रिचार्जमा एनसेलको ठगी

काठमाडौं, ५ असार । निजी दूरसञ्चार कम्पनी एनसेलको प्रिपेड रिचार्ज कार्डमा समस्या देखिएको छ । नयाँ कार्ड किनेर रिचार्ज गर्दा ‘प्रयोग भइसकेको’ सन्देश आउने गरेको उपभोक्ताले बताएका छन् । त्यस्तै कतिपयमा १६ अंकको पिन नम्बर नै नहुने गरेको पाइएको छ । उपत्यका बाहिरसमेत यस्तो समस्या देखिएको सूचना प्राप्त भएको छ । विशेषगरी एक सय रुपियाँको कार्डमा बढी समस्या देखिएको छ ।
एनसेल कार्डमा समस्या आएको ‘कम्प्लेन’ ग्राहकबाट आएको बिक्रेताले बताएका छन् । ‘रिचार्ज नहुने समस्या धेरै देखिन थालेको छ,’ वागबजारका एक बिक्रेताले भने । ग्राहकको गुनासो बढेपछि यसबारे डिलरलाई जानकारी गराएको उनले बताए ।
नयाँ कार्ड किनेर रिचार्ज गर्दा प्रयोग भइसकेको म्यासेज आएपछि ‘कस्टोमर केयर’मा सम्पर्क गर्दा प्रयोग भइसकेको जानकारी दिने गरेको उपभोक्ताले बताएका छन् । यससम्बन्धमा एनसेलसँग जिज्ञासा राख्दा ‘प्राविधिक त्रुटि’ भएको र यस्तो कार्ड फिर्ता लिइने बताएको छ । उपभोक्ताबाट आउने जुनसुकै ‘कम्प्लेन’ को तत्काल समाधान गर्ने दाबी पनि कम्पनीले गरेको छ ।
यसबाहेक कतिपय उपभोक्ता अहिले पनि तोकिएको मूल्यभन्दा बढी तिरेर एनसेलको रिचार्ज कार्ड किन्न बाध्य छन् । बिक्रेताले ५० को लाई ५५, एक सयको लाई एक सय पाँच र पाँच सयको लाई पाँच सय पाँच रुपियाँ लिने क्रम अहिले पनि रोकिएको छैन । त्यस्तै एक सय रुपियाँको रिचार्ड कार्डमा कम्तीमा ९८ रुपियाँ हुनुपर्नेमा कतिपयमा त्योभन्दा कम हुने गरेको छ । ‘तोकिएभन्दा बढी तिर्नु परिरहेको छ । त्यसमा पनि कहिलेकाहीँ पैसा कम हुन्छ,’ एक एनसेल प्रयोगकर्ताले भने ।
यसलाई रोक्न प्रभावकारी कदम चालिएको कम्पनीले दाबी गरे पनि बढी पैसा लिने क्रम पूर्ण रूपमा रोकिएको छैन । रिचार्ज कार्डमा लेखिएभन्दा बढी मूल्य लिने दुई सय बिक्रेतालाई कारबाही गरेको उसले बताएको थियो तर अहिले पनि बिक्रेताले तोकिएभन्दा बढी पैसा लिइरहेको उपभोक्ताको गुनासो छ ।
रिचार्ज कार्डबाट पाउनुपर्ने कमिसन नपाएको गुनासो बिक्रेताले अहिले पनि गरिरहेका छन् । कमिसन कम पाएपछि बिक्रेताले कार्ड बिक्री ठप्प पार्ने भन्दै ‘एनसेल खुद्रा रिचार्ज कार्ड व्यवसायी संघर्ष समिति’ नै गठन गरेका थिए । रिचार्ज कार्ड बिक्री गर्दा पाउने कमिसनमा एनसेलले मनोमानी गरेको आरोप बिक्रेताको छ । रिचार्ज कार्डमा खरिद मूल्य र बिक्री मूल्यबीचमा निश्चित मूल्य निर्धारण गर्नुपर्ने माग उनीहरूले गर्दै आएका छन् ।
एनसेलका देशभर करिब एक सय डिलर र पाँचहजार खुद्रा नेटवर्क भएको बताइएको छ । उपभोक्ताले बढी तिर्नुपर्ने समस्यालाई अन्त्य गर्न इलेक्ट्रोनिक रिचार्ज सुरु गर्ने बताएको भए पनि अहिलेसम्म त्यो सुरु भएको छैन ।

