खबर नगरी छापा मारेको भन्दै गडीमा अगजनी

चितवन, २४ जेठ । राजस्व कार्यालयको केन्द्रीय टोलीले बिना जानकारी छापा मारेको विरोध गर्दै यहाँका व्यवसायीले नाराबाजी गर्दै कार्यालयको गाडी जलाएपछि चितवनको नारायणगढ बजारमा तनाव उत्पन्न भएको छ ।
नारायणगढको शहिदचोकमा रहेको लक्ष्मीनारायण वस्त्रालयमा राजस्व कार्यालय पुलचोकबाट खटिआएको टोलीले छापा मारेपछि व्यवसायीहरुले विरोध गर्दै बा १ झ ९१३५ नम्वरको गाडीमा आगजनी गरेका छन् । व्यवसायीहरुले गरेको उक्त कार्य रोक्न प्रहरीले नियन्त्रण प्रयास गर्दा व्यवसायीहरुले ढुङ्गा मुढा गर्न थालेपछि अहिले नारायणगढको अवस्था तनावपूर्ण भएको हो । अवस्था अनियन्त्रित हुँदै गएपछि प्रहरीले रबर गोली पनि चलाएको छ । व्यवसायीहरु भने ढुङ्गा मुढामा उत्रिएका छन् ।  राजस्व कार्यालय पुलचोकबाट निर्देशक भोजराज सुबेदीको नेतृत्वमा खटिआएको टोलीले बस्त्रालयको कागजपत्र आफ्नो नियन्त्रणमा लिएर बुधबार बिहान पसलमा सिल गरेको थियो ।
टोलीले उद्योग वाणिज्य संघसँग कुनै समन्वय नगरी पसलमा छामा  मारेको भन्दै नारायणगढका व्यापारीहरु सटर बन्द गरेर बिरोधमा उत्रिए पछि नारायणगढको अवस्था तनावपूर्ण बनेको हो ।  आन्दोलनको कारणले बिहान साढे १० बजेदेखि पुर्ब पश्चिम राजमार्गमा समेत यातायात ठप्प भएको छ ।
अहिले उद्योग वाणिज्य संघका प्रतिनधी र  अनुसन्धानका लागि आएको टोलिबीच नारायणगढमै वार्ता भइरहेको छ । नारायणगढमा तनाव बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

प्रतिक्रिया