साठी वर्षको आत्मसमीक्षा


रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हरि अधिकारीको ‘६० वर्षपछि’लाई लेखक स्वयंले संस्मरणात्मक निबन्ध संग्रह भनेका छन् । फुटकर रूपमा दैनिक तथा साप्ताहिक पत्रिकामा प्रकाशित उनका लेखहरूको सँगालोलाई कृतिको रूप दिइएको प्रस्तुत संग्रहमा साहित्यिक, राजनीतिक एवं पत्रकारिताका क्षेत्रमा आफ्नो पहिचान बनाएका व्यक्तित्वसँगको कविको उठबसका साथै कैयन रोचक तथ्यको खोलुवा निबन्धकारले गरेका छन् । वर्षको अन्त्यमा साहित्यिक क्षेत्रका विविध पाटामा देखापरेका आरोह–अवरोहको लेखा राख्ने कामको सुरुवात गरेको आलेख ‘साहित्यमा २०११’ लगायत २४ वटा निबन्धात्मक संस्मरण रहेको ‘६० वर्षपछि’ ले हरि अधिकारीलाई चिहाउने आँखीझ्यालको काम गरेको छ ।
यस कृतिका निबन्धले हामीले श्रद्धा गरेका वा जान्न चाहेका व्यक्तित्वका अनेक पाटा प्रस्तुत गरेका छन् । निबन्धकारले आफ्नो पुख्र्यौली थलोको शैक्षिक इतिहासलाई प्रस्तुत गर्दा होस् वा किसुनजीले भोगेका अप्ठ्यारा परिस्थितिको बयान गर्दा पाठकलाई शब्दका तुइन चढाएर तिनै तिथिमितिमा पुर्‍याउने प्रयास गरेका छन् । भाषा व्याकरणको राम्रो ज्ञान र पत्रकारिताको लामो अनुभवले उनका संस्मरणात्मक निबन्धहरू चुस्त देखिन्छन् । भुटानी शरणार्थीको पुनर्वासको समसामयिक घटनादेखि लिएर हुआ कार्लोसको अभिनन्दनका ती विगतका काला दिनहरूमा उनी त्यत्तिकै रफ्तारले आफ्ना निबन्धमा अगाडि बढेका छन् । साहित्यमा चाख राख्ने हुन् या राजनीतिमा, उनका पक्षका विचारधारा वा दर्शन बोकेका हुन् वा विपक्षका सबैलाई उनका निबन्ध उत्तिकै ध्यान आकृष्ट गर्न सक्षम छन् ।
उनका फरकफरक संस्मरणले जीवनका फरकफरक कोण समातेका छन् । लेखनका सुरुवातका दिनका स्वप्नील संसार र नछापिँदाका पीडालाई उनको ‘मधुपर्कसँग गाँसिएका सम्झनाहरू’ ले राम्रोसँग समेटेको छ । अझै पनि राम्रो लेख्नेहरू पछाडि परेका छन् र ‘साटफेर प्रथाले’ सेलिब्रिटी बनेकाहरूको बोलवाला छ हाम्रो साहित्यमा । त्यस्तै समीक्षामा भुत्तेपनलाई त्याग्दा परेका अप्ठ्यारा र खप्नुपरेका आलोचना उनको ‘समीक्षकको प्रस्टीकरण’ मा व्यक्त भएको छ । फरक–फरक समयमा छापिएकाले होला, कुनैकुनै संस्मरणका प्रसंगहरू भने दुई तीनवटामा दोहोरिएका देखिन्छन् । ‘अक्षरहरूको सागरमा चुर्लुम्म’ पढ्दा भने लेखकले अहिलेसम्म पढेका पुस्तकका नालीबेली दिएर के इङ्गित गर्न खोजेका हुन् भनी पाठक अलमलमा पर्न सक्छन् । त्यस्तै लेखकको नेपाली भाषासँग लामो नजिकको नाताका कारण ‘दबंग’ ‘स्पिरिट’ जस्ता शब्द प्रयोग नगरिदिएका भए पनि हुने भनी पाठक नभनी रहन सक्दैन ।
कुनै पनि व्यक्तिको संस्मरण पढ्दा निश्चय नै त्यस व्यक्तिको जीवन र जगत्लाई हेर्ने दृष्टिकोण र ऊ बाँचिरहेको दर्शन उसका कृतिमा पाइन्छ । उसको हाँसो, आँसु, सरोकार, स्वीकृति र अस्वीकृति यिनै विविध मानवीय गुणका तुलोमा लेखकले आफ्नो परिवेशलाई जोखिरहेको हुन्छ । यिनै नाप–तौल, यिनै हिसाबकिताब अधिकारीको पहिलो निबन्ध ‘छापामार युवतीसँग एकछिन’ मा देखिन्छ । उँघा उपशिविरमा समायोजन र व्यवस्थापन कुरिरहेकी एक युवतीको उदास मनोदशा चित्रित गर्दै महान् जनक्रान्तिको भ्रूणपतनको घोषणा उनले गरिदिएका छन् । यहाँ आएर पाठकले लेखकसँग सहमति पनि राख्न सक्छ विमति पनि राख्न सक्छ । त्यस्तै उनको अर्को संस्मरण ‘सरल मानिस जटिल कवि’ मा उनले नेपाली कविताको वर्तमान काव्य परम्पराको मूलधार ‘मोहन कोइराला स्कुल’ भनेर किटेका छन् । यस्ता अनेक उदाहरण हामी हरि अधिकारीको ‘६० वर्षपछि’ मा पाउन सक्छौँ ।
आफ्ना अनुभव, संसर्ग र जीवनलाई बाँच्ने क्रममा भेटिएका मानिस र परिस्थितिको सामना गर्दा उत्पन्न हुने विचारको भंmकारले भरिएका संस्मरणात्मक निबन्धहरूको सँगालो हो– ‘६० वर्षपछि’ । सायद निबन्धकारले साठीऔँ वसन्त पार गरेको सन्दर्भ र उनले यो उमेर पार गर्दाका अनुभवलाई समेटिएकाले कृतिको नाम ६० वर्षपछि राखिएको होला । नेपाली साहित्यका विविध रंग र गन्ध हेर्न सुँघ्न चाहने साहित्यानुरागी र हरि अधिकारीको ‘तित्राको मुखै बैरी’ लेखन पढेकाहरूले छिद्रान्वेषी भई उनका कमी औँल्याउन पनि पढ्नै पर्ने कृति हो– ‘६० वर्षपछि’ ।

प्रतिक्रिया