बमजनको जन्मदर्ता बनाउने सचिव कारबाहीमा

वीरगन्ज, १ असार । बाराको हलखोरिया जंगलमा तपस्यामा बसेको भनिएका रामबहादुर बमजनलाई नाम, थर परिवर्तन गरी अर्को जन्मदर्ता दिने रतनपुरी गाविसका सचिवलाई कारबाही गर्न प्रशासनले निर्देशन दिएको छ ।

धर्मसंघ बमजनका नाममा जन्मदर्ताको प्रमाणपत्र दिने रतनपुरी गाविसका सचिव आसमहमद अन्सारीलाई स्थानीय विकास जन्मदर्ता ऐनबमोजिम कारबाही गर्न प्रशासनले जिल्ला विकास समितिलाई निर्देशन दिएको हो ।
गाविस सचिव अन्सारीले एउटै व्यक्तिलाई दुईपटक जन्मदर्ताको प्रमाणपत्र उपलब्ध गराएकाले कारबाहीका लागि निर्देशन दिइएको हो । प्रशासनले गरेको दुईदिने अनुसन्धानमा सचिव अन्सारी दोषी देखिएकाले कारबाहीका लागि जिल्ला विकास समितिलाई निर्देशन दिइएको सिडिओ वीरेन्द्रकुमार यादवले बताए । बुधबार साँझदेखि जिल्ला प्रशासन कार्यालयको नियन्त्रणमा रहेको सचिव अन्सारीलाई बिहीबार कारबाहीका लागि एलडिओ सरोज गुरागाईंको जिम्मा लगाइएको छ ।
बमजनको नाम, थर परिवर्तन गरेर धर्मसंघ बमजनका नाममा जन्मदर्ताको प्रमाणपत्र दिने अन्सारीलाई जिल्ला विकास समिति बाराले किर्ते गरेको अभियोगमा प्रहरीमा मुद्दा हाल्ने भएको छ । गाविस कार्यालयले उपलब्ध गराएको जन्मदर्ता प्रमाणपत्रका आधारमा धर्मसंघ बमजनका नाममा बमजनलाई नेपाली नागरिकताको प्रमाणपत्रसमेत उपलब्ध गराइनुपर्ने भन्दै उनका अनुयायीले राजमार्ग अवरुद्ध पार्न थालेपछि सचिव अन्सारीमाथि प्रशासनको निर्देशनमा जिविसले मुद्दा चलाउने तयारी गरेको हो ।
नामथर परिवर्तन गरेर दोहोरो जन्मदर्ताको प्रमाणपत्र उपलब्ध गराउने सचिव अन्सारीमाथि किर्ते गरेको अभियोगमा मुद्दा चलाउन एलडिओको जिम्मामा छाडिएको सिडिओ यादवले बताए ।
सचिव अन्सारीले बमजनलाई १३ वैशाखमा धर्मसंघ बमजनका नाममा जन्मदर्ताको प्रमाणपत्र उपलब्ध गराएका थिए । बमजनको यसअघि ८ वैशाख ०५२ मा रामलाल बमजनका नाममा गाविसमा जन्मदर्ता भइसकेको थियो ।
जिल्ला प्रशासन कार्यालयले बमजनलाई धार्मिक नाममा नागरिकता दिन इन्कार गरेपछि उनका अनुयायी एक सातादेखि आन्दोलनमा छन् । कार्यालयमा जन्मदर्ताका पुराना फाइल नष्ट भएको र स्थानीयको सर्जमिनका आधारमा धर्मसंघ बम्जनका नामबाट जन्मदर्ताका लागि कार्यालयमा निवेदन परेपछि बमजनलाई प्रमाणपत्र दिइएको गाविस सचिव अन्सारीले दाबी गरे । झुक्याएर लिएको हुँदा बमजनको पछिल्लो जन्मदर्ताको प्रमाणपत्र रद्द गरिने उनले बताए ।

प्रतिक्रिया