धार्मिक नाममा नागरिकता र रातो पासपोर्ट माग

वीरगन्ज, २८ जेठ । बाराको हलखोरिया जंगलमा तपस्यामा बसेका भनिएका रामबहादुर बमजनका अनुयायीले नियम कानुन मिचेर धार्मिक नाममा नागरिकता माग्दै राजमार्ग बन्द गरेका छन् । रतनपुर गाविसबाट नक्कली जन्मदर्ता बनाएर बमजनका अनुयायीले नागरिक र रातो पासपोर्ट माग गर्दै बन्द गरेपछि परिवारजनले विरोध गरेका छन् भने स्थानीयवासी बन्दकर्ताको विरोधमा उत्रिएपछि शनिबार बाराको पिलुवा निकै तनावग्रस्त बनेको थियो ।

बमजनको संरक्षणमा रहेको बोधीश्रवण धर्म संघको अगुवाइमा अनुयायीले बारा पिलुवास्थित राजमार्गमा प्रदर्शन गरेका हुन् । बिहान ७ बजेदेखि ११ बजेसम्म राजमार्गमा प्रदर्शन गर्दै सवारीसाधन ठप्प पारिएको थियो । संघले बमजन तपस्यामा बसेको हलखोरिया वनक्षेत्रलाई धार्मिक वनक्षेत्र घोषणा गर्न माग गरेको छ । प्रदर्शनस्थलमा पुगेका इलाका प्रशासन कार्यालय सिमराका प्रमुख विनय श्रीवास्तवले बमजनका अनुयायीले राखेको मागका बारेमा आइतबार स्थानीय प्रशासनसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि प्रदर्शन स्थगन भएको थियो ।
बमजनका अनुयायीले राजमार्गमा प्रदर्शन गर्ने क्रममा बमजनकै गाउँले प्रतिकारमा उत्रिएका थिए । बमजनका अनुयायी र गाउँलेबीच पटकपटक झडप हुने स्थिति देखिएपछि प्रदर्शनस्थलमा प्रहरी परिचालन बाक्लो पारिएको थियो ।
बमजनलाई धर्म संघको नाममा नागरिकता र रातो पासपोर्ट उपलब्ध गराउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका स्थानीय नभई बाहिरी जिल्लाबाट भाडामा ल्याइएको भन्दै स्थानीय प्रतिकारमा उत्रिएका थिए । बमजनलाई धर्म संघ बमजनको नाममा नागरिकता उपलब्ध गराउनुपर्ने बोधीश्रवण धर्म संघको माग छ । तर, स्थानीय प्रशासनले नाम, थर परिवर्तन गरेर नागरिकता दिन अस्वीकार गरेपछि बमजनका अनुयायीले प्रदर्शन गरेका हुन् । शनिबार बाराका सिडिओ वीरेन्द्रप्रसाद यादवले सौर्यसँग भने, ‘कुनै पनि हालतमा बमजनलाई धार्मिक नाममा नागरिकता दिन सकिँदैन ।’
संघको मागप्रति बमजनकै परिवारका सदस्यले पनि आपत्ति जनाइसकेका छन् । बमजनको नागरिकता बनाउन संघले परिवारलाई थाहै नदिई नक्कली जन्मदर्ताको प्रमाणपत्र बनाएको भन्दै बमजनका आफन्तले ४ जेठमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिइसकेका छन् ।
संघका केही व्यक्तिले १३ वैशाखमा रतनपुरी गाविस कार्यालयबाट बमजनको नक्कली जन्मदर्ताको प्रमाणपत्र बनाएको बमजनका आफन्तको भनाइ छ । संघका व्यक्तिले ‘चतुर्मान बमजनका नाति, वीरबहादुर बमजन तथा मायादेवी तामाङ्नीका छोरा, जन्ममिति ०४६ चैत २७ र नाम धर्म संघ बमजन’ कायम गरी जन्मदर्ता गराएका छन् ।
