भक्तमान अपहरणकारीलाई एक करोड जरिवानासहित १५ वर्ष कैद

चितवन, २५ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भारतीय नागरिक रोहित पालिवालसहित आठलाई जिल्ला अदालत चितवनले एक करोड आठ लाख ५० हजार रुपियाँ जरिवाना र १५ वर्ष कैद फैसला गरेको छ ।
अपहरणमा फिरौतीबापत लिइएको एक करोड आठ लाख ५० हजार रुपियाँ बराबरको बिगो तथा कैद सजाय पाउने गरी न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले मुद्दा फैसला गरेको हो ।
४ जेठ ०६७ मा डा. श्रेष्ठको अपहरण भएको थियो । एक करोड आठ लाख ५० हजार रुपियाँ बराबरको सुन बुझाएर उनी अपहरणमुक्त भएका थिए । डा. श्रेष्ठको अपहरणमा संलग्न कार्यमा मुख्य मानिएका भारतीय नागरिक पालिवाल र भीमसेन पण्डितलाई अदालतले अपहरण तथा शरीर बन्धक मुद्दाअन्तर्गत १३ वर्ष कैद र संगठित अपराध भएकाले थप दुई वर्षसहित १५ वर्ष कैद सजाय फैसला गरेको स्रेस्तेदार शाखा प्रमुख दीनबन्धु बरालले जानकारी दिए ।
अपहरणमा संलग्न नवीन क्षेत्री, बद्रीप्रसाद ढुंगाना, सुनील श्रेष्ठ र सुब्बा तामाङलाई ११ वर्ष कैद तथा अपहरण तथा शरीर बन्धक मुद्दाअन्तर्गत थप दुई वर्ष कैद गरेर १३ वर्ष कैद सजाय फैसला भएको बरालले जानकारी दिए । अपहरणमा संलग्न भनिएका राजेन्द्र पण्डित र गौतम योञ्जनले भने सफाइ पाएका छन् ।
जरिवानासहित कैद सजाय तोकिएका ६ जनाले जनही एक लाख रुपियाँ जरिवाना पनि तिर्नुपर्ने फैसला अदालतले गरेको छ । त्यसैगरी, १९ दिन अपहरण गरेर राखेकाले डा. श्रेष्ठलाई एकदिनको एक हजार रुपियाँका दरले १९ हजार रुपैयाँ क्षतिपूर्ति दिने फैसला पनि गरिएको बरालले बताए । डा. श्रेष्ठको अपहरणमा संलग्न पालिवाल, ढुंगाना, क्षेत्री र श्रेष्ठ थुनामा छन् । अन्य चारलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । डा. श्रेष्ठले १७ साउन ०६७ मा अदालतमा शरीर बन्धक मुद्दा दर्ता गराएका थिए ।

प्रतिक्रिया