फाइल प्राधिकरणबाटै गायब

काठमाडौं, १८ जेठ । बारास्थित त्रिवेणी स्पिनिङ मिल्सबाट विद्युत् चोरीसम्बन्धी फाइल नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट गायब भएको छ । त्रिवेणी स्पिनिङले प्राधिकरणकै कर्मचारीको मिलेमतोमा बिलिङ सिस्टम बिगारी १० वर्षको अवधिमा ६ करोड १९ लाख ९२ हजार रुपियाँको विद्युत् चोरेको विषयमा तयार पारिएको फाइल गायब भएको हो ।
गत भदौमा प्राधिकरणको चुहावट महाशाखाको टोलीले वीरगन्ज वितरण केन्द्रका कर्मचारीको मिलेमतोमा ५ एम्पिएर घटाएर विद्युत् चुहावट गरेको फेला पारेको थियो । त्यसपछि प्राधिकरण सञ्चालक समितिका सदस्य विश्वप्रकाश गौतमको संयोजकत्वमा रहेको चुहावट पुनरावलोकन समितिले तत्कालीन वीरगन्ज वितरण प्रमुख शेखर दत्त र इन्जिनियर सन्तोषकुमार जैसवाललाई कारबाहीको सिफारिस गरेको थियो । गत मंसिरमा कारबाहीको सिफारिस गरिए पनि अहिलेसम्म न कर्मचारीलाई कारबाही भएको छ न त
त्रिवेणी स्पिनिङबाट चोरी भएको विद्युत् बक्यौता उठाइएको छ ।
प्राधिकरण स्रोतका अनुसार पुनरावलोकन समितिले समेत आर्थिक प्रलोभनमा परेर तीन करोड रुपियाँ छुट दिने विवादास्पद निर्णय गरेको थियो । गत ७ चैतमा गोसाईं केसी समितिको सदस्यसचिव भएर आएपछि विद्युत् चोरीसम्बन्धी फाइल खोज्दा नभेटिएको स्रोतको भनाइ छ । फाइल नभेटिएपछि गोसार्इंले निमित्त कार्यकारी निर्देशक टीकाराम बिसीलाई यसबारे जानकारी गराएकी थिइन् । केसीले फाइल नभएको बताए पनि यसबारे थप खुलाउन चाहिनन् । केसीले तीन करोड रकम छुट दिने निर्णय उल्ट्याएर ६ करोड १५ लाख ९२ हजार नै तिर्नुपर्ने निर्णय गरेकी छन् ।
स्रोतका अनुसार संयोजक गौतम र तत्कालीन सदस्यसचिव गोविन्दराज खरेलले आर्थिक प्रलोभनमा परी फाइल लुकाएका हुन् । उनीहरूले विद्युत् चोरीबापत उक्त उद्योगले बुझाउनुपर्ने रकममध्ये तीन करोड मात्र लिएर अरू छुट दिने निर्णय गरेका थिए । तर, प्राधिकरणका कर्मचारी संघसंगठनले विरोध गरेपछि फाइल गायब बनाइएको स्रोतको दाबी छ ।
‘विद्युत् चोरी गर्ने ठूलो उद्योगबाट आर्थिक प्रलोभनमा परेर फाइल लुकाइएको छ, तीन करोड मात्र उद्योगबाट लिएर बाँकी रकम खाने योजना रहेछ,’ कर्मचारी संगठनका एक प्रतिनिधिले भने, ‘हामीले विरोध गरेपछि फाइल नै लुकाइयो ।’ फाइल गायब भएको विषयमा प्राधिकरण प्रमुखले पनि बेवास्ता गरेको
उनले बताए ।
संयोजक गौतमले भने मिलेमतो नभएको दाबी गर्दै फाइल गायब भएको विषयमा कर्मचारीलाई मात्र थाहा हुने बताए । ‘सञ्चालकलाई फाइलबारे थाहा हुने कुरा भएन, हामीले चुहावट गर्ने मिल्सलाई कारबाहीका लागि स्पष्ट निर्णय गरेका छाँै,’ उनले भने, ‘त्यो निर्णय महाप्रबन्धक, क्षेत्रीय निर्देशकदेखि सबै ठाउँमा पुगेको छ ।’
कारबाहीका लागि सिफारिस गरिएका दत्त अहिले केन्द्रीय कार्यालयमा छन् भने जैसवाल झापाको वितरण केन्द्रमा छन् । कारबाही सिफारिस गरिएको ६ महिना बिते पनि उनीहरूमाथि कारबाही हुन सकेको छैन ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक बिसीले उक्त फाइल हराएको स्विकारे । ‘सक्कली फाइल हराए पनि फोटोकपी छ,’ उनले भने, ‘त्यसको आवश्यक छानबिन गरिरहेका छौँ र कारबाहीका लागि सम्बन्धित कर्मचारीसँग स्पष्टीकरण लिएका छौँ ।’
ऊर्जासचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हरिराम कोइरालाले फाइल हराएको विषयमा आफूले बोर्ड बैठकमा कुरा राख्ने बताए । ‘फाइल नै हराएको सुन्दा आश्चर्य लागेको छ,’ उनले भने, ‘बोर्ड बैठकमा कुरा राखेर कारबाही प्रक्रिया अगाडि बढाउँछु ।’
विद्युत् चुहावट महाशाखा प्रमुख दीपक आचार्यले आफूहरूले विद्युत् बिल हराएको भेट्टाएपछि सो बेहोराको फाइल प्राधिकरणमा दिएको जानकारी दिँदै त्यसपछिका कारबाहीबारे आफू अनभिज्ञ रहेको बताए । उनका अनुसार ०५८ देखि गत भदौसम्म बिलिङ सिस्टम बिगारी चुहावट भएको थियो ।
चोरी प्रमाणित भएपछि उक्त उद्योगले पनि किस्ताबन्दीमा रकम तिर्ने बताएको थियो । तर, पछि पुनरावलोकन समितिका पदाधिकारीसँगको भेटपछि फाइल नै गायब गरिएको स्रोतको दाबी छ । वीरगन्ज वितरण केन्द्रका हाल प्रमुख त्रिपुरारीप्रसाद सिंहले अहिलेसम्म उद्योगले सो रकम नतिरेको बताए । ‘ठूलो रकम भएकाले फाइल केन्द्रमा पठाइएको छ, माथि नै कुराकानी भइरहेको छ,’ उनले भने ।
उद्योगले मुद्दा हाल्ने र मुद्दा अघि बढ्दा सक्कल फाइलविना प्राधिकरणले जित्न नसक्ने भएकाले फाइल नै गायब गरिएको हुन सक्ने एक कर्मचारी बताउँछन् । ‘चुहावटपछि सम्बन्धित उद्योगभित्र पर्ने मुद्दालाई कमजोर बनाउन कर्मचारी नै धेरै कागजपत्र गायब बनाउँछन्,’ उनले भने ।

प्रतिक्रिया