नवीन सृष्टिको निर्माण

बाह्य सौन्दर्य वास्तवमै असली सौन्दर्य हुँदै होइन । जब भित्रको सौन्दर्य अमृतमय बन्यो, छचल्किएर बाहिर आयो, अनि पो पूरा शरीर आप्लावित हुने हो । भित्रको अमृत छचल्किएर बाहिर आउने क्रिया जब प्रारम्भ भयो अनि पो ऊ स्वयंमा सुगन्धित हुनजाने हो । ऊ जहाँ जान्छे त्यहाँ चारैतिर सुगन्ध व्याप्त हुने हो, देख्नेहरूलाई लाग्ने छ– यस्तो सुगन्ध त अहिलेसम्म महसुस नै गरिएको थिएन । यो न अत्तर हो, न केवडा । तर, यो न गुलाब हो न मोगरा । यो त एक अष्टगन्धजस्तो अद्भुत र अनिर्वचनीय सुगन्धको झोँका हो । यस्तो सुगन्धमा जसले सास फेर्‍यो भित्रको विष गल्दै जानेछ, अनि ऊ अमृतमय बन्दै जानेछ ।
पृथ्वी स्वयंमा शस्यश्यामला बन्यो भने त्यसको आधार स्त्री नै हुनेछन्, नारी नै हुनेछन्, सौन्दर्यवती नै हुनेछन् तर अमृतमय बन्नु पर्‍यो । क्रोधले, घृणाले, ईष्र्याले, जलनले अमृत पैदा हुन सक्तैन । अमृत पैदा गर्नका लागि स्वयंमा एक आलोडन–विलोडन हुनु, भित्रका सारा चक्र परिवर्तित हुनु आवश्यक छ, भित्र एक नवीन रासायनिक क्रिया गर्नु आवश्यक छ । यो रासायनिक क्रियाको प्रारम्भ आफैँ हुँदैन । किनभने, युवतीलाई यसको ज्ञान नै छैन, किनभने उसको शरीरमा जुन रगत छ, त्यो विषले भरिएको रगत हो । जुन विषपुत्र थियो, ऊ बाहिरबाट बडो सभ्य देखिन्थ्यो, संस्कृतिमय लाग्दथ्यो तर भित्र बहुत हलाहल भरिएको थियो । त्यो विषबाट त विष नै पैदा हुन्छ ।
यो जरुरी छैन– तिमी पुत्र पैदा गर्न योग्य रह्यौ वा रहिनौ । आवश्यक त यो हो, भित्रको विषलाई अमृतमा परिवर्तन गर्ने क्रिया आरम्भ गरियो कि गरिएन । प्रारम्भ गरेकै हो भने तिमीजस्तो देवदूत पनि कोही हुनेछैन, अप्सरा पनि तिम्रासामु तुच्छ ठहरिनेछ । ठूला–ठूला देवता पनि तिम्रो बन्दना गर्न लालायित हुनेछन्, तिम्रो चरणमा झुक्न तयार हुनेछन् । अनि पो तिमी सही अर्थमा सौन्दर्यमयी बन्न सक्ने छ्यौ, चेतनापुञ्ज बन्न सक्ने छ्यौ, सही अर्थमा एक देवी बन्नजाने छ्यौ । अनि पो गीत, गजल या सायरी तिमीमाथि सही ढंगले लागू हुन सक्नेछ ।
जब तिम्रो भित्रको विषय निस्किन्छ अनि काव्यधारा फुट्नेछ । सायरी निस्किनेछ, गजल निस्किनेछ, आँखामा अमृत बुँद छचल्किनेछ, तिम्रो अनुहारमा तेज–ओज आउनेछ । अथाह करुणा व्याप्त हुनेछ । समाजले के भन्ला भन्ने मतलब नै हुँदैन । पति या पुत्रले के भन्ला भन्ने कुनै चिन्ता रहँदैन । समाजजस्तो कुनै चिज नै छैन । समाजले के भन्छ ? समाजले दियो नै के ?
