सिडिओद्वारा घुस प्रकरण ढाकछोप प्रयास

वीरगन्ज, ४ असार । पर्साका सिडिओ शम्भु कोइरालाले व्यापारीसँग रकम असुलेको घटनालाई लकाउने प्रयास गरेका छन् । उनले शनिबार प्रेस विज्ञप्ती निकालेर आफूले कोही व्यापारीलाई नभेटेको दाबी गरेका छन् भने भेट गरेका व्यापारीलाई पनि विज्ञप्ती निकाल्न लगाएका छन् ।

आदर्शनगरका व्यापारी मुरारी बजाजलाई धम्क्याएर रकम असुली गरेको घटना प्रकाशमा आएपछि सिडिओ शम्भु कोइरालाले जिल्ला प्रशासन कार्यालयको लेटरप्याडमा जारी गरेको विज्ञप्तीमा व्यापारीद्वय मुरारी बजाज र रमेश चौधरीसँग बिहीबार क्वार्टरमा भेटघाट नगरेको जिकिर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कार्यालय र निवास एकै स्थानमा भएकाले गाडी मोड्न वा ब्याक गर्न कार्यालय परिसरमा कोही सेवाग्राही आएको हुन सक्छ, कोको आए–गए मलाई जानकारी हुने कुरा भएन ।’
सिडिओ कोइरालाले विज्ञप्तीमार्फत यस्तो दाबी गरे पनि सिडिओ क्वार्टरको सुरक्षाका लागि तीन सुरक्षाकर्मीको टोली क्वार्टरको मूल गेटमा २४सै घन्टा खटिने गरेका छन् । कुनै पनि बाह्य व्यक्ति भित्र प्रवेश गर्नुअघि सुरक्षाकर्मीले सिडिओको निर्देशनपछि मात्र क्वार्टर परिसरमा प्रवेश गर्न स्वीकृति दिने गरेका छन् ।
सिडिओ कोइरालाले व्यापारीद्वयसँग भेटघाट नभएको दाबी गरे पनि बिहीबार रिपोर्टिङका लागि गएका टेलिभिजन पत्रकारले क्यामेरामा मुरारी बजाज सिडिओ क्वार्टरबाट ना १ च ८३५४ नम्बरको मारुती कार चढेर बाहिरिएको दृश्य कैद गरेर राखेका छन् ।
सिडिओ कोइरालाले व्यवसायीद्वय बजाज र चौधरीलाई पनि दबाब दिएर विज्ञप्ती जारी गर्न लगाएका छन् । दुवैको संयुक्त हस्ताक्षर भएको विज्ञप्तीमा ‘जिल्ला प्रशासन कार्यालय पर्साले समसामयिक विषयमा केही जानकारी लिन बोलाएकाले कार्यालय परिसर पुग्दा परिसरमा नै व्यवसायी रमेश चौधरीसित भेट भएको र सिडिओ कोइराला कार्यालयमा नभएको जानकारी प्राप्त भएपछि एउटै गाडीमा फर्किएका थियौँ’ उल्लेख छ ।
तर, बिहीबार सिडिओ क्वार्टरबाट बाहिरिए लगत्तै बजाज र चौधरीले सञ्चारकर्मीसँगको कुराकानीमा पासपोर्टका विषयमा सिडिओसँग भेटघाट गरेर फर्किएको प्रतिक्रिया दिएका थिए ।
अश्लील चलचित्र र नक्कली सिडीको कारोबारमा संलग्न आरोपमा बयान लिने बहानामा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा ललित झा र चालक तुलसी भण्डारीले व्यापारी बजाजलाई रुँगटा मार्केटस्थित मुरारी स्टोरबाट लिएर ना २ च ७६७१ नम्बरको गाडीमा राखेर प्रजिअ क्वार्टरमा पुर्‍याएका थिए ।
घुस नदिए आफूलाई थुन्ने धम्की दिएपछि हारगुहार गर्दै लुलो खुट्टामा जोडिएको रड देखाएर दया गर्न आग्रह गर्दासमेत सिडिओ कोइरालाले चार लाख रुपियाँ असुलेर मुक्त गरेका थिए ।

प्रतिक्रिया