दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

कैलाली, १७ जेठ । डोटीको साजघाटबाट सिलगढी आउँदै गरेको जीप आज दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
ना १ ज ३२६१ नम्बरको यात्रुबाहक जीप दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको डोटी प्रमुख नायव उपरीक्षक भरत बोहराले जानकारी दिए । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् ।
खिरसैन–३, सिरमा भन्ने स्थानमा भएको दुर्घटनामा मृत्यु हुने सबै जना डोटीका हुन् । मृत्यु हुनेमा खिरसैन–९, की ३८ वर्षीया भागरती ऐर, काडामाण्डौकी २ वर्षीया रिहा बोगटी र ३५ वर्षीय ज्ञानु बिष्ट, गैरागाउँकी ३५ वर्षीया गौरीदेबी खड्का, ३५ वर्षीय खिनुदेबी बोहरा, खेम बोहरा र चार वर्षीय तुलसी बोहरा रहेका छन् ।
त्यसै गरेर बगलेककी जुनु बिष्ट, टेकबहादुर ठकुल्ला, गाजरीकी पाटरी भण्डारी, खिरसैनकी २८ वर्षीया तुलसी बिक र एक सनाखत हुन नसकेका बालक रहेका छन् । नाम खुल्न नसकेका बालकलाई खप्तड मेलाको दर्शन गर्न आएको नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो ।
सात जनाको घटनास्थल र अन्यको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यात्रु र सामानले खचाखच भएको जीप सडकबाट करिब पाँच सय मिटर तल खोंचमा खसेको थियो ।
जीपमा क्षमता भन्दा बढि यात्रु र सामान रहेकाले चालकले नियन्त्रण गर्न नसके पछि दुर्घटना भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

प्रतिक्रिया