रोकिएन शिशु फाल्ने क्रम

विराटनगर, १९ जेठ । मोरङमा अवैध सम्बन्धबाट जन्मिएका, अपांगता भएका र बिरामी परेका नवजात शिशु फाल्ने क्रम बढेको प्रहरीले जनाएको छ ।

डाँगिहाट–४ मा हालैमात्र प्रहरीले बेवारिसे अवस्थामा शिशु फेला पारेको छ । जेब्रा झोलामा हालेर फालिएको अवस्थामा एक शिशु जिउँदै पाइएपछि कोसी अञ्चल अस्पतालमा उपचार गराइएको छ । शिशुको टाउको ‘अत्यन्त’ ठूलो छ । चिकित्सकका अनुसार बच्चाको शरीरभन्दा टाउको तीनगुना बढी बढ्ने गरेको छ । यस्तै, अञ्चल अस्पतालकै पोषण वार्डमा दुवै हात र खुट्टा अपांगता भएकी एक बालिका ६ महिनादेखि उपचारमा छिन् । खुसी नाम राखिएकी ती बालिका पनि जन्मनासाथ फालिएको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले फेला पारेर अस्पतालमा ल्याउँदा बच्चा जीवित पाइएपछि पोषण वार्डमा राखेर उपचार गराइएको नर्स बबिता खड्काले बताइन् ।
गत ३० वैशाखमा मोरङकै याङ्शिलामा पनि सडेगलेको अवस्थामा फालिएको शिशु फेला परेको थियो । याङ्शिला–४ की एक महिलाले पति विदेश गएपछि अवैध सम्बन्धबाट जन्मिएको शिशु फालेकी थिइन् । सडेगलेको अवस्थामा बाँसको झ्याङबाट बेलबारी प्रहरीले शिशुको शव फेला पारेको थियो । दुई महिनाअघि लेटाङमा पनि एक महिला नवजात शिशु फालेको अरोपमा पक्राउ परेकी थिइन् । उनले जन्माएको शिशु सुनसरीको तरहराका एक दम्पतीले धर्मपुत्र बनाएर पाल्न लगेका छन् भने उनी सुधारगृहमा छिन् । चार महिनाअघि विराटनगर–५ की एक युवतीले हाडनाता सम्बन्धबाट जन्मिएको शिशु फालेको सार्वजनिक भएपछि उनले आत्महत्या गरेकी थिइन् ।
प्रहरीका अनुसार जिल्लामा महिनामा दुईवटा बच्चा फालिएको घटना सार्वजनिक हुने गरेका छन् । तीमध्ये केही जिउँदै फेला परेका छन् भने जन्मँदै मरेका वा जन्मेपछि मारेर फाल्ने गरेको पनि पाइएको छ । वैदेशिक रोजगारी, करणी, हाडनाता तथा यौन व्यवसायका कारण बच्चा जन्माएर फाल्ने गरेको पाइएको डिएसपी उमाप्रसाद चतुर्वेदी बताउँछन् । परिवार नियोजन सेवा र गर्भपतन सेवाबारे जानकारी नहुँदा गर्भधारण भई उनीहरूले बच्चा फाल्ने गरेको पाइएको छ ।

प्रतिक्रिया