एमाओवादी फुट्ने पक्का

काठमाडौं, ४ असार । प्रमुख सत्ताधारी दल एकीकृत माओवादी फुट्ने पक्का भएको छ । नयाँ पार्टी गठनको अन्तिम तयारीमा रहेको वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले पार्टीको नामसमेत जुराएको छ– नेपाल कम्युनिस्ट पार्टी माओवादी क्रान्तिकारी  ।

शनिबार सुरु भएको वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेतृत्वले आइतबार नयाँ पार्टीको नाम प्रस्ताव गरेको हो । स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान प्रतिवेदनमा नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी क्रान्तिकारी’ प्रस्ताव गरिएको छ । गुरुङको प्रस्तावलाई भेलाले सोमबार अनुमोदन गर्नेछ । भेलाको सुझावअनुसार नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी’ तय हुन सक्ने सम्भावना पनि छ ।
भेलाको बन्दसत्रमा उपाध्यक्ष वैद्यले राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टी संस्थापन पक्षले जनयुद्धको विसर्जन गरेको बताउँदै नयाँ पार्टी र नयाँ नेतृत्वको आवश्यकता रहेको बताए । उनले आगामी फागुनमा पार्टीको महाधिवेशन गर्न पनि प्रस्ताव गरेका छन् ।
वैद्यपक्षीय एक पोलिटब्युरो सदस्यका अनुसार नयाँ पार्टीको केन्द्रीय समिति ७५ सदस्यीय बनाउने तयारी गरिएको छ । पोलिटब्युरोमा २५ र स्थायी समितिमा आठजना राख्ने तयारी वैद्य पक्षको छ । अहिलेको केन्द्रीय समितिका करिब ४५ सदस्य वैद्य पक्षका छन् । पार्टीलाई बहुपदीय प्रणालीमा चलाउने सहमति पनि नेतृत्वबीच भइसकेको छ ।
नयाँ पार्टीको अध्यक्षमा वैद्य, वरिष्ठ उपाध्यक्षमा अहिलेका महासचिव रामबहादुर थापा रहने लगभग पक्का भइसकेको छ । महासचिवमा अहिलेका सचिव सिपी गजुरेल र स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले दाबी गरिरहेका छन् । त्यस्तै, सचिवमा स्थायी समिति सदस्य देव गुरुङ र पोलिटब्युरो सदस्यहरू पम्फा भुसाल र खड्कबहादुर विश्वकर्माले दाबी गरिरहेका छन् ।
स्रोतका अनुसार गजुरेललाई महासचिव, गुरुङलाई सचिव र चन्दलाई कोषाध्यक्ष बनाएर पद बाँडफाँड गर्ने कसरत पनि नेतृत्वबीच भइरहेको छ । पदाधिकारी चयनमा विवाद देखिए अहिले वैद्यको संयोजकत्वमा महाधिवेशन आयोजक समिति मात्रै बनाएर अगाडि बढ्ने योजना यो समूहको छ ।
अध्यक्ष दाहालसहितको संस्थापन पक्ष दक्षिणपन्थी भासमा डुबेको आरोप लगाउँदै वैद्य पक्षले ‘क्रान्तिको रक्षा गर्न’ शनिबारदेखि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो । सोमबारसम्म चल्ने भेलाले नयाँ पार्टी गठनको घोषणा गर्नेछ । ‘भोलि(आइतबार) भेलाले नयाँ पार्टी गठनको निर्णय गर्छ र पर्सि ५ गते तपार्इंहरूलाई बोलाएर पत्रकार सम्मेलनमार्फत घोषणा गर्ने अहिलेसम्मको कार्यक्रम छ,’ वैद्यपक्षीय केन्द्रीय सदस्य महेन्द्र पासवानले सौर्यसँग भने ।
