सरकार विरुद्ध कांग्रेस/एमालेले संघर्ष गर्ने

काठमाडौं, १८ जेठ । कांग्रेस र एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभाको आयू छदै अवैधानिक रुपमा नयाँ निर्वाचनको घोषणा गरेको निष्कर्ष सहित साना दलहरुसँग मिलेर संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेका छन् ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीवारीस्थित निवासमा आज भएको दुई दलका प्रमुख नेताहरुको बैठकमा अन्य साना दलहरुसँग परामर्श गरी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै पोखरेलले भने, ‘प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं ।’ उनले शुक्रबार बस्ने कांग्रेस/एमाले सहित बाँकी रहेका साना दलहरुको बैठकले संघर्षका कार्यक्रम तय गरी मुलुकभरी आन्दोलन चलाउने बताए ।
कांग्रेस महामन्त्री सिंहले संविधानसभाको आयू बाँकी हुँदै नयाँ निर्वाचनको घोषणा गर्ने कार्य असंवैधानिक रहेको बताए । उनले भने, ‘राजनीतिक दलहरुसँग कुनैपनि परामर्श नगरेर एकलौटी रुपमा निर्वाचन घोषणा गर्ने कार्य सबै असंवैधानिक छ ।’
उनले कांग्रेस/एमाले गठबन्धनमा रहेका साना दलहरुसँग समेत छलफल गरेर असंवैधानिक दकम विरुद्ध संघर्ष गर्ने बताए । उनले भने, ‘हामीसँग आबद्ध साना दल र गठन्धनमा आउन चाहने अरु दलहरुलाई पनि समेटेर असंवैधानिक कदम विरुद्ध संघर्ष गर्ने निर्णय भएको छ ।’
प्रधानमन्त्री भट्टराईको असंवैधानिक कदम विरुद्ध संघर्षका कार्यक्रम तयार गर्न शुक्रबार विहान आठ बजे एमाले पार्टी मुख्यालय बल्खुमा कांग्रेस/एमाले गठन्धन आवद्ध दलहरुको बैठक बस्ने छ ।
संविधान–सभा विघटन पछिको अवस्था र समसामयिक राजनीतिक विषयमा कांग्रेस र एमालेका प्रमुख नेताहरुले आन्तरिक छलफल गरेका हुन् ।
बैठकमा कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा एमाले वरिष्ठ नेता केपी ओली र महासचिव इश्वर पोखरेलको सहभागिता रहेको थियो ।
एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल भने छलफलमा आउनु भएको थिएन । त्यस बारेमा एमाले महासचिव पोखरेलले केही बताएनन् ।

प्रतिक्रिया