जन्मदर्ता किर्ते भएको बमजनका माहिला दाजु दिलबहादुरले बताए । उनका अनुसार, रामबहादुर बमजनको नाममा रतनपुरी गाविसको कार्यालयबाट ८ वैशाख ०५२ मै जन्मदर्ता प्रमाणपत्र बनिसकेको छ । भाइ रामबहादुरको नामै परिवर्तन गरेर घरका सदस्यसँग सहमति नगरी बाहिरी व्यक्तिले गोप्य तरिकाले जन्मदर्ता प्रमाणपत्र बनाएर नागरिकता बनाउन लागिपर्नु रहस्यमय भएको बमजनका परिवारका सदस्यको भनाइ छ ।
‘अब अति भयो, सहनुको पनि सीमा हुन्छ,’ बमजनकी आमा मायादेवीले भनिन्, ‘तिमीहरूलाई थाहै नदिई नागरिकता बनाइदिन्छौँ भनेर संघका व्यक्तिहरूले पटकपटक धम्क्याइरहेका छन् ।’
संघका केही व्यक्तिले व्यक्तिगत स्वार्थका लागि चलखेल सुरु गरेको बमजनका परिवारको आरोप छ । क्यानडा, जर्मनी, स्वीटजरल्यान्डलगायत एक दर्जनभन्दा बढी मुलुकबाट भ्रमण र प्रवचनका लागि बमजनलाई आग्रह आएपछि संघले नागरिकता र रातो पासपोर्ट बनाएर विदेश लैजानका लागि चलखेल सुरु गरेको हो ।
बमजनको नागरिकता बनाउन परिवारले सहमति नदिएपछि उनका अनुयायीले जेठको पहिलो साता बमजनकै बहिनी रञ्जितालाई एक सातासम्म तपस्यास्थलमै बन्धक बनाएर राखेका थिए । आमा मायादेवीले प्रहरीमा उजुरी दिएको पाँच दिनपछि रञ्जितालाई संघका कार्यकर्ताले मुक्त गरेका थिए ।
बमजनको नाम अघि सार्दै संघ, समिति खडा गर्दै केही व्यक्तिले धर्मका नाममा व्यापार गरेर अकुत सम्पत्ति कुम्ल्याउने कोसिस गरेको परिवारजनको भनाइ छ । बमजन तपस्याका लागि हलखोरिया जंगलमा बसेदेखि त्यहाँ चढाइएका बहुमूल्य गरगहना, भेटी र नगदको हरहिसाब संघले अहिलेसम्म सार्वजनिक गरेको छैन । तपस्वी बमजनको नाममा विदेशबाट पनि ठूलै रकम आउने गरेको पाइएको छ ।
‘अरू ठाउँका मठमन्दिरको हिसाब कसैले खोज्दैनन्,’ संघका अध्यक्ष जसबहादुर वाइबाले भने, ‘पहिला अरू ठाउँको हरहिसाब पारदर्शी होस् अनि हामी सार्वजनिक गर्छौं ।’ बमजनको संरक्षणमा खोलिएको बोधीश्रवण धर्म संघले केही समयपहिले समाचार संकलनका लागि गएका पत्रकारलाई कुटपिट गर्नुका साथै स्लोभाकियाकी नागरिक मारिचीसहित दुई महिलालाई बन्धक बनाएर यातना दिएका थिए । उनीहरूले यौनशोषणसमेत गरेको पीडितहरूले बताएका थिए । आफ्नै छोरा भेट्न गएकी आमा मायादेवी र दिदीलाई पनि बमजनका अनुयायीले कुटपिट गरेका थिए ।
बमजनको आडमा संघका कार्यकर्ताले पटकपटक गैरकानुनी क्रियाकलाप गर्दै आतंक मच्चाइरहे पनि स्थानीय प्रहरी प्रशासनले कार्यकर्ताविरुद्ध कुनै कदम नचालेपछि स्थानीय पनि आक्रोश भएका छन् । प्रहरीमा संघका कार्यकर्ताविरुद्ध उजुरी परेपछि कारबाहीका लागि तपस्यास्थलमा पटकपटक पुग्ने गरेका प्रहरी अधिकारी छानबिनको सट्टा उल्टै बमजनलाई ढोगेर फर्कने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया