापन गर्नै नसक्ने अवस्था आउँछ,’ हिमाल हाइड्रोका ठेकेदार कान्छाबहादुर जिरेलले भने, ‘स्थानीयले पहिरोको खतरा भनेर गुनासो गरेका छन्, परियोजनाले ठाउँ नै छुट्याएको छैन ।’
आयोजनाको प्रस्तावनाअनुसार सिन्धुपाल्चोकको चाकु खोला र भोटेकोसी दोभानमा बाँध बाँधेर भोटेकोसीलाई सात दशमलव दुई किलोमिटर लामो सुरुङबाट गाती गाउँको जम्बुमा विद्युत्गृह पुर्‍याइनेछ । परीक्षण सुरुङको बाँकी काम तीन महिनाभित्रै सकेर आयोजनाको पूरै काम सन् २०१६ को अन्त्यसम्म सिध्याउने बताइएको छ ।
करिब १४ अर्ब रुपियाँ लागत रहेको आयोजनामा संस्थापकतर्फ चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३८ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १०, नेपाल अरनिको हाइड्रो पावर कम्पनी लिमिटेड, सिन्धु इन्भेस्टमेन्ट प्रालि र सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको एक/एक गरी ५१ प्रतिशत लगानी रहनेछ । त्यस्तै, सर्वसाधारणतर्फ सञ्चय कोषको १९.५, सर्वसाधारणको १५, स्थानीय जनता १० र प्रवद्र्धक तथा आयोजनामा ऋण लगानी गर्ने कम्पनीका कर्मचारीको ४.५ गरी ४९ प्रतिशत लगानी रहनेछ ।

प्रतिक्रिया