संविधानसभा पुन:स्थापनामा दाहाल लचिलो


काठमाडौँ, २४ जेठ । संविधानसभा पुन:स्थापना गर्न कांग्रेसका निवर्तमान सभासद्ले गरिरहेको ‘लबिङ’मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक देखिएका छन् । उनले दलहरूबीच छलफल गरेर राष्ट्रपतिमार्फत संविधानसभा पुन:स्थापना गर्न सकिने बताए ।
सत्तापक्षीय दलहरूले मंगलबार गरेको अन्तक्र्रियामा अध्यक्ष दाहालले दलहरूबीच सहमतिका आधारमा संविधानसभा पुन:स्थापना गर्न सकिने बताएका हुन् । ‘अहिले संविधानसभा पुन:स्थापना गर्ने कुरा पनि उठिरहेको छ । हामी त्यसमा छलफल गर्न तयार छाँ, सबै दलबीच छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ,’ उनले भने । उनले दलहरूबीचको सहमतिका आधारमा निर्वाचन वा अन्य विकल्पमा जान पनि आफू तयार रहेको बताए ।
केही दिनयता कांग्रेसका निवर्तमान सभासद्ले संविधानसभा पुन:स्थापना गर्नुपर्ने भन्दै ‘लबिङ’ गरिरहेका छन् । केही समयका लागि संविधानसभा पुन:स्थापना गरेर बाँकी रहेका विवादित विषयमा सहमति जुटाई संविधान जारी गर्नुपर्ने, संविधान जारी गर्न नसके पनि अन्तरिम संविधान र निर्वाचनसम्बन्धी ऐन/नियम सशोधन गरी चुनावको बाटो खोल्नुपर्ने र राष्ट्रिय सहमतिको सरकार गठन गरेर चुनावमा जानुपर्ने उनीहरूको धारणा छ । उनीहरूले यसबारे राष्ट्रपतिलाई भेटेर ध्यानाकर्षणसमेत गराइसकेका छन् ।
अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको अन्योलबाट मुलुकलाई निकास दिन आफूले राष्ट्रपतिसित छलफल गरेको र कांग्रेस–एमालेका नेतालाई सम्वादका लागि खबर पठाइएको जानकारी दिए । ‘हिजोभन्दा आज राजनीतिक सहमतिको झन् धेरै आवश्यकता छ, कांग्रेस र एमालेसित पनि छलफल प्रक्रिया थाल्न प्रस्ताव गरेको छु’, उनले भने ।
दाहालले नयाँ संविधान जारी नगरीकनै संविधानसभा विघटन हुनाको दोष कांग्रेस र एमालेमाथि थोपरे । आफ्नो पार्टी हदैसम्म लचिलो भएर बहुपहिचानका आधारमा संघीयतामा जान तयार हुंँदा पनि कांग्रेसले ‘संघीयताको नामै सुन्न नचाहेको’ आरोप उनले लगाए । १४ जेठको बिहान दलहरूबीच भएको छलफलमा लगभग सहमति भइसकेको अवस्थामा दिउँंसोदेखि कांग्रेस र एमाले कठोर हँदै गएपछि संविधानसभा विघटन भएको अध्यक्ष दाहालको भनाइ थियो ।
‘बहुप्रदेशमा जाने गरी १४ गते बिहान छलफल भइसकेको थियो, तर दिउँसोदेखि जतिजति समय ढल्दै गया,े कांग्रेसका साथीहरू त्यति त्यति संघीयताको नामै सुन्न नसक्ने हुन थाल्नुभयो, एमालेमा पनि त्यस्तै केही नेताको बोलवाला देखिन थाल्यो’, अध्यक्ष दाहालले भने–‘अन्तिममा जनतामा जानु नै उत्तम विकल्प ठानेर चुनाव घोषणा गरिएको हो ।’ १४ जेठको बिहान कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला आफूकहाँ आएर बहुप्रदेशमा जाने सहमति गरेको र आफूले त्यही कुरा एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालसित गर्दा उनीहरूले पनि सहमति जनाएको दाहालको दाबी छ ।
लामो भाषणका क्रममा अध्यक्ष दाहालले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पटक पटक सम्झिए । संविधानसभाको चुनावपछि बहुमतीयमा जाने दलहरूको निर्णयले नै मुलुकमा आजको अवस्था आएको दाहालले ठोकुवा गरे । संविधानसभालाई सामान्य संसद् बनाएर दलहरू सरकार बनाउने र ढाल्ने खेलमा लागेको अध्यक्ष दाहालले बताए । आफ्नोलगायत, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईसम्मका सरकार सत्ताको रस्साकस्सीमै सीमित बनेको उनको भनाइ थियो ।
कार्यक्रममा  प्रधानमन्त्री डा.भट्टराईले संविधानसभा विघटन हुनामा सबै दल जिम्मेवार रहेको बताए । सरकारसित अरू विकल्प नभएकाले चुनावको घोषणा गरिएको उनको भनाइ थियो । ‘लोकतन्त्रमा विश्वास गर्ने हामी सबैले लोकतान्त्रिक पद्धति अँगालेर जानुपर्छ । त्यसरी गए मात्रै मुलक बचाउन सक्छाँ’, प्रधानमन्त्री भट्टराईले भने ।
प्रधानमन्त्री भट्टराईले राजनीतिक सहमतिबाटै मुलुकमा व्याप्त अन्योल हटाइने बताए । सरकारका तर्फबट आफूले सहमतिको पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
दलहरुको सहमतिविना नै सरकारले एकतर्फी रूपमा चुनाव घोषणा गरेको भन्दै कांग्रेस–एमालेलगायतका दल आन्दोलनको तयारी गरिरहेका बेला सत्तापक्षीय दलले बृहत् अन्तक्र्रिया आयोजना गरेका हुन् । कार्यक्रममा नागरिक समाज, पत्रकार, विभिन्न क्षेत्र र वर्गका अगुवालाई बोलाइएको थियो ।

पुन:स्थापना हुन सक्दैन : गच्छदार
प्रमुख सत्ताधारी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा पुन:स्थापना गर्न सकिने भनी अभिव्यक्तिलाई त्यही मञ्चबाट सत्ता साझेदार फोरम(लोकतान्त्रिक) का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रतिवाद गरेका छन् । उनले संविधानसभा कुनै पनि हालतमा पुन:स्थापना हुन नसक्ने बताए ।
नयाँ निर्वाचन मात्रै अबको निकास भएको गच्छदारको भनाइ छ । ‘संविधानसभा अब कसरी पुन:स्थापना हुनसक्छ ? कसले गर्न सक्छ पुन:स्थापना ?’, गच्छदारले प्रश्न गरे । विगतमा तत्कालीन राजासित अधिकार भएकाले संसद् पुन:स्थापना भएको बताउँंदै उनले अहिले राष्ट्रपतिमा त्यस्तो अधिकार नरहेको जिकिर गरे ।
चुनावमा जानुभन्दा अर्को विकल्प दलहरूसित नभएको गच्छदारले बताए । कांग्रेस र एमाले चुनावबाट डराइरहेकाले अहिले बखेडा झिकिरहेको उनको आरोप छ । ‘कांग्रेस र एमाले किन चुनावमा जान डराइरहेका छन् ? लोकतान्त्रिक पार्टी भन्ने अनि चुनावमा जान नमान्ने ?’, उनले प्रश्न गरे ।

प्रतिक्रिया