कार्यान्वयन रोक्न पालैपालो मुद्दा

काठमाडौं, १७ जेठ । उत्पादक कम्पनीहरूले नै चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल र प्याकेजिङका ७५ प्रतिशत भागमा डरलाग्दा र आङ सिरिङ्ग हुने चित्र राख्ने नियम कार्यान्वयनमा नल्याउन दबाब दिएका छन् ।
सरकारले १८ कात्तिकदेखि लागु हुने गरी सेवनबाट हुने घातक असरबारे चेतावनीमूलक रंगीन चित्रसहितको सन्देश राख्नुपर्ने ऐन ल्याएको थियो । तर, चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीले ऐनमा भएको व्यवस्था कार्यान्वयनमा नल्याउन एकपछि अर्को गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् र ऐन लागु गर्न बाधा पुर्‍याइरहेका छन् । अदातलतमा कम्पनीले पालैपालो मुद्दा दायर गर्दा ऐन लागु भएको सात महिना बित्दा पनि सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक सन्देश र चित्र छापिन सकेको छैन ।
ऐन कार्यान्वयनमा नल्याउन अदालतमा मुद्दा हाल्नेहरूमा सूर्य टोबाको प्रालि, गोर्खा लहरी, अरविन्द बिँडी फ्याक्ट्री, सेती चुरोट कारखाना, श्रेष्ठ बिँडी फ्याक्ट्री, मीरा बिँडी उद्योग, अनुष्का प्रोडक्ट प्रालि र क्षेत्रपाल स्टोर रहेका छन् । कम्पनीहरूले ऐन लागु भएपछि विभिन्न मितिमा पालैपालो ऐनको प्रभावकारितालाई निष्प्रभावी बनाउन मुद्दा हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन शाखाका उपसचिव कोमलप्रसाद आचार्यले बताए । उनका अनुसार कात्तिकदेखि वैशाखसम्म अदालतको फैसला आउने समय पारेर विभिन्न कम्पनीले मुद्दा हालेर ऐनको मुद्दा लम्ब्याउने काम गरेका छन् ।
ऐनले चेतावनीमूलक चित्रसहितको सन्देश नभएका चुरोट तथा सुर्तीजन्य पदार्थ नेपालभर बिक्री गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्रालयले ‘सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका–२०६८’ समेत ल्याएको छ । तर, सुर्तीजन्य पदार्थ उत्पादक कम्पनी तथा आयात गर्ने व्यापारीले मिलेमतोमा नै चेतावनीमूलक चित्र राख्दा व्यापार घट्ने भयले पालैपालो मुद्दा हालेर ऐन निष्प्रभावी बनाउन क्रियाशील भएको मन्त्रालय स्रोतले बतायो ।
ऐनको दफा–९ को उपदफा (१) मा १८ कात्तिक शुक्रबारदेखि कसैले पनि चेतावनीमूलक सन्देश र चित्र नभएका सुर्तीजन्य पदार्थ उत्पादन, बिक्री, वितरण र खरिद गर्न नपाउने व्यवस्था छ । ‘ऐनविपरीत बजारमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइएमा कारबाही हुनेछ भनेर ऐनमा भनिएको छ,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘तर, ऐनमा भएको व्यवस्था कार्यान्वयनमा ल्याउन उत्पादकहरूले मुद्दा हालेर अवरोध गरिरहेका छन् ।’
सर्वोच्च अदालतले पटकपटक परेका मुद्दालाई एकैप्रकारको अन्तरिम आदेश दिइरहेको छ । अदालतले चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा तथा र्‍यापर्समा राखिने भनिएको चेतावनीमूलक सन्देश अर्को सुनुवाइ नहुँदासम्म कार्यान्वयन नगर्न र नगराउन स्वास्थ्य मन्त्रालयलाई अन्तरिम आदेश दिएको छ । मन्त्रालयका अनुसार चेतावनीमूलक सन्देशका विषयमा अदालतमा एकै प्रकारका मुद्दा धेरै परेकाले अदालतले सबै मुद्दालाई एकै ठाउँमा राखेर फैसला गर्न लागिरहेको छ ।
सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन– ०६८, २६ वैशाखमा ल्याएको थियो । ऐनका आधारमा ल्याइएको निर्देशिकामा चुरोट, बिँडी, खैनी, सुर्ती, गुट्खालगायत सुर्तीजन्य पदार्थको बट्टाको ७५ प्रतिशत भागमा फोक्सोको क्यान्सर भएको, मृत बच्चा भएको र मुख तथा घाँटीको क्यान्सर भएको चित्र र चेतावनीमूलक सन्देश नेपाली भाषामा लेखिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सका अगाडि र पछाडिका भागमा ‘धूमपान तथा सुर्ती सेवनले फोक्सोको क्यान्सर हुन्छ भन्ने लेख्नुपर्नेछ । सहायक माथिल्लो भागमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ’ भन्ने सन्देश, सहायक दायाँ भागमा ‘धुम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिनजस्ता क्यान्सरका कारक तत्त्व हुन्छन्, धुम्रपान गर्न छाडौँ’ भन्ने सन्देश लेख्नुपर्नेछ । सहायक बायाँ भागमा ‘धुम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ, धुम्रपान गर्न छाडौँ’ भन्ने सन्देश राख्नुपर्नेछ । निर्देशिकाअनुसार सबै सन्देश देवनागरी प्रीति फन्टमा २० प्वाइन्टको आकारमा र सहायक सन्देश १२ प्वाइन्टको आकारमा हुनुपर्नेछ । ‘सन्देश लेखिने अक्षरको रङ सेतो हुनेछ,’ निर्देशिकामा भनिएको छ, ‘त्यस्तै सन्देश लेखिने पृष्ठभूमिको रङ रातो हुनेछ ।’
निर्देशिकामा बिँडीको बट्टा, प्याकेट र र्‍यापर्समा पनि रातो पृष्ठभूमिमा सेतो अक्षरमा चेतावनीमूलक सन्देश लेख्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया