जेसिकाको अन्त्येष्टिमा चलचित्रकर्मी न्यून


काठमाडौं, ३२ जेठ । गत मंगलबार आत्महत्या गरेकी नायिका जेसिका खड्काको शव पोस्टमार्टमपछि बुधबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । जेसिकाका काका मोहन खड्काले बिहान ११ बजे उनको पार्थिव शरीरमा दागबत्ती दिए । सानैमा आमा गुमाएकी जेसिका बुबाले ‘अर्की’ ल्याएपछि काकासँगै हुर्किएकी थिइन् । उनको नागरिकतामा पिताको नाममा पनि उनै काकाको नाम छ ।
शव जलाउने क्रममा जेसिकाका भाइ भक्कानिएर दिदीको पाउ समाइरहेका देखिन्थे । तर, उपस्थित चलचित्रकर्मीलगायत अन्य समूह सबै आआफ्नै धुनमा मस्त थिए । एक त त्यहाँ पुग्नुपर्ने जति चलचित्रकर्मी पुगेका थिएनन्, गएका पनि औपचारिकताका लागि मात्र पुगेझैँ लाग्दै थिए । उनीहरूमा कुनै किसिमको पीडाबोध देखिँदैनथ्यो । नेपाल चलचित्र संघ, निर्देशक समाज, प्राविधिक संघ, निर्माता संघ र द्वन्द्व संघलगायत संघसंस्थाका प्रतिनिधिबाहेक स्वत:स्फूर्त रूपमा त्यहाँ पुग्ने कलाकर्मी देख्नै मुस्किल थियो । चलचित्रकर्मीको भन्दा बढी संख्या पत्रकारको थियो ।
जेसिकालाई आर्यघाटसम्मै बिदाइ गर्न आउने चलचित्रकर्मीमा अधिकांश पुरानो पुस्तका थिए, नयाँ पुस्ताका चलचित्रकर्मी औँलामा गन्न पुग्ने पनि देखिएनन् । अभिनेत्रीहरू भुवन चन्द, बसुन्धरा भुसाल, राधा  लम्साल, लक्ष्मी गिरी, मौसमी मल्ल, रूपा राणा, विमला केसीजस्ता अघिल्लो पुस्ताका केही कलाकार देखिन्थे भने पछिल्लो पुस्ताका कलाकारमा श्रीकृष्ण श्रेष्ठ, अरुणिमा लम्साल, ऋचा सिंह ठकुरीलगायत मात्रै देखिए । श्रीकृष्ण पनि शव जलेर सबै फर्किसकेपछि मात्रै पुगेका थिए ।
अभिनेत्री राधा लम्साल घटनाबारे धारणा राख्न उत्सुक देखिइरहँदा छोरी अरुणिमा उनलाई केही नबोल्न संकेत गरिरहेकी थिइन् । उनी आमालाई भनिरहेकी थिइन्, ‘भैगो केही नबोल्नुस, छाडिदिनुस् ।’ छोरीले रोक्दारोक्दै पनि राधाले समाजकै कारण नायिकाहरूले आत्महत्या गर्न विवश हुनुपरेको धारणा व्यक्त गरिन् । उनले सञ्चारकर्मीसमक्ष भनिन्, ‘जेसिकालाई आत्महत्या गर्न बाध्य बनाउने व्यक्तिलाई कारबाही नभए यस्ता घटना दोहोरिइरहनेछन् ।’ आमाले यति बोलिसकेपछि अरुणिमाले पनि घटनाप्रति दु:ख लागेको बताइन् ।
यसअघि जेसिकाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । नेपाल कलाकार संघको पहलमा बिहान आठ बजेदेखि श्रद्धाञ्जलीको व्यवस्था गरिएको थियो । श्रद्धाञ्जलीका लागि भनेर आएका केही विद्यार्थी जेसिकाको निधनभन्दा पनि त्यहाँ थोरै कलाकार आएकामा थकथकी मानिरहेका थिए । उनीहरूको स्वार्थ थियो, ‘आज सबै नायकनायिकाको अटोग्राफ लिउँला भनेको त कोही पनि पो आएनन् ।’
श्रद्धाञ्जलीका लागि आउने कलाकार पनि केही अघिल्लो पुस्ताका मात्रै थिए । नयाँ पुस्ताका नाम चलेकाहरू औँलामा गन्न पनि पुग्दैनथे । उपस्थित हुनेहरू यो घटनाबाट यस्तै अरू शृंखलाको थालनी हुनसक्ने अड्कलबाजी काटिरहेका थिए, आपसमा । शोकको माहोलमा पनि केही कलाकार अटोग्राफ बाँड्न व्यस्त देखिन्थे । कोहीचाहिँ यहाँ आइहालियो अब आर्यघाट के जानु भन्दै अल्छी मानिरहेका थिए ।
सोही क्रममा चलचित्र कलाकार संघका महासचिव नवल खड्काले भने ‘जेसिकालाई आत्महत्या गर्न बाध्य बनाउनेको खोजी गरी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’ उनले शुक्रबार दिउँसो ३ बजे संघको कार्यालय अनामनगरमा शोकसभा गरिने जानकारी गराए । चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले जेसिकाको आत्महत्या समग्र नेपाली चलचित्र उद्योगकै लागि पीडादायी भएको बताए ।

प्रतिक्रिया