बैद्य समूहद्वारा पार्टीको नयाँ नाम प्रस्ताव

 

काठमाडौं, ३ असार । एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले नयाँ पार्टीको नाम नेकपा (क्रान्तिकारी) माओवादी प्रस्ताव गरेको छ ।
शनिबारदेखि काठमाडौंमा जारी राष्ट्रिय भेलामा पेस गरिएको राजनीतिक प्रस्तावमा सो नाम राखिएको स्रोतले जनाएको छ । प्रस्तावमा फागुनको एक गते महाधिवेश गर्ने समेत उल्लेख छ ।
अध्यक्ष पुष्पकमल दाहाल संशोधनवादी भाषमा फसेपछि सम्बन्धविच्छेद गर्नुपरेको प्रस्तावमा उल्लेख छ ।
बैद्य समूहले आफ्नो प्रस्तावमा पार्टीको नयाँ नाम प्रस्ताव गरेपछि एमाओवादी औपचारीक रुपमा फुट्ने निश्चित सरह भएको छ । पछिल्लो केही महिना यता अलग, अलग रुपमा कार्यक्रम गर्दै आएका संस्थापन र बैद्य समूहवीच एकताका लागि पहल भएपनि त्यो संभव हुन सकेको थिएन ।
यसैबीच, एमाओवादीको संस्थापन पक्षले बैद्य समूहलाई पार्टी एकताका लागि आह्वान गरेको छ । अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा आज बसेको स्थायी समिति बैठकले बैद्य समूहलाई भेलाबाट एकताको प्रस्ताव पारित गरेर आउन आग्रह गर्ने निर्णयको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
बैठकले पार्टी एकताका लागि विकल्प नभएको निष्कर्ष पनि निकालेको छ । असार–१५ देखि १७ गतेसम्म हुने राष्ट्रिय कार्यकर्ता भेलाका लागि तयारी गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया