राजमार्गका होटल सपना

आहा † दाउरी कति राम्री देखिएकी आज । ब्युटीपार्लर गएर आइस् कि क्या हो,’ रक्सीले मातिएर लठ्ठ अधबैँसे ग्राहक बोल्दा ‘दाउरी’ मुसुक्क मुस्कुराई । दारुको नशाले उत्तेजित र दाउरीको जवानीको मदहोसमा परेजस्तो त्यो ग्राहकले फिल्मी नायकको शैलीमा गुजुल्टे कपाल मिलायो दुवै हात कानमाथिबाट पछाडि मोडेर । रक्सीको नशाले मांशपेसी फतक्कै गलेको उसका आँखा रगत झर्लाझैं राता थिए । मदिराको कडा वास छिचोल्दै छेउमा आइपुगेकी दाउरी एकछिन मस्किई र गई । तर, ग्राहकको ध्यान आधा रक्सी र आधा दाउरीसँगै रुमल्लिएझैँ देखियो ।
‘दाउरी’को मुस्कान बनावटी थियो, न माया न त लज्जा । बरु प्रत्युत्तरमा उसले भनी, ‘साँच्ची † पार्लर नै गएर आ’को काका ।’ काकाको साइनोका सीमा के हुन् र त्यसको पवित्रताको ख्याल सायद दाउरीले पनि गरेकी छैन । फगत भन्नका लागि भनिदिएकी हो । सम्मानविनाको काका साइनो जोडेर १५ वर्षीय युवती लज्जाको नखरा छोडेर अलप भई । नाम यस्तै हुन्छन्, रक्सीका ग्राहकले आफूलाई सजिलो हुनेगरी राखिदिएका ‘दाउरी’, ‘कान्छी,’ ‘मैया’ । तर, पुकारिने ती नाम, बोली, सम्बोधन र शब्दमा न कुनै ओज न कुनै गरिमा, एकैछिनको वासनात्मक राग मात्रै । यस्ता धेरै उपमा जोडिएका युवती महेन्द्र राजमार्ग छेउका होटलमा जीवनको पांग्रा गुडाउन ग्राहकसाग नखरा मिसिएको बनावटी मुस्कान छर्न बाध्य छन् । बिहानैदेखि सिंगारपटार साथ चिटिक्क बन्नुपर्छ । भातखाजाको बाहनामा होटल छिरेका ड्राइभर, खलासी र यात्रु रक्सीले मातेर बातैपिच्छे मादक बन्छन् । दिमागमा आत्मसम्मान नभएर गुजाराले घर गरेको छ । सायद त्यसैले ती युवतीहरू ग्राहकले अनुचित यौन आकांक्षा प्रकट गर्दा पनि प्रतिवाद गर्दैनन् ।
दाउरी एकछिन ग्राहकसाग झुल्किएर अलप भई र दृश्यमा आइन्– ६० वर्षीय वसुमाया गुरुङ । दाउरीको जीवनयाचनाका कथा सायद वसुमायाले बुझेकी छिन्, कारण उनले यही राजमार्गमा १५ वर्षअघिदेखि होटेल चलाएकी छिन् । एउटा हीनभावले अहिले उनलाई छोएको छ, वसुमायालाई ‘उमेर गयो, बुढी आइमाईको होटलमा को आउाछ, सबै तरुनी भएतिर जान्छन् ।’ यसो भन्दा वसुमायालाई कुनै लज्जाबोध हुादैन । न त आफ्नो होटलमा पााच वर्षयता सुस्ताएको व्यापार जवानी घर्किएसागै खस्किएको हो भन्न कुनै अप्ठ्यारो ।
तीन तरुनी छोरी थिए, मध्यरात पनि होटलको चटारोले भ्याइनभ्याई हुन्थ्यो । अहिले व्यापार सुस्ताएको छ । दुई लिटर दूधको चिया पनि बिक्दैन । दुई छोरीले श्रीमान् रोजेर गएपछि उनको व्यापार खस्कँदै गयो । माइली छोरी सामान किन्न नारायणघाट जाँदा उतै जीवनसाथी रोजेर भागी । अर्की घरैबाट केटो रोजेर गई । सँगै भएकी कान्छी एघार कक्षा पढ्दै छे । ऊ उतिसारो होटेलमा आउँदिन । कान्छी छोरी छ भन्ने थाह पाएर होटलमा छिर्ने ग्राहक नभएका होइनन् । तर, होटेलमा आएका ग्राहकलाई ऊ भनिदिन्छे ‘खाने भए बस, नभए आफ्नो बाटो लाग ।’ कान्छी छोरीको रुखो वचनले होटलमा युवती खोज्दै पस्ने बिच्किन्छन् । भोकै लागेर पसेकाले खाजा मागेर खान्छन् । युवतीको सेवा खोज्नेहरू आफ्नो बाटो लाग्छन् ।
जवानी गयो, अनुहारमा चाउरीका थुप्रा लागे । मनले रूपसी हुन चाहेर पनि आकर्षित गर्ने प्रयास व्यर्थ ठानेकी छन् वसुमायाले । त्यसैले बाख्रापालन उनको गुजाराको वैकल्पिक उपाय बनेको छ । १५ वर्ष होटलकी ‘साहुनी’ बनिन् उनी । सुडोल र कसिलो शरीर रहुन्जेल ग्राहक दृश्यपान गर्थे र उनको कमाइको ग्राफमाथि हुन्थ्यो । त्यसपछि दुई सन्तानले सघाए । आफ्नै भविष्यको खोजीमा दुई छोरीको बिहेपछि पनि नाममात्रको होटल उनको बाध्यता बनेको छ । त्यो बाध्यताभित्र थुप्रै कारण छन्, जसलाई खोतल्न उनको जीवनका अन्तरकुन्तर चहार्नुपर्छ । कसरी होटल साहुनीबाट बाख्रापलानसम्म आउनुपर्‍यो ? सम्झादा वसुमाया धेरै पीडा, केही उत्साह, केही चाहनाको पेटारो फुकाउँछिन्, जसले उस्तै लाग्ने राजमार्गछेउ बनाइएका छाप्रा होटलका अधिकांश युवती, साहुनीहरूको जीवनकहानी भन्छ ।
१५ वर्षमै बिहे भयो । जंगल जाने, गाईबाख्रा चराउन र खेती गर्न प्रशस्तै जग्गा थियो । तर, श्रीमान् र ससुराको मनमुटाव भयो । १६ वर्षअघि ससुराको ‘घर छोड्’ भन्ने आदेशले उनलाई भोर्ले गाउाबाट राजमार्गमा झारेको हो, दुई काखे छोरीसहित । वसुमाया जीवन धान्न रक्सी पार्न थालिन्, रक्सीसँग भएको थोरै यौवन साट्न थालिन् । त्यसको एक वर्षपछि उनले खोलेको होटल नै अहिले उनको सर्वस्व हो । ध्वाँसो पोतिएको चुल्हो, एउटा कुर्सी, दुईवटा बेन्च । उनले होटल खोलेपछि बनाएका भौतिक पूर्वाधार हुन् यी । त्यसैको आडमा कच्ची बार बनाएर सुत्न मिल्ने एउटा सानो कोठा । १५ वर्षदेखि उनको होटल यस्तै छ । श्रीमान् पनि होटलमा सघाउाथे । तर, सात वर्षअघि बिते ।
उमेरमा आम्दानी राम्रो थियो । तर, कमाइ बचेन । होटल चलाउँदाको कमाइ छोरीहरूले सिंगारपटार र लवाइखवाइमै सके । उनीहरूको बिहेसँगै कमाइ पनि ह्वात्तै घट्यो । अब एउटी छोरीलाई बाख्रा पालेरै भए पनि बाह्र कक्षा पढाउने उनको धोको छ । सायद, आफ्ना सन्तानले भविष्यमा छाप्रे होटलको सहरामा शरीरको आकर्षण बाजी राखेर कमाउन नपरोस् भन्ने उनी चाहन्छिन् । वसुमायाले आफ्नो विगत बताउँदै गर्दा अघिको ग्राहक रक्सीले थप मात्तियो । ‘रक्सी थप फुपू, दाउरी कता हराई ?’ रक्सी र जवानीको तिर्खा एकैपटक पोख्यो उसले ।

प्रतिक्रिया