सुन तस्करीले बैंकको सुन बिकेन


काठमाडौं, २५ जेठ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको बेला बैंकसँग भएको सुन बिक्न छोडेको छ । बुधबार सुन प्रतितोला तीन सय रुपियाँले बढेर ५६ हजार नौ सय रुपियाँ पुगेको छ तर चोरी–तस्करीबाट नेपाल भित्रिएका सुनका कारण औचापरिक रूपमा भन्सार तिरेर आयात गरिएको सुन बिक्री हुन छाडेको बैंकहरूले बताएका छन् ।
‘नेपाल र भारतमा सुनमा लगाइने भन्सारदर फरक भएका कारण औपचारिक माध्यमबाट भन्दा अनौपरिचारिक माध्यमबाट खरिद गर्नु नै सस्तो भएकाले बंैंकको सुन नबिकेको हो,’ नेपाल बंकर्स संघका पूर्व अध्यक्ष एवं एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले भने । नेपालमा प्रति १० ग्राम सुनमा २३ सय रुपियाँ भन्सार लाग्ने गरेको छ भने भारतमा १८ सय रुपियाँ मात्र सुनको भन्सार तय गरिएको छ । भन्सारदरको फरक भएका कारण नेपालमा भन्दा भारतमा सुन सस्तो भएकाले भारतबाट भन्सार नतिरी चोरी–तस्करीबाट सुन बढी भित्रिएका कारण बैंकको सुन बिक्री हुन छाडेको उनले बताए । नेपालमा सञ्चालनमा रहेका ३२ वाणिज्य बंैकमध्ये सुनको कारोबार गर्ने १८ बैंकसँग हाल तीन सय किलोग्रामभन्दा बढी सुन मौज्दात रहेको छ ।
नबिल बैंकका प्रमुख लगानी अधिकृत भुवन दाहालका अनुसार बजारमा अवैध सुन विद्यमान रहेका कारण बैंकको सुन नबिकेको हो । नबिलसँग मात्रै करिब एक सय किलो सुन मौज्दात छ । दाहालले चीनबाट समेत अवैध रूपमा सुन तस्करी हुने गरेको बताए । नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले पनि तस्करी गरेर ल्याएको सुन बढी भएका कारण बजारमा सुनको आपूर्ति बढिरहेको बताए । ‘सुनको मूल्य एकदम अधिक रहेका कारण बजारमा अहिले सुनको माग नै छैन,’ उनले भने । अर्कोतर्फ अहिले चाडबाडको मौसम नरहेका कारण पनि सुनको मागमा कमी आएको उनले बताए । अहिले ग्राहकले नयाँ सुन किन्न छोडेर पुरानो गहना नै फर्काएर नयाँ डिजाइनको गहना बनाउन थालेकाले पनि बजारमा सुनको माग थप घटेको हुन सक्ने उनले दाबी गरे ।
अमेरिकी डलर बलियो हुँदै गएपछि सुनको मूल्यले पनि दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको छ  । अमेरिकी डलर मजबुत हुँदै गएको र भारतीय रुपियाँ कमजोर हुँदै गएका कारण नेपालको सुनको मूल्य अकासिएको संघका अध्यक्ष शाक्यले बताए । युरोपका ग्रिस र स्पेनको संकटका कारण लगानीकर्ता सेयर बजारबाट विस्तारै वस्तु बजारतर्फ आकर्षित भएका छन् । यसले पनि सुनको मूल्य बढनमा सघाउ पुगेको छ । बुधबार अन्तर्राष्ट्रिय सेयर बजारका अधिकांश परिसूचक घटेका छन् । सेयर बजार घटेपछि त्यसको उल्टो असर वस्तु बजार त्यसमाथि पनि सुनमा परेको अनुमान विश्लेषकले गरेका छन् । बुधबार तेजावी सुनको मूल्य पनि एक सय रुपियाँले बढेर बुधबार प्रतितोला ५६ हजार ६ सय ५० रुपियाँ पुगेको छ । यसअघि गत आइतबार तेजवी सुनको मूल्य ५६ हजार पाँच सय ५० रुपियाँमा कारोबार भएको थियो । चाँदी पनि तोलामा १० रुपियाँले बढेको छ । मंगलबार एक हजार ४० रुपियाँ रहेको चाँदी प्रतितोला एक हजार ५० रुपियाँमा कारोबार भइरहेको छ ।
बैंकर्स संघका पूर्व अध्यक्ष जोशी सुनको मूल्य बढेर माग नबढेको मान्न तयार छैनन् । उनका अनुसार विभिन्न नेपाल सुनचाँदी व्यवसायी संघ, सुनचाँदी कला व्यवसायी संघ, नेपाल हस्तकला महासंघ र रत्न तथा आभूषण संघको सिफारिसमा मात्र बैंकले सुन बिक्री गर्नुपरेकाले  बैंकको सुन बिक्री हुन नसकेको हो ।

प्रतिक्रिया