दाहालले राजीनामा नदिए पार्टी फोर्ने वैद्य समूहको निर्णय

काठमाडौं, १९ जेठ । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष मोहन वैद्य समूहले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा. बाबुराम भट्टराईको राजीनामा मागेको छ ।

राजीनामा नआए पार्टी विभाजन गर्ने निर्णय सो समूहको बैठकले गरेको छ ।
उपाध्यक्ष वैद्यले बिहीबार नै दाहाललाई भेटेर ‘सँगै बस्न नसकिने अवस्था आएको’ जानकारी दिएका छन् । स्रोतका अनुसार जवाफमा अध्यक्ष दाहालले ‘साथीहरुसित सल्लाह गर्ने’ बताए । ‘तपार्इंले पार्टीको विचार त्याग्नुभयो, कार्यशैली पूरै परिवर्तन गर्नुभयो, आर्थिकरुपमा पारदर्शी कहिल्यै बन्नुभएन, जीवनशैली कम्युनिस्टको राख्नुभएन, यस्तो अवस्थामा हामी कसरी सँंगै बस्न सक्छौ ?’ स्रोतका अनुसार वैद्यले अध्यक्ष दाहालसित प्रश्न गरेका थिए ।
जवाफमा अध्यक्ष दाहालले स्थिति जटिल बन्दै गएको भन्दै पार्टी विभाजन नगर्न अनुरोध गरेका थिए । ‘म पार्टी एकताबद्ध बनाउन लागिपर्छु, विगतमा भएका कमीकमजोरी अब दोहरिन्नन्, तपार्इंले पनि सहयोग गर्नुपर्छ,’ स्रोतका अनुसार अध्यक्ष दाहालले वैद्यसित भनेका थिए । वैद्यले भने अध्यक्ष पदबाट राजिनामा दिए मात्रै पार्टी एकता हुनसक्ने जवाफ दाहाललाई दिएका छन् ।
वैद्य समुहको बैठकले संविधानसभा विघटन हुनामा मुख्य दोषी अध्यक्ष दाहाल र प्रधानमन्त्री डा भट्टराई भएको ठहर गरेको छ । बैठकमा वैद्य पक्षधर केन्द्रीय सदस्य सहभागी थिए । कांग्रेस र एमाले नयाँ संविधान निर्माण नहुनामा सहायक शक्ति मात्रै भएको निष्कर्ष वैठकले निकालेको छ ।
संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको संयोजक अध्यक्ष दाहाल रहेको, संविधानसभामा सबैभन्दा ठूलो दल एमाओवादी रहेको र सरकारको नेतृत्व पनि पार्टी उपाध्यक्ष डा भट्टराईले गरेको अवस्थामा जनताको चाहना विपरीत संविधानसभा विघटन हुनामा पार्टी नेतृत्वको कमजोरी रहेको वैद्य समूहको ठहर छ । ‘संविधानसभा विघटन हुनामा अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराई प्रमुख दोषी हुन्, कांग्रेस र एमालेले पनि त्यसका कारक हुन् भन्ने हाम्रो निष्कर्ष हो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सौर्यसित भने ।
अध्यक्ष दाहालले केन्द्रीय समितिले पारित गरेको कार्यदिशा छाडी प्रधानमन्त्री डा भट्टराईको कार्यदिशामा लागेर पार्टीलाई असफल बनाएको ठहर पनि वैद्य पक्षले गरेको छ । पार्टी एकताका लागि दुवैजनाले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने सो समुहको सर्त छ । ‘उहाँहरुले आफुमात्रै होईन, पार्टीलाई समेत असफल बनाउनुभएको छ । नैतिकताका आधारमा उहाँहरुले राजिनामा दिनुपर्छ भन्ने हाम्रो भनाइ हो’, बैठकपछि पोलिटब्युरो सदस्य पम्फा भुसालले भनिन् ।
उता, संस्थापन पक्षले बिहीबार बोलाएको केन्द्रीय समिति बैठक स्थगन भएको छ । वैद्य समूहका सदस्य अनुपस्थित हुने भएपछि बैठक स्थगन भएको हो ।

प्रतिक्रिया