कसरी चल्यो गोली

काठमाडौं, २७ जेठ । आफ्नो डेरा पाहुनाले भरिएपछि बिहीबार राति साथी वीरबहादुर राउतको डेरामा सुत्न गएका वसन्त शाही अहिले अस्पतालको बेडमा छन् । साथीको डेराभित्रै भएको रहस्यमय घटनामा उनको घाँटीमा गोली लागेको छ ।

वसन्त अर्का साथी मुकेश नेपालीसँगै नयाँबजार टाउनप्लानिङस्थित वीरबहादुर रावतको डेरामा गएर सुतेका थिए । भोलिपल्ट बिहान करिब ७:१५ बजे वीरबहादुर चिया पिउने भन्दै डेराबाट बाहिरिए । वसन्त र मुकेश ओछ्यानमै थिए । केहीबेरमा अर्का साथी मनोज खत्री डेरामा प्रवेश गरे ।
मनोजले काँधमा भिरेको झोला निकालेर भुइँमा राखे र गफ गर्न थाले । यत्तिकैमा वीरबहादुर पनि कोठामा फर्किए । गफिँदै गर्दा मनोजले एकाएक भने, ‘मसित पेस्तोल छ ।’ कुतूहल जागेपछि साथीहरूले पेस्तोल देखाउन आग्रह गरे । मनोजले झोलाबाट पेस्तोल झिके । उनले तीनैजनालाई पेस्तोलमा म्यागजिन लोड–अनलोड गर्ने तरिका सिकाउन लागे ।
पेस्तोल अब वसन्तको हातमा पुग्यो । उनले पनि मनोजले जसरी नै पेस्तोल लोड–अनलोड गर्ने अभ्यास गरे । वीरबहादुरले पनि त्यसै गरे । पेस्तोल पुन: मनोजले लिए । उनले पेस्तोलको

गोली घरी झिक्ने र घरी हाल्ने गर्न लागे । अन्त्यमा गोली झिके । अब पेस्तोल कक गर्ने अभ्यास भयो । पेस्तोलको नाल वसन्ततर्फ सोझ्याएर मनोजले कक मात्रै के गरेका थिए, पेस्तोलबाट गोली छुट्यो र वसन्तको घाँटी छेड्यो ।
मनोजले के सोचेर पेस्तोल कक गरे भन्ने कुरा शंकास्पद देखिएको छ । प्रहरीको अनुमान छ, पेस्तोलका सबै गोली झिकिएको ठानेर मनोजले कक गरेका हुन् । एउटा गोली पेस्तोलमा अड्किएर रहेको उनलाई हेक्का भएन । घटनालगत्तै पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले पेस्तोलमा गोली रहेको हेक्का नभएपछि कक गर्दा फायर भएको हुन सक्ने बताए । उनले भने, ‘पेस्तोल पड्काउने अभ्यास गर्ने क्रममा वसन्तलाई गोली लागेको हुन सक्छ ।’
गोली लागेपछि भुइँमा ढलेका वसन्त छट्पटाउन लागे । घाँटीबाट रगतको भल बग्न लाग्यो । वीरबहादुर र मनोज एम्बुलेन्स लिन डेराबाट निस्किए । मनोजले मोटरसाइकल स्टार्ट गरे र वीरबहादुर चढ्नै नपाई हुइँकिए । मनोज एम्बुलेन्स लिन गएको ठानेर वीरबहादुर कुर्न लागे । तर, निकैबेरमा पनि नआएपछि फोन गरे । तर, मनोजले त मोबाइल स्विच अफ गरेछन् । वीरबहादुर आफैँ गएर ट्याक्सी ल्याए । मुकेशसँगै उनले घाइते वसन्तलाई काठमाडांै मोडेल अस्पताल लगे । तर, त्यहाँ उपचार हुन नसक्ने भएपछि वसन्तलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगियो ।
त्यतिबेलासम्म प्रहरी घटनास्थल पुगिसकेको थियो । कोठा खानतलासी गर्दा खाटको साइडमा झोलामा लुकाइराखेको मेड इन युएस लेखिएको १००० नम्बरको अटोमेटिक पेस्तोल भेटियो । सँगै थियो, केएफ ९ एमएम लेखिएको दुईवटा गोली र एमएफएस २००१ लेखिएको एउटा गोली । गोलीको खोका भने ढोकानजिकै थियो । प्रहरीले घटनामा संलग्न अमृत साइन्स क्याम्पसका स्ववियु उपसभापित २९ वर्षीय वीरबहादुर र सोही क्याम्पसमा पढ्ने २४ वर्षीय मुकेशलाई प्रहरीले पक्राउ गरेको छ । पेस्तोल चलाउने मनोज भने फरार छन् ।
प्रहरीका अनुसार मनोज आपराधिक मनोवृत्तिका व्यक्ति हुन् । ठेक्कापट्टामा संलग्न मनोज यसअघि प्रहरी प्रभाग दरबारमार्गबाट पक्राउ परेका थिए । चर्चित डन कुमार घैंटेसँग उनको हिमचिम रहेको प्रहरीको भनाइ छ । एसएसपी चन्दले उनको खोजी भइरहेको जानकारी दिए । चन्दले भने, ‘हतियारसहित हिँड्ने भएकाले मनोजको आपराधिक मनोवृत्ति देखिन्छ । पक्राउलगत्तै उनीमाथि कानुनी कारबाही हुन्छ ।’ उनले हतियार कुन उद्देश्यले कहाँबाट ल्याए भन्नेबारे नखुलेको उनको भनाइ छ ।
शिक्षण अस्पतालमा उपचार भइरहेका वसन्त बिएसस्सी तेस्रो वर्षका विद्यार्थी हुन् । उनी अस्कलमा अनेरास्ववियु क्याम्पस कमिटीका उपाध्यक्षसमेत छन् । अस्पतालको सघन कक्षमा उपचाररत शाही पहिलो अप्रेसनपछि खतरामुक्त रहेको अनेरास्ववियुका महासचिव किशोरविक्रम मल्लले जानकारी दिए ।
अनेरास्ववियुका विद्यार्थी नेताहरूले यस घटनालाई सामान्य रूपमा लिएका छैनन् । उनीहरूले २३ जेठमा हुने क्याम्पस कमिटीको सम्मेलनसँग जोडेर यसलाई हेरेका छन् । उनीहरूले घटना अनेरास्ववियु संगठनभित्रैबाट हुन सक्ने आशंकासमेत गरेका छन् । गत २३ जेठमा क्याम्पस कमिटीको सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा दुई पक्षबीच विवाद हुँदा उद्घाटन भए पनि सम्पन्न हुन सकेको थिएन । घाइते वसन्त कमिटीको अध्यक्ष पदको दावेदार थिए ।

प्रतिक्रिया