दाजुभाइको झगडामा परिवारका सातको हत्या

कैलाली, २१ जेठ । बझाङको स्याडीमा दाजुभाइबीच जग्गा विवादमा भएको झगडामा ६ बालबालिकासहित सातको हत्या भएको छ ।

बझाङ स्याडी–३ मा दुई दाजुभाइबीच जग्गासम्बन्धी विवाद हुँदा एक महिला, पाँच बालक र एक बालिकाको हत्या भएको हो ।
शनिबार साँझ ६ बजे गगन विक र वीरजित विकबीच जग्गाको विषयमा भएको झगडामा गगनका एक छोरा, एक छोरी तथा वीरजितकी पत्नीसहित चार छोराछोरीको हत्या भएको हो ।
गगन र वीरजितबीचको भनाभनले उग्ररूप लिएपछि घरका परिवार पनि झगडामा उत्रँदा दुवै पक्षबाट चक्कु, बाँसका भालालगायत धारिला हतियार प्रहारबाट सातको ज्यान गएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार, घटनामा गगनकी डेढ वर्षीया छोरी पवित्रा र तीन वर्षीय छोरा पवन तथा वीरजितकी पत्नी ३५ वर्षीया झाकीदेवी, छोरी डेढ वर्षीया लक्ष्मी र छोराहरू चार वर्षीय केशव, आठ वर्षीय राजेन्द्र र तीन वर्षीय करनको मृत्यु भएको बझाङका डिएसपी सूर्य केसीले बताए । घटनामा परेर गगनले पत्नीबाहेक सबै गुमाएका छन् भने वीरजितले परिवारका सबै सदस्य गुमाएका छन् ।
घटनालगत्तै स्याडीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले गगन र वीरजितलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा सदरमुकाम चैनपुरबाट इन्स्पेक्टर सागर बोहराको नेतृत्वमा थप प्रहरीको टोली गएको छ । घटनास्थल सदरमुकामबाट ६५ किलोमिटर उत्तरपश्चिममा पर्छ । फोन र प्रहरीको सञ्चार सेटले पनि काम नगरेकाले घटनाको यकिन विवरण प्रहरीको टोली फर्केपछि मात्र थाहा हुने प्रहरीले बताएको छ । हत्या गरिएका सबैलाई पोस्टमार्टमका लागि आइतबार बिहानसम्म जिल्ला अस्पताल सिमखेतमा ल्याइने डिएसपी केसीले बताए ।

प्रतिक्रिया