पानी आउन छाडेपछि मकै भुटेर गुजारा

बाग्लुङ, ३० जेठ । बाग्लुङ बजारमा खानेपानीको हाहाकार भएपछि भान्सामा खाना पाक्न छाडेको छ । पानीको अभावपछि स्थानीयले मकै भुटेर छाक टार्न थालेका छन् ।

बजारमा दैनिक २३ लाख लिटर पानीको माग भए पनि आठ लाख ६४ हजार लिटर मात्र पानी आपूर्ति भएपछि उपभोक्ता मारमा परेका हुन् । ‘धारामा पानी नआउँदा काकाकुल भएका छौँ,’ बाग्लुङ–२ लालीगुराँस चोककी नलिना श्रेष्ठले भनिन्, ‘नुहाउने, कपडा धुने त कुरै छाडौँ, खाना पकाउन पानी नभएपछि एक सातादेखि मकै भुटेर छाक टार्न थालेका छौँ ।’ खानेपानीको अभावमा गैँडाकोट, अम्बोट, ददिबारीलगायत स्थानमा रहेका सार्वजनिक धाराबाट घन्टौँ समय खर्चेर पानी बोक्न बाध्य भएका छन् ।
खानेपानी अभावमा सबैभन्दा बढी विद्यार्थी र होटल व्यवसायी प्रभावित भएका छन् । ‘एक साता भयो, धारामा पानीको थोपासमेत चुहिएको छैन,’ होटल हिल भ्युका सञ्चालक ललिता थापाले भनिन्, ‘एक हजार ६ सय रुपियाँमा ट्यांकरको पानी किनेर काम चलाइरहेका छौँ ।’ धारामा पानी नै नआउने र आए पनि धमिलो आउने गरेको पाइएको छ ।
‘सुख्खा मौसम सुरु भएसँगै मुहानमा पानीको मात्रा घटेपछि बजारमा दैनिक १५ लाख लिटर खानेपानीको अभाव भएको छ, बाग्लुङ नगरखानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले भने, ‘माग र आपूर्तिबीचको असन्तुलनका कारण पानीको समस्या बढेको छ ।’
१२ हजार उपभोक्तालाई लक्षित आयोजनाबाट ५० हजार उपभोक्तालाई पुर्‍याउनुपर्ने बाध्यताले गर्दा समस्या आएको शर्माले बताए । पानी वितरण प्रणालीलाई केही सुधार गरे पनि पानीको आपूर्तिमा समस्या भएको संस्थाले जनाएको छ । खानेपानी योजनाको पुरानो संरचना र सुख्खा यामका कारण मुहान सुक्न थालेपछि समस्या चर्किएको बताइएको छ ।
बजारक्षेत्रमा वितरित खानेपानीको मुहान रहेको रेश खोलाबाट प्रतिसेकेन्ड १० लिटर पानी आपूर्ति भइरहेको छ भने रिठ्ठे खोलाको मुहानबाट प्रतिसेकेन्ड ० दशमलव ५ लिटर पानी आउने गरेको छ । ‘अति सुख्खा मौसम भएका कारण मुहानहरूमा पानीको मात्रा कम भएको हो । मौसम यथावत् रहिरहे समस्या अझै जटिल बन्ने संस्थाले जनाएको छ ।
खानेपानी वितरणका लागि दस लाख लिटर क्षमताका दुई ट्यांकी छन् । पानी सहज वितरणका लागि बजार क्षेत्रमा रामरेखा, उपल्लाचौर, बजार क्षेत्र र गुठी क्षेत्रमा एक–एक घन्टाका दरले चार ठाउँबाट पानीको वितरण व्यवस्था मिलाइएको छ । पानी शुद्धताका लागि ब्लिचिङ पाउडर राखेर वितरण गरिएको भए पनि धमिलोपन हटाउन सक्ने फिल्टर प्रणाली नभएको संस्थाका अध्यक्ष केबी रानाले बताए ।

प्रतिक्रिया