बाजुरामा घर भत्किदा पाँचको मृत्यु


कैलाली, १९ जेठ । बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा हावाहुरीसँगै आएको पानीले घर भत्किदा तीन बालबालिका सहित पाँच जनाको मृत्यु भएको छ ।
बिहीबार राति अत्यधिक गतीमा आएको हावाहुरीसँगै परेको पानीले घर भत्किएर बाँधु–९, पिपलडाडीमा पाँच जनाको मृत्यु भएको हो । घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।
घर भत्केर मृत्यु हुनेहरुमा ६० बर्षीया सुकीली सार्की, उनकी १४ बर्षीया नातिनी करिश्मा सार्की, सोही ठाँउ बस्ने दत्त कार्कीको १२ बर्षीय छोरा लोकराज कार्की, प्रल्हाद लोहारको ३ बर्षीय छोरा दीपेन्द्र लोहार र ८४ बर्षीय रण बहादुर कार्की रहेका छन् ।
चारै जनाको हावाहुरीसँगै आएको पानीले घरमा पहिरो जाँदा च्यापिएर मृत्यु भएको हो ।
हावाहुरीले घरको छाना उडाउनुका साथै भल पसेपछि पहिरोले दर्जनौं घरहरु पुरेको छ ।
हावाहुरी र पहिरोका कारण दत्त कार्कीकी ३५ वर्षीया पत्नी रेउकला, छोरी झरना, धर्मा र सोही ठाउँका ४० वर्षीय वीरबहादुर सार्की गम्भीर घाइते भएका छन् । उनीहरुको कोल्टीमा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लगिएको बाजुरा जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक बहादुरजंग मल्लले बताए ।
सो स्थान सदरमुकाम मार्तडीबाट डेढ दिनको पैदल दूरीमा पर्छ । उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेना त्यस तर्फ पुगिसकेको छ ।
हावाहुरीसँगै आएको पानीले बाँधु र कोल्टीका ३७ घरपरिवारका दुईसय बढी बिस्थापित भएका छन् । बिस्थापितहरुलाई गाउँ नजिकैको जनप्रकाश उच्च माविमा राखिएको मल्लले जानकारी दिए ।
हावाहुरी र पानीको भलसँगै आएको बाढीले कोल्टी बिमानस्थल तथा बजारका घरमा क्षती पुराएको छ । अत्याधिक बेगमा आएको हावाहुरी र पानीले बाजुराका ११ गाविसमा ठूलो क्षति पुराएको छ ।
मृत्तकका परिवारलाई राहत स्वरुप जनही २५ हजार र बिस्थापित परिवारलाई प्रति परिवार नगद पाँच हजार, लत्ताकपडा, खाद्यान्न लगायत आवश्यक औषधोपचारको ब्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया