एमाले नेता पासाङले पनि पार्टी छाडे

काठमाडौं, १७ जेठ । नेकपा (एमाले) केन्द्रीय विदेश विभाग सदस्य एवं निवर्तमान सभासद पासाङ शेर्पाले आज आफ्नो पदबाट राजीनामा बुझाएका छन् ।
उनले एमालेको मेची अञ्चल सम्पर्क कमिटी मार्फत केन्द्रमा राजीनामा पत्र बुझाएको जारी विज्ञप्तीमा उल्लेख छ ।
एमाले आदिवासी जनजातिको पक्षमा नउभिएको आरोप लगाउदै शेर्पाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । उनले जेठ–१५ गते नै पार्टी छाड्ने चेतावनी दिएका थिए ।
संविधानसभा विघटन हुनुमा एमाले प्रमुख दोषी भएको आरोप लगाएका शेर्पाले जातीय पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान ल्याउनमा पार्टीले अवरोध पुराएको दाबी गरेका छन् । उनले सोही कारण आफूले पार्टी परित्याग गरेको बताएका छन् ।
उनले भने, ‘अब एमाले पार्टी चित्रबहादुर के.सी. को नेतृत्वको राष्ट्रिय जनमोर्चा र कमल थापाले नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तै भएको छ ।’
एमाले छाडे पनि नयाँ पार्टी गठन नगर्ने बताएका छन् । आदिवासी जनजातिहरु एक हुनुपर्ने भएको भन्दै शेर्पाले राष्ट्रिय खालको मोर्चा निर्माणमा लाग्ने उल्लेख गरेका छन् ।
बिभिन्न एनजिओ र आईएनजिओमा संलग्न शेर्पा आदिवासी जनजाति महासंघको अध्यक्ष समेत भईसकेका छन् ।

प्रतिक्रिया