उपाध्यक्ष वैद्यको प्रतिवेदनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल दसवर्षे ‘जनयुद्ध’ को विसर्जन गर्दै संशोधनवादी भासमा फसेको आरोप लगाइएको छ । नेतृत्वलाई पटक–पटक रूपान्तरणको प्रयास गर्दा पनि नसुध्रिएकाले सम्बन्धविच्छेद गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ । वैद्यको प्रस्तावमा क्रान्तिकारी कार्यदिशासहित नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरिएको छ ।
वैद्यको प्रतिवेदनमा नयाँ पार्टी गठन इतिहासको आवश्यकता भइसकेको उल्लेख गरिएको छ । ‘उहाँ(वैद्य)को प्रतिवेदनमा खास गरेर प्रचण्ड र बाबुरामहरू विचार र सिद्धान्तमा विचलन आएर नवसंशोधनवादतर्फ उन्मुख भएको, नेपालमा कम्युनिस्ट पार्टीहरू नै बाँकी नरहेकाले नयाँ ढंगले जनतालाई नयाँ नेतृत्वसहितको क्रान्तिकारी पार्टी बनाएर अगाडि बढ्नुपर्ने कुरा छ,’ केन्द्रीय सदस्य पासवानले भने ।
परिवारवादमा लिप्त भएका अध्यक्ष दाहालले पार्टीलाई विसर्जनमा पुर्‍याएको, जनमुक्ति सेनालाई नेपाली सेनाका अगाडि आत्मसमर्पण गराइएको, पुरानो सत्ताका अगाडि लम्पसार परेर लडाकुका हतियार बुझाइएका, क्रान्तिकारी भूमिसुधार लागू गर्नुको सट्टा कब्जा गरिएका जग्गासमेत फिर्ता गरेकोलगायत आरोप वैद्यको प्रतिवेदनमा लगाइएका छन् । चुनवाङ बैठकदेखि माओवादी शान्तिप्रक्रियामा आएसम्मका विषयको प्रतिवेदनमा समीक्षा गरिएको छ ।
वैद्यपक्षीय पोलिटब्युरो सदस्य खड्कबहादुर विश्वकर्माका अनुसार पार्टी एकताका लागि संस्थापन पक्षसित संवाद जारी रहे पनि अध्यक्ष रूपान्तरित हुन नचाहेसम्म एकताको सम्भावना छैन । अहिलेको माओवादी एमालेजस्तै भइसकेकाले त्यसमै बस्नुको कुनै अर्थ नरहेको उनले बताए । ‘नेपाली धर्तीमा अर्को एमाले पार्टी चलाएर जनतामा बोझ थप्नुको कुनै अर्थ छैन,’ उनले भने ।
उपाध्यक्ष वैद्य र स्थायी समिति सदस्य गुरुङले पेस गरेको प्रतिवेदनमाथि आइतबार भेलाका सहभागीको २० वटा समूह बनाएर छलफल गरेका छन् । समूहगत छलफलपछि सोमबार समूह नेताहरूले प्रतिवेदनमाथि टिप्पणी र सुझाव दिनेछन् । छलफलबाट आएका सुझावका आधारमा नयाँ पार्टी गठनको घोषणा गर्दै भेलाको समापन गर्ने तयारी वैद्य पक्षले गरेको छ ।
यसैबीच, संस्थापन पक्षको आइतबार बसेको स्थायी समिति बैठकले वैद्य पक्षलाई पार्टी एकताका लागि फेरि आह्वान गरेको छ । एकताको विकल्प नभएको निष्कर्ष बैठकले निकालेको छ ।
‘फुटबाट कहीँ पनि क्रान्ति सफल भएको छैन, त्यसैले उहाँ(वैद्य)हरूलाई एकताका लागि आउन आग्रह गरेका छौँ,’ बैठकपछि माओवादी प्रवक्ता दीनानाथ शर्माले भने । बैठकले कांग्रेस–एमालेलगायत दललाई पनि राष्ट्रिय सहमतिका लागि आह्वान गरेको छ । त्यस्तै, आगामी असार १५ देखि १७ गतेसम्म हुने विस्तारित बैठक भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया