एमाले मिलनबिन्दुको खोजीमा

काठमाडौं, २१ जेठ । राज्य पुन:संरचनाका विषयमा आन्तरिक विवाद समाधान गरी औपचारिक धारणा तय गर्न एमालेले उच्चस्तरीय आयोग बनाउने भएको छ । राज्य पुन:संरचनाबारे पार्टीको भूमिकाप्रति असन्तुष्ट हुँदै नयाँ पार्टी गठनको गृहकार्यमा लागेका आदिवासी जनजाति तथा मधेसी नेताको विचारलाई सम्बोधन गरी धारणा तय गर्न एमालेले आयोग गठनको प्रस्ताव केन्द्रीय कमिटीमा लैजान लागेको हो ।
शनिबार सम्पन्न पोलिटब्युरो बैठकले राज्य पुन:संरचनाबारे महाधिवेशनयता पार्टीभित्र उठेका विचार र निर्णयलाई ‘सन्दर्भ सामग्री’ बनाउँदै ठोस धारणा तय गर्न आयोग गठनको निर्णय गरेको हो । आयोग गठनसम्बन्धी प्रस्ताव आइतबार सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष झलनाथ खनालले पेश गर्ने भएका छन् । यस्तै, पार्टीका समग्र कामको समीक्षा गर्न पनि कार्यदल बनाउने निर्णय बैठकले गरेको छ । अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गर्दै बैठकले सरकारले संविधानसभा निर्वाचन एकलौटी घोषणा गरेको भन्दै एमाओवादीको सर्वसत्तावादी कदम परास्त गर्ने र राष्ट्रिय राजनीतिलाई सहमतिको दिशामा फर्काउने निर्णय पनि गरेको छ ।
राज्य पुन:संरचनामा एमालेले लिएको बहुपहिचानका प्रदेश बनाउने अडानप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष अशोककुमार राईसहित केही नेता छुट्टै पार्टी गठन गर्ने तयारीमा थिए । उनीहरूले उठाएका मुद्दा सम्बोधन गर्न महाधिवेशनदेखि अहिलेसम्म भएका निर्णय अध्ययन गरी ठोस धारणा आयोगले बनाउने र पार्टीको तल्लो तहसम्मै छलफल गरेर केन्द्रीय कमिटी र राष्ट्रिय भेलामा प्रस्तुत गर्ने तयारी एमालेले गरेको छ । त्यसका लागि छलफल गर्न आइतबार केन्द्रीय कमिटी बैठक र असारको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने प्रस्ताव पनि बैठकले तयार गरेको छ ।
‘राज्य पुन:संरचनामा पार्टीको भूमिका समीक्षा गर्ने, आदिवासी जनजाति पृष्ठभूमिका नेताहरूले उठाउँदै आएका मागलाई पनि समेट्ने र महाधिवेशनदेखि यस विषयमा अहिलेसम्म भएका निर्णयको समीक्षा गरी धारणा बनाउन उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव तयार गरिएको छ,’ प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने, ‘केन्द्रीय कमिटी बैठकले आयोगको टुंगो लगाएपछि राज्य पुन:संरचनाबारे एमालेको ठोस धारणा आउनेछ ।’
बैठकमा सदस्यहरूले राज्य पुन:संरचनालगायत विषयमा स्पष्ट धारणा दिन नसकेको र पार्टी अनि संसदीय कामको पनि कुशल नेतृत्व गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । उनीहरूले आलोचना गरेपछि समग्र पार्टी कामको समीक्षा गर्न कार्यदल बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय पनि बैठकले गरेको छ । बैठकमा सदस्य प्रदीपकुमार ज्ञवाली, खगराज अधिकारी, छविलाल विश्वकर्मा, रामचन्द्र झा, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताले बोलेका थिए । उनीहरूले राष्ट्रिय राजनीतिका मुख्य विवादित विषयमा पार्टीले समयमै ठोस दृष्टिकोण अगाडि सार्न नसक्दा अन्योल बढेको बताएका थिए ।
राज्य पुन:संरचनामा पार्टीको अडानप्रति असहमति राख्दै नयाँ पार्टी गठनको तयारीमा लागेको भनिएका उपाध्यक्ष राईसहित पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, विजय सुब्बा र रामचन्द्र झा पोलिटब्युरो बैठकमा सहभागी भएनन् । झाले भने शनिबारको बैठकमा सहभागी भएर पौने दुई घन्टासम्म आफ्नो धारणा राखेका थिए ।
‘म यो पार्टीमा लामो समयसम्म योगदान गरेर बसेको कार्यकर्ता हुँ, राज्य पुन:संरचनाका विषयमा पार्टीको भूमिका सन्तोषजनक भएन भनेका हाँै,ं पार्टी छाडेको अनावश्यक हल्लाको पछि लाग्नु जरुरी छैन’ बैठकपछि झाले सञ्चारकर्मीसँग भने, ‘चुडिन लागेको विश्वासको धागो जोड्नुपर्छ, विचारले पार्टी चलाउनुपर्छ भन्ने कुरा बैठकमा राखेको छु, मेरो कुरालाई वरिष्ठ नेताहरूले कसरी लिनुहुन्छ, हेरौंँ ।’
एमाले त्याग्ने र नयाँ पार्टी गठन गर्ने अभियानबारे सोधिएको प्रश्नमा झाले आफूहरू एमाले कार्यकर्ता भएको जवाफ दिए । ‘मैले आजकै बैठकमा पनि पौने २ घन्टासम्म आफ्नो कुरा राखेको छु, पार्टी छाडेको भए किन बैठकमा आएर कुरा राख्नुपथ्र्याे ?’ उनले भने, ‘बैठकमा के के कुरा राखेको भनेर नसोध्नुहोला यसले बन्दै गएको विश्वासको वातावरणलाई बिथोल्न सक्छ ।’

प्रतिक्रिया