थ्री बाइ थ्री राष्ट्रिय बास्केटबल

काठमाडौं,२९ जेठ । नेपाल बास्केटबल संघको आयोजनामा दोस्रो प्रिमियर कप थ्री बाइ थ्री राष्ट्रिय बास्केटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदै छ ।
यो वर्ष पनि प्रतियोगिताको मुख्य प्रायोजक प्रिमियर कलेज रहेको जानकारी त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको हो । बास्केटबल संघ र प्रिमियरबीच भएको पूर्वसम्झौताबमोजिम प्रिमियर तेस्रो संस्करणको पनि मुख्य प्रायोजक रहनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पुरुषमा २४ तथा महिलामा १२ टिमको सहभागिता रहने संघका वरिष्ठ उपाध्यक्ष एवं प्राविधिक निर्देशक नरेन्द्र थापाले बताए । मोफसलबाट कास्की, सुनसरी र झापाले भाग लिने बताइएको छ ।
यसै प्रतियोगिताबाट पुरुष र महिलाको एक/एक टिम छनोट गरी पहिलो थ्री बाइ थ्री विश्व बास्केटबल च्याम्पियनसिपमा सहभागी गराउने संघले जनाएको छ । विश्व च्याम्पियनसिप यसै वर्षको २३ देखि २६ अगस्टसम्म ग्रीसको एथेन्समा हुँदै छ । ‘पहिलो चरणमा १६–१६ खेलाडी चयन गर्नेछौं । त्यसबाट अन्तिममा ४–४ पुरुष र महिला खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट गरिनेछ,’ बास्केटबल संघका महासचिव दिनेश थापाले भने । थापाले राष्ट्रिय बास्केटबल सञ्चालन गर्न लाग्ने सबै खर्च प्रिमियरले व्यहोर्ने अवगत गराए । थापाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब साढे पाँच लाख रुपियाँ लाग्नेछ ।
थापाले चीनको हायाङमा हुने तेस्रो एसियाली बिच खेलकुदमा बास्केटबलको सहभागिता निश्चित भइसकेको जानकारी गराए । ‘१५ जुनसम्म हाम्रो टिम हायाङ पुग्छ,’ थापाले प्रस्ट पारे । प्रिमियरका प्रमुख कार्यकारी अधिकृत नवराज सुवेदीले प्रायोजनबाट आफू सन्तुष्ट रहेको बताए ।

प्रतिक्रिया