पाँच महिनामा अढाइ लाख पर्यटक

काठमाडौं, २१ जेठ । सन् ०१२ को पहिलो पाँच महिनामा अढाइ लाख विदेशी पर्यटक हवाई मार्ग हँुदै नेपाल भित्रिएका छन् । जनवरीदेखि मे महिनासम्ममा यो संख्यामा पर्यटक नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार विश्वका विभिन्न मुलुकबाट जनवरीदेखि हालसम्म दुई लाख ५० हजार सात सय ८१ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्ष सोही अवधिका तुलनामा २०.५ प्रतिशतले बढी हो । पर्यटन वर्ष ०११ को पहिलो पाँच महिनामा हवाई मार्ग हँुदै दुई लाख आठ हजार पर्यटक नेपाल आएका थिए ।
जनवरीदेखि मेसम्म दक्षिण एसियाली मुलुकबाट ८४ हजार पर्यटक आएको तथ्यांक छ । गत वर्ष यही अविधमा ६४ हजार ६ सय पर्यटक आएका थिए । दक्षिण एसियाली पर्यटक आगमन वृद्धिदर ३० प्रतिशत रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाली पर्यटकको मुख्य उद्गमस्थल भारतबाट आउने पर्यटक यो अवधिमा ३५ प्रतिशतले बढेका छन् । हालसम्म ८३ हजार आठ सय ४० भारतीय पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको तथ्यांक छ । पाकिस्तानबाहेक सबै सार्क मुलुकबाट आउने पर्यटक बढेका छन् ।
सार्कबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटकको आगमन वृद्धिदर भने १८ प्रतिशत छ । पाँच महिनामा एसियाली मुलुकबाट ५० हजार पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको पाँच महिनामा ४२ हजार थियो । एसियाली मुलुकमध्ये चिनियाँ पर्यटक आगमन उल्लेख्य छ । हालसम्म २० हजार चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ । जापानबाट १० हजार चार सय, दक्षिण कोरियाबाट आठ हजार नौ सय र थाइल्यान्डबाट तीन हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएको बोर्डले जानकारी दिएको छ । यो अवधिमा एसियाली मुलुक सिंगापुर र थाइल्यान्डका पर्यटक घटेका छन् ।
युरोपियन बजारतर्फ अधिकांश मुलुकबाट आउने पर्यटक आगमन सकारात्मक छ । पाँच महिनाअवधिमा युरोपियन मुलुकबाट ६६ हजार पाँच सय २० पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । यो संख्या गत वर्षको सोही अवधिका तुलनामा १८ दशमलव सात प्रतिशत हो । गत वर्ष ५६ हजार आएका थिए ।
युरोपियन मुलुक जर्मनीबाट ११ हजार दुई सय, बेलायतबाट १४ हजार दुई सय, रसियाबाट चार हजार र इटलीबाट चार हजार पर्यटक आएको तथ्यांक छ । चेक गणतन्त्र, नेदरल्यान्ड र स्विडेनबाट आउने पर्यटक भने घटेका छन् । अमेरिकी पर्यटक ११ प्रतिशतले बढेका छन् । यो अवधिमा १६ हजार ६ सय अमेरिकी पर्यटक नेपाल आएका छन् ।
नेपालमा ट्ेरकिङको मुख्य सिजन मानिने मे महिनामा भने विभिन्न मुलुकबाट ४२ हजार आठ सय २० पर्यटक आएका छन् । यो संख्या गत वर्ष मेको तुलनामा नौ दशमलव तीन प्रतिशतले बढी हो । यो महिना दक्षिण एसियाली पर्यटक १४ प्रतिशतले बढेका छन् । भारतीय पर्यटक १६ प्रतिशतले बढेका छन् भने श्रीलंकाली र बंगलादेशी पनि केही बढेका छन् । पाकिस्तानी पर्यटक भने ३२ दशमलव पाँच प्रतिशतले घटेका छन् । विगत वर्षदेखि नै बढिरहेको चिनियाँ पर्यटक आगमन यो महिना १० प्रतिशतले बढेको तथ्यांक छ ।
जापानी र मलेसियन पर्यटक पनि बढेका छन् । यद्यपि दक्षिण कोरिया, सिंगापुर र थाइल्यान्डबाट आउने पर्यटक भने घटेका छन् । युरोपियन पर्यटक आठ दशमलव तीन प्रतिशतले बढेर सात हजार पाँच सय पुगेका छन् । अमेरिकी र अष्ट्ेरलियाली पर्यटक क्रमश: नौ र १२ प्रतिशतले बढेको पर्यटन बोर्डले जनाएको छ । मे महिनामा ५६ हजार तीन सय ६३ विदेशी पर्यटक त्रिभुवन विमानस्थल हुँदै बाहिरिएका छन् । त्यस्तै ५२ हजार पाँच सय ९१ नेपाली स्वदेश भित्रिएको र ७३ हजार तीन सय ५९ बिदेसिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया