एमाओवादी प्रस्ताव एमालेद्वारा अस्वीकार

काठमाडौं,२६  जेठ । नेकपा(एमाले)का अध्यक्ष झलनाथ खनालले नयाँ सरकार गठनपछि मात्र अन्य राजनीतिक विषयमा सहमति खोज्न सजिलो हुने धारणा राख्दै तत्काल सहमतिका लागि बाटो खोल्न एकीकृत नेकपा(माओवादी)सँग आग्रह गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि दुई विकल्प प्रस्ताव गरेपछि एमाले अध्यक्ष खनालले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान लिँदै त्यसपछि मात्र अन्य विषयमा सहमति प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका हुन् ।
डल्लुस्थित खनाल निवासमा बिहीबार बिहान दुई नेताबीच संविधानसभा विघटनपछि पहिलोपटक भएको डेढ घन्टा लामो भेटमा संविधानसभाको अन्त्यपछिको राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो । भेटमा खनालले संविधानसभाको अप्रत्याशित विघटन गराई नयाँ निर्वाचन घोषणा गर्ने सरकारको कदमले मुलुकलाई राजनीतिक र संवैधानिक संकटमा धकेलेको र सहमतिको राजनीतिमा फर्काउन प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए । उनले सहमतिको सरकार गठनपछि निकासका उपायबारे छलफल गरिने धारणा राखेका थिए ।
‘अप्रत्याशित रुपमा गरिएको संविधानसभा अन्त्य र नयाँ निर्वाचन घोषणाले मुलुक अभूतपूर्व संकटमा परेको छ,’ खनालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गरेपछि र नयाँ सरकार बनेपछि निकासका उपायबारे छलफल गर्नुपर्छ ।’
संविधानसभा छंँदै भएका सहमतिका आधारमा अघि बढ्न र प्रधानमन्त्रीलाई तत्काल बिदा गर्नका लागि भूमिका निर्वाह गर्न दाहाललाई खनालले सुझाएका थिए ।
‘सरकारबारे सहमति भइसकेकै थियो, संविधानका विषयमा पनि सहमति भएका कुरा घोषणा गरेर जाउँm भन्ने कुरा थियो तर तपाईंहरुले मुलुकलाई संकटमा फसाउनुभयो,’ भेटमा खनालले दाहालसँग भनेका थिए, ‘अब यसलाई लिकमा ल्याउन जेठ २ मा भएको सहमतिलाई प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्छ अनि नयाँ सहमतिको वातावरण बन्छ ।’
भेटमा दाहालले संविधानसभा पुन:स्थापना वा नयाँ निर्वाचनको विकल्प प्रस्तुत गर्दै त्यसमा दलहरुवीच सहमति खोज्नुपर्ने प्रस्ताव राखेका थिए । ‘संविधानसभाको पुन:स्थापना, नयाँ निर्वाचन र संघीयताका विषयमा समेत सहमति गरेर अघि बढ्न वार्ताको कुरा भएको छ,’ भेटपछि दाहालले भने ।
दाहालले प्रस्तुत गरेका विकल्पबारे नयाँ सरकार गठनपछि मात्र छलफल गर्न सकिने जवाफ खनालले दिएका थिए ।

प्रतिक्रिया