समाजले विष दियो । समाजले फुट पैदा गर्‍यो, लडाइँ–झगडा बढायो भय, आतंक अविश्वास पैदा गर्‍यो र सारा संसार यो विष यो जहर भ्रमसँग समाज जुधिरहेकै छ, एक अर्कालाई नीच देखाउन, समाप्त गर्न उद्यत रहेको छ । समाजमा चारैतिर हेर– फुट, लडाइँ–झगडा, तनाव एक–अर्कालाई समाप्त गर्ने खेलबाहेक अरू केही छैन । हिंसा छ, बलात्कार छ, अपहरण छ । धोका दिने प्रवृत्ति छ । विषबाहेक संसारमा केही नै छैन । दाजु–भाइमा काटाकाट छ, छोरी आमालाई गाली गर्न तयार हुन्छे, छोरा पितालाई तथानाम भन्न हच्किँदैन, पति–पत्नीको हालत त्यस्तै छ । आखिर यस्तो कहिलेसम्म चल्छ । केही समय चल्ला, केही समयपश्चात् यो पृथ्वी समाप्त हुन जानेछ । त्यसपछि बच्छ नै के ? बच्नेछ सिर्फ पाषाणको औजार, बाँकी बाँच्ने छ असभ्यता, असंस्कृति ।
एउटा सानो क्रोधले महाभारत युद्ध भयो, करोडौं मानिस मरे । नपुंसक के स्त्री सेवन गर्न सक्ला ? भन्ने सुर्पणखाको सानो शब्द नपुंसकले लक्ष्मण यति धेरै रिसाए– शूपर्णखाको नाक कान काटियो । यसबाट रामायणको रचना भयो, सीताको हरण हुनपुग्यो, एउटा संस्कृति मेटिन गयो । रावणसँग जो ज्ञान थियो त्यो समाप्त भयो । एउटै शब्दले कति धेरै विष फैलाउन सक्दोरहेछ तिमी आफैँ हेर, इतिहासबाट सबक सिक । यसर्थ, यस्तो हुन गयो– विषपुत्रले अमृतपुत्रलाई बुझेनन्, रामलाई बुझेनन्, बुद्धलाई बुझेनन्, कृष्णलाई बुझेनन् महावीरलाई बुझेनन् । तिनले सुकरातलाई बुझेनन्, ईशालाई बुझेनन् । तिनले गान्धीलाई बुझेनन्, मोहम्मदलाई बुझेनन् र बुझ्ने पनि छैनन् ।
त्यतिबेला थाहा हुनेछ जब तिम्रासामु यस्ता व्यक्ति हुनेछन् जो अमृतपुत्र हुन् । तिम्राअगाडि उभिनेछन्, तिमी समान हुनेछन्, तिमीसँगै बसेर क्षमता प्राप्त गर्न सक्नेछौ । देखिँदा तिमीजस्तै हो तर रूपमा अमृतले भरिएको प्याला हुनेछन् । उनीबाट निरन्तर अमृत प्रवाहित हुनेछ । त्यो अमृतले तिम्रो विषलाई अमृतमा बदल्ने क्रिया गर्नेछन् ।
यो नै यस्तो क्षण हो हामीले आफैँलाई चिनौँ हामी एक–एक क्षणलाई याद गरौँ । हाम्रो पाइला नथामियोस्, हाम्रो खुट्टामा बेडी नहोस्, हामी समाजबाट भयभीत हुनु नपरोस्, डर नहोस् । हामी– ती युगपुरुषलाई चिनौँ, उनीकहाँ जाऊँ । उनका साथमा बसौँ– संसारको बन्धन तोडेर, समाजको जन्जिर तोडर, आफैँ पौरुषवान् बनेर आफैँ ताकतवान् बनेर । हामी पुरुष हौँ या स्त्री–यो त शब्द मात्र हो । पौरुष दुवैमा एकैजस्तो हुन्छ, क्षमता दुवैमा उस्तै हुन्छ, सिर्जना दुवैमा उस्तै हुन्छ । त्यसैले नामले केही हुने होइन ।
तिमीसँग अगाडि बढ्ने क्षमता कस्तो छ, जुझारु बन्ने तागत कत्तिको छ । तिमीसँग कत्तिको क्षमता छ– दौडेर अमृतपुत्रलाई भेट्ने, उनीसँग एकाकार हुन सक्ने, अमृतको सरोवरमा स्नान गर्ने । आफू स्वयंमा पूर्ण बनेर यो युग, यो विश्व जुन बचेको छ, जसमा उनान्सय प्रतिशत विष छ । त्यसलाई बदलेर सतप्रतिशत अमृतमय बनाउन सकियोस् यो काम तिम्रो हो । तिमीले गर्नैपर्ने हो, तब मात्रै नवीन सृष्टिको निर्माण हुनेछ, तब मात्रै सही अर्थमा तिमी इतिहास पुरुष बन्नेछौ । इतिहासमा सुनौला अक्षरले नाम अंकित हुनेछ ।
अनुवाद–शिव ढकाल
(निखिलमन्त्र विज्ञान पत्रिकाबाट)

प्रतिक्रिया