जारीको रकम जुटाउन लुटपाट

हेटौंडा, ५ असार । अरूकी पत्नी भगाउँदा तिर्नुपर्ने ५० हजार रुपियाँ जारीका लागि छिमेकीको घर लुटेको घटना सार्वजनिक भएको छ ।

गरगहना र नगद लुटपाटको आरोपमा प्रहरीले हेटौंडा–९ मयुरधापका दीपक मोक्तानकी पत्नी, साली र तीन युवालाई नियन्त्रणमा लिए पनि उनी फरार भएका छन् । मोक्तानकै नेतृत्वमा स्थानीय कृष्ण गौतमको घरमा लुटपाट भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
हेटौंडा–९ मयुरधापमा गए राति बन्दुकसहित आएका चार जनाको समूहले गौतमको घरबाट दस तोला सुन, दुई लाख रुपियाँ नगद र पाँचवटा मोबाइल चोरेको घटनामा मोक्तान परिवारलाई पक्रेको हो । बन्दुक देखाउँदै करिब आठ लाख रुपियाँ बराबरको चोरी भएको प्रहरीले पनि पुष्टि गरेको छ ।
अनुहारमा कालो पट्टी बाँधेर आएका समूहले हल्ला गरेमा ज्यान मार्ने धम्की दिँदै लुटपाट गरेको पीडित गौतमले बताए । उनले १० असारमा हुन लागेको छोरीको विवाहका लागि सुनको जोहो गरेका थिए भने नगद पनि जम्मा पारेका थिए । छोरीको बिहेको मुखैमा नगद र सुन लुटिएपछि गौतम परिवार प्रहरीमा पुगेको हो ।
‘गौतम परिवारले दिएको हुलियाका आधारमा मोक्तानका परिवारलाई पक्राउ गरिएको हो,’ इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर लोकबहादुर बुढाथोकीले भने, ‘कालो पट्टी बाँधेर आए पनि उनीहरूले लगाएको कपडाको हुलियाका आधारमा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।’ मोक्तानले लुटपाटमा प्रयोग गरेको कपडा प्रहरीले घरबाटै बरामद गरको छ ।
‘उनीहरूका विषयमा अनुसन्धान भइरहेको छ,’ मकवानपुरका एसपी पूर्णचन्द्र जोशीले भने, ‘हतियार देखाएर गरिएको लुटपाटमा परिवारका सदस्यको संलग्नता हुन पनि सक्छ । उनीहरूले मोक्तानलाई केही दिनका लागि भगाएका पनि हुन सक्छन् ।’
मोक्तानले केही समयअघि मात्र बिहे गरेका थिए । अरूकी पत्नी भगाएपछि भएको सहमतिमा उनले ५० हजार रुपियाँ जारी तिर्ने सहमति भएको थियो । जारी तिर्नुपर्ने भएपछि मोक्तान गाउँमा पैसाको जोहो गर्न भौँतारिएका थिए । जारी तिर्ने रकमको खोजीमा रहेका मोक्तानले छोरीको बिहेका लागि जुटाएको रकम लुटेको हुन सक्ने प्रहरीको दाबी छ ।

प्रतिक्रिया