आठ वर्षदेखि कान्तिको अक्सिजन प्लान्ट बन्द

काठमाडौं, २१ जेठ । एक मात्र सरकारी बाल अस्पताल कान्ति बाल अस्पतालमा आठ वर्षदेखि अक्सिजन प्लान्ट बन्द छ । अस्पतालको मूल भवन पछाडि रहेको अक्सिजन प्लान्ट मर्मतसम्भार नहुँदा अलपत्र परेको हो ।

पुरानो अक्सिजन प्लान्ट सञ्चालन गर्न अस्पताल व्यवस्थापन उदासीन देखिएपछि प्लान्ट बन्द भएको कर्मचारीले बताए । अस्पताल परिसरमै अक्सिजन प्लान्ट भए पनि अस्पतालका लागि आवश्यक पर्ने अक्सिजन बाहिरबाट किनेर काम चलाइँदै आएको छ ।
प्लान्ट बन्द भएदेखि नै दैनिक आवश्यक पर्ने ४० देखि ५० सिलिन्डर अक्सिजन बाहिरबाट किन्ने गरेको अस्पतालका निर्देशक डा. आरपी बिच्छाले बताए । उनका अनुसार अस्प्तालमै प्लान्ट भए पनि बन्द भएका कारण दैनिक अक्सिजनका खरिदका लागि २५ हजार रुपियाँको हाराहारीमा रकम बाहिरिने गरेको छ । अक्सिजनको मूल्य प्रतिसिलिन्डर करिब पाँच सय रुपियाँ छ ।
कान्ति अस्पतालमा सन १९८६ मा जापान सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । बजेट अभावका कारण मर्मतसम्भार हुन नसकेपछि ०६१ देखि प्लान्ट बन्द छ । प्लान्ट बन्द भएदेखि प्लान्टका लागि कुनै कार्य नगरेकाले प्लान्टमा भएका अन्य सामग्री पनि लामो समयसम्म नचलाउँदा बिग्रिसकेको निर्देशक बिच्छाले जानकारी दिए ।
‘मर्मतका लागि आवश्यक बजेट उपलब्ध गराइदिन अस्पतालबाट पटक पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरिएको छ,’ निर्देशक बिच्छाले भने, ‘तर देशकै पुरानो प्लान्ट बनाउन मन्त्रालयले चासो नदेखाएपछि प्लान्ट बन्द गर्नुपरेको हो ।’ उनले सरकारले बजेट उपलब्ध गराए प्लान्ट पुन: सञ्चालनमा आउने बताए ।
सुरुमा साधारण मर्मतसम्भार गरे पनि हुने मेसिन लामो समयसम्म नचलाउँदा खिया लाग्ने तथा अन्य कारणले अरु मेसिन पनि बिग्रँदै गएको कर्मचारीले बताए । प्लान्टको मेसिन बिग्रिएका कारण तीन वर्ष अघिसम्म परीक्षण गर्दा ६० प्रतिशत मात्र शुद्ध अक्सिजन फिल्टर गर्ने क्षमतामा रहेको थियो तर पछिल्लो समय मेसिनले त्यति परिमाणमा फिल्टर गर्न नसक्ने अवस्था रहेको निर्देशक बिच्छाले बताए । ६० प्रतिशत शुद्ध अक्सिजन बिरामीका स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकको भनाइ छ ।
अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन हुँदा अस्पतालले अन्य अस्पतालमा समेत अक्सिजन आपूर्ति गर्ने गरेको निर्देशक बिच्छाले जानकारी दिए । ‘पहिले यही प्लान्टबाट प्रसूतिगृह र प्रहरी अस्पतालमा अक्सिजन आपूर्ति गरिन्थ्यो’ उनले भने ‘अहिले हामीले नै बाहिरबाट अक्सिजन किन्नुपरेको छ ।’ उनले समयमा नै मर्मतसम्भार नगर्दा प्लान्टको मर्मत खर्च पनि बढ्दै गएको जानकारी दिए ।
‘सरकारले अक्सिजन प्लान्ट मर्मत सुधारका लागि चासो नदेखाएपछि मेसिन बिगँ्रदै गएकाले अब मर्मत खर्च नै महँगो हुने देखिन्छ’ उनले भने ‘यसको मर्मतका लागि हामीले बजेट माग गरेका छौँ, सरकारले बजेट दिए पुन: प्लान्ट सञ्चालनमा आउने छ ।’ उनले आगामी आर्थिक वर्षको बजेटमा प्लान्टका लागि बजेट आएमा अन्य अस्पतालमा समेत अक्सिजन वितरण गर्ने गरी योजना बनाइएको बताए ।

प्रतिक्रिया