संवैधानिक मर्यादामा काम गर्न सुझाव

काठमाडौ, १६ जेठ । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा.बाबुराम भट्टराईवीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।
राष्ट्रपतिडा.यादवले प्रधानमन्त्री भट्टराईलाई संवैधानिक मर्यादामा कायमरही अगाडि बढ्न सुझाव दिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान डा.यादवसँग भएको भेटमा प्रधानमन्त्री भट्टराईले राजनीतिक दलहरुका वीच सहमतिको वतावरण बनाएर अगाडि बढ्ने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भट्टराईले भने, ‘संविधानसभाको विघटन भएर अर्को नयाँ संविधानसभाको निर्वाचन हुन्छ भन्ने संवैधानिक प्रावधान अन्तरिम संविधानमा नभएकाले अब हामीले सहमतिको बाटो खोज्दै अगाडि बढ्नु पर्छ ।’
सबै राजनीतिक पार्टीहरुवीच सहमति कायम गर्दै अगाडि बढेर राष्ट्रिय सहमतिको वातावरण बनाउन आफूले प्रयत्न गरेको प्रधानमन्त्री भट्टराईको भनाई थियो । उनले आफ्नो प्रयत्नमा राष्ट्रपतिले सहयोग गर्नु पर्नेमा समेत आग्रह गरेका छन् ।
राष्ट्रपति डा.यादवले आफ्नो तर्फबाट सरकारलाई सहयोग रहने बताउँदै दुबै संस्थाले संवैधानिक मर्यादा कामय गर्नुपर्ने बताएका छन् । उनले दलहरुका बीच सहमति कायम गरेर अगाडि बढ्ने वातावरण बनाउन पनि प्रधानमन्त्री भट्टराईलाई सुझाव दिएका छन् ।
‘सरकार प्रमुखको हैसियतले तपाईलाई मेरो पनि सहयोग हुन्छ,’ राष्ट्रपति डा.यादवले भने, ‘तपाई राष्ट्रिय सहमतिको वातावरण बनाएर जानुस् ।’
नयाँ संविधानसभाको निर्वाचनका लागि मंसिर–७ गते सिफारीस गरेको दुई दिन पछि प्रधानमन्त्री भट्टराईले आज राष्ट्रपति डा.यादवसँग भेट गरेका हुन् ।

प्रतिक्रिया