बैद्य पक्षको भेला जेठ–२५ गते

काठमाडौं, १८ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न आज बस्ने भनिएको एमाओवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
वरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधर केन्द्रीय सदस्यहरु अनुपस्थित हुने भएपछि बैठक प्रभावित भएको स्रोतले जनाएको छ । संविधानसभाको विघटनसँगै नयाँ निर्वाचनमा जाने विषयमा कांग्रेस/एमाले लगायतका दलले विरोध गरेपछि रणनीति बनाउन एमाओवादीले केन्द्रीय समिति बैठक बोलाएको थियो ।
बैठक शुक्रबार बस्ने केन्द्रीय सदस्य शक्ति बस्नेतले जानकारी दिए । यस अघि पनि एमाओवादीको केन्द्रीय समिति बैठकहरु प्रभावित हुँदै आएका थिए ।
उता, एमाओवादीका वरिष्ठ उपाध्यक्ष वैद्य पक्षले पार्टी एकताको विषय क्षीण हुँदै गएको भन्दै नयाँ पार्टीको तयारीका लागि जेठ–२५ गते राष्ट्रिय भेला बोलाएको छ । भेलाको निर्णय अनुसार अघि बढ्ने पोलिटब्युरो सदस्य पम्फा भुषालले जानकारी दिईन ।
कुपण्डोलस्थित सम्पर्क कार्यालयमा बसेको बैद्य पक्षको केन्द्रीय समिति बैठकले भेला बोलाएर नयाँ पार्टीका लागि तयारीगर्ने निष्कर्ष निकालेको हो । शान्ति र संविधानको योजनामा असफल रहेको जनाएको बैद्य समूहले संस्थापन पक्ष विरुद्ध संघर्ष गर्दै आएको छ ।

प्रतिक्रिया