बिलिङ सिस्टममा पनि समस्या
काठमाडौं : एनसेलले प्रदान गरिरहेका विभिन्न सेवाको बिलिङ सिस्टममा पनि समस्या छ । प्रयोगै नगरी राख्दा पनि ब्यालेन्स सकिएको प्रयोगकर्ताको गुनासो छ । एनसेलले उपभोक्तालाई पठाउने प्रत्येक म्यासेजसँगै पिआरबिटीको विज्ञापन पनि पठाउँछ । कतिले नबुझी ओके बटन थिच्दा पिआरबिटी स्वत: ‘रिन्यु’ हुन्छ र पैसा काटिन्छ । सबै सूचना अंग्रेजीमा हुने भएकाले अंग्रेजी नजान्ने उपभोक्ता ठगिइरहेका छन् ।
बिलिङ सिस्टममा गुनासो आएपछि दूरसञ्चार प्राधिकरणले गत कात्तिकमा एनसेललगायत अन्य सबै सेवाप्रदायकको बिलिङ सिस्टम परीक्षण गरेको थियो । एनसेलले उपभोक्तासँग बढी चार्ज लिएको धेरै गुनासो आएपछि प्राधिकरणले एक टोली एनसेलमा परीक्षणका लागि पठाएको थियो । ‘कतिपय कम्पनीको ‘ट्यारिफ’ उपभोक्तालाई भ्रममा पार्ने खालको छ । औपचारिक र अनौपचारिक रूपमा थुपै्र ‘कम्प्लेन’ प्राधिकरणमा आएका छन्,’ प्राधिकरणका एक अधिकारीले भने ।
सूचनाको हकका पक्षमा काम गर्दै आएको संस्था फ्रिडम फोरमले समेत गत कात्तिकमा दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकको बिलिङ सिस्टमबारे विस्तृत विवरण माग गर्दै प्राधिकरणमा उजुरी दिएको थियो । उपभोक्ता जागरण कमजोर भएका कारण कम्पनीहरूले बढी शुल्क लिएको उजुरीमा उल्लेख छ । यसमा एनटिसी पनि कमको छैन ।
उपभोक्ता अधिकारवादीले अहिलेको बिलिङ सिस्टम अवैज्ञानिक भएको दाबी गर्दर्ै आएका छन् । ‘दूरसञ्चार कम्पनीहरूले उपभोक्तालाई भ्रममा पारिरहेका छन् । नियामक निकायले बिलिङ सिस्टम पारदर्शी बनाउन अग्रसरता लिुनपर्छ,’ उपभोक्ता अधिकारसम्बन्धी एक कार्यक्रमा गत साता आयोजित कार्यक्रमा अधिकारकर्मी ज्योति बानियाँले भने । मुलुकका आधाभन्दा बढी जनसंख्यामा दूरसञ्चार सेवा पुगिसकेको भए पनि सरकार उपभोक्ता अधिकारप्रति उदासीन रहेको उनको अरोप थियो । ‘सेवाप्रदायकले प्रदान गर्ने सेवाको मूल्यबारे पर्याप्त जानकारी नहुँदा उपभोक्ता ठगिइरहेका छन् । सरकारले उपभोक्ता अधिकार सुनिश्चित गर्न कडा नियम ल्याउनु पर्छ,’ उनले भने ।

प्रतिक्रिया