“धार्मिक पुस्तकले साहित्यतिर डोहोर्‍यायो’

भाइबहिनीहरू, म हरेक कुरालाई सजिलो गरी लिन्छु । मैले ३३ वर्षको कलकलाउँदो उमेरमा अभिव्यक्ति साहित्यिक पत्रिकाको प्रकाशनको सुरु गरेको हुँ । अब म ७५ वर्ष पुग्दै छु । यात्रा जारी नै छ । म अहिले पनि उत्तिकै जुझारु र सिर्जनात्मक छु जस्तो लाग्छ । राणाहरूको निरंकुश शासनकाल विसं १९९४ मा मेरो जन्म भएको हो । लेखन, प्रकाशनको रुचि कहाँबाट पलायो मलाई पनि हेक्का छैन । मेरो साहित्यको यात्रा ‘ख्यालख्यालमै सुरु भयो’ भन्दा हुन्छ ।
मेरा काका हृदयराज शर्मा, भरतराज मन्थलीयहरू साहित्य लेख्नुहुन्थ्यो । उहाँहरूका दुई–चार पुस्तक निस्किएको मैले देखेको थिएँ । मेरो जन्मभूमि रामेछापको मन्थली हो । त्यहाँबाट मेरो परिवारको बसाइ काठमाडौंको मैतीदेवीमा सर्‍यो । संयोगले हामी बस्ने घर महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरनजिकै थियो । मेरा कवि काकाहरूसँग गफगाफ गर्न महाकविको आउजाउ हाम्रो घरमा भइरहन्थ्यो । त्यही बेला म उहाँहरूले गरेको साहित्यसम्बन्धी गफगाफ सुन्ने गर्थें । मलाई उहाँहरूका कुराकानी मीठा लाग्थे । पछि म पनि कोरकार गर्न थालेँछु ।
कहिलेकाहीँ गाउँ जाँदा पनि आमाबाबुले भानुभक्तीय रामायण, श्रीस्वस्थानी व्रतकथा पढ्न लगाउनुहुन्थ्यो । धार्मिक कथा, पुस्तक पढ्दा पढ्दै म त साहित्यसँग बढी नै नजिक भएँछु । मेरा बाबुबाजेको गाउँको बसाइ राम्रै थियो । मैले ब्राह्मण परम्पराअनुसार ६ वर्षमै व्रतबन्ध गर्नुपर्‍यो । त्यसपछि मैले पढाइका लागि काठमाडौं आउनुपर्‍यो । मैले कखरा गाउँको पाठशालामा सिकेको थिएँ । प्रवेशिका पास भने मैले काठमाडौंकै पद्मोदय हाइस्कुलबाट गरेँ । त्यसपछिको शिक्षाका लागि म दाजु पढिरहनुभएको क्याम्पसमा पढ्न भारतको बनारस पुगेँ । त्यहीबाट आइए पास गरेँ । स्नातक पढ्नका लागि इलाहाबाद बोर्डमा भर्ना भएँ । तर, त्यो पढाइ पूरा नगर्दै मैले बीचैमा नेपाल फर्कनुपर्‍यो ।
नेपाल आउनेबित्तिकै सानोतिनो जागिर गर्न थालेँ । त्यतिबेला म २४ वर्षको भइसकेको थिएँ । त्यति नै बेला मेरो बिहा भयो । अनि त घरधन्दा र जागिरमै रमाइयो । बनारसको बसाइले भने मभित्र रहेको साहित्यिक मनलाई थप उब्जाउ बनाउने मौका मिल्यो । उदय साहित्यिक पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठसँग भेट भएपछि उहाँले मेरो लेखाइको प्रशंसा गर्नुभयो । काशीबहादुर श्रेष्ठले निकालेको उदय र बनारस छात्र संघले निकालेको छात्रवाणी दुर्गाप्रसादले सम्पादन गर्नुहुन्थ्यो । उहाँहरूसँग मेरो संगत हुँदै गयो । त्यहाँ आयोजना हुने कविता गोष्ठीमा कविता सुनाउँदा मैले धेरै पुरस्कार पनि पाउन थालेँ । मेरो पहिलो रचना पनि त्यहीँ प्रकाशित भयो ।
२०२७ सालमा मेरो ‘दसौँ’ कथा वासु शशिको ‘सञ्चय’ पत्रिकामा प्रकाशित भयो । रूपरेखा, मधुपर्क आएपछि त कति रचना छापिए, छापिए ? मैले गन्ती गरिनँ । मैले लेखेका उपन्यासका पाण्डुलिपि पनि तयार भइसकेका थिए । मेरो ‘महापुरुष’ उपन्यास रत्नपुस्तक भण्डारका रत्नप्रसाद श्रेष्ठले पहिलो कृतिका रूपमा छापिदिनुभयो । त्यो उपन्यास पञ्चायती व्यवस्थालाई थोरै व्यंग्य गर्नेखालको थियो । जाँचकीले थोरै सच्याएर त्यो २०२८ सालमा छापिएको हो । त्यसपछि २०२९ मा मेरो ‘दिवास्वप्न’ उपन्यास पनि निस्कियो ।
२०२७ देखि नै मैले ‘अभिव्यक्ति’ पत्रिका निकाले साहित्यिक पत्रकारका रूपमा काम गर्न थालेको हुँ । जुन यात्रा आज पनि रोकिएको छैन । त्यसपछि मैले २०३९ सालमा पीपलको बोटमुनि र ०५५ मा ‘एकान्तका आफन्तहरू’ कथासंग्रह प्रकाशन गरेँ । । ‘अभिव्यक्ति’को जिम्मेवारीले मेरो सिर्जनात्मक यात्रालाई अलि अप्ठ्यारो पारेको महसुस गरेको छु । त्यसैले म साहित्यकार कम साहित्यिक पत्रकार बढी भएको छु ।
मेरो पत्रिका निकाल्नुको कथा अलि रमाइलो छ । २०२७ सालतिर रोचक घिमिरे, भैरव अर्याल र मेरो भाइ जगदीश घिमिरे साथीजस्तै थिए । राजाले सारा पत्रपत्रिका बन्द गरिदिएका थिए । रूपरेखा र रचना कहिलेकाहीँ निस्कन्थे । साथीहरूले मलाई एउटा पत्रिका दर्ता गर्ने सल्लाह दिए । सरदार विष्णुमणि आचार्यका छोरा धनमणि मेरा साथी थिए । उनैले मलाई आºना बुबासँग भेटाइदिए । त्यतिबेला पत्रिका दर्ता गर्न सजिलो काम थिएन । मैले सजिलै ‘अभिव्यक्ति’ निकाल्ने अनुमति पाएँ ।
पत्रिकाको बजार बनाउन मैले केसम्म गरिनँ र ? नयाँसडकदेखि मेची–कालीसम्म झोलामा ‘अभिव्यक्ति’ बोकेर हिँड्नु पर्‍यो । यही पत्रिकाले मेरो लेखकीयभन्दा सम्पादकीय चिनारी बढी परिचित छ ।
यो कर्मयात्रामा मेरा दुई छोरा, श्रीमती, बुहारी र नातिनातिनीसमेत स्वेच्छाले साथी बनेका छन् । उनीहरू इच्छाले चाहे सहयोग गर्छन्, कहिलेकाहीँ इमेल आदि झिकिमाग्छु । अरूले गरेको सहयोग बिर्सनु हुन्न । मैले सुरु गरेको पत्रिकाले प्रसिद्धि पाउनुमा केदारमान व्यथितको योगदान पनि कम छैन । व्यथितले मलाई झापामा भएको साहित्कि कार्यक्रममा सहभागी हुन बोलाए । त्यहीँ मैले एक भारी ‘अभिव्यक्ति’ पत्रिका बाँडँे । त्यहीँबाट देशभरका साहित्यकारहरूको प्यारो पत्रिका बन्यो ‘अभिव्यक्ति’ ।
मैले त्रिभुवन विश्वविद्यालयको सेडा नामक संस्थामा सानो जागिर, सानो घर र सानो पत्रिका सँगसँगै चलाएँ । त्यति गर्दा पनि मलाई कहिल्यै असहज भएन । समय मिलाउन सक्नुपर्दो रहेछ । मैले २०२७ देखि २०४८ सम्म यी तीनवटै कामलाई तीनखुट्टे ओदानका रूपमा टेकेँ । आºनो इच्छाले गरेको कामले दु:ख पाइँदैन, बरु रमाइलो हुन्छ ।
मेरो कर्मको फल होला, आजसम्म मैल गद्दी आरोहण रजत महोत्सव पदक ०५३, मैनाली कथा पुरस्कार ०५५, भवानी साहित्य पत्रकारिता पुरस्कार, सुप्रबल गोरखा दक्षिणबाहु ०५५, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार ०५७, वीरेन्द्र–ऐश्वर्य सेवा पदक ०५८ लगायत दर्जनौँ पुरस्कार र सम्मान पाएको छु ।
व्यस्त र जिम्मेवारी निभाउँदा पनि परिवारमा कहिल्यै मनमुटाव र गुनासो हुन पाएन । म हरेक वर्ष दुईपटक घुम्न जान्छु । एकपटक साहित्यिक, बौद्धिक साथीसँग म भारतका विभिन्न ठाउँ घुम्छु । अर्कोपटक धर्मपत्नीलाई लिएर जान्छु । म मन्दिरहरूको दर्शन गर्न नगए पनि श्रीमतीले मन्दिर जान्छु भनेमा बाहिर जुत्ताचप्पल कुरेर बसिदिन्छु । मलाई कुनै पनि कुराको लत र रहर हुँदैन । मलाई कसैले छोड भन्यो भने भात खान नै छोडिदिन्छु । एकपटक मेरो तौल धेरै भयो भनेर एकजना साथीले भात नखानुस् भन्यो, मैले ६ महिना भात खाइनँ । दाल मात्रै खाँदा पनि मेरो तौल घटेन । भाइबहिनीहरू, सन्तुष्टि नै मान्छेको ठूलो सन्तोषको आधार हो ।
प्रस्तुति : शिवराज योगी

प्रतिक्रिया