‘निष्क्रिय भएर बस्न सक्दिन’


कुनै व्यावसायिक संगठनको केन्द्रीय तहमा महिला अध्यक्ष खोज्नुपर्दा स्यालकै सिङ खोजेजस्तो हुने अवस्थाबीच लता प्याकुरेल नेपालको प्रतिष्ठित औद्योगिक संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघकी प्रथम महिला अध्यक्ष भएकी छन् । कुनै पनि पुरुषभन्दा बढी राम्रो काम गरी देखाउने चुनौती आफूलाई रहेको प्याकुरेल बताउँछिन्– सौर्यकर्मी चमिना भट्टराईसँग ।
व्यवसायी बन्ने सोच कसरी आयो ?
–योजना बनाएर लागेको त होइन । पैँतीस सालमा विराटनगरमा क्याम्पस पढ्थेँ । त्यतिबेला नै विवाह भयो । जीवनवृत्तिका लागि मेरो आकर्षणचाहिँ बैकिङ क्षेत्रतिर थियो । महिला भएका कारण अवसर पनि पाइन्छ भन्ने लागेको थियो । परिवारका अरू महिला सदस्य पनि बैंकमै थिए तर श्रीमान्जी जागिरबाट सन्तुष्ट हुनुहुन्थेन । आफँै केही गर्नुपर्छ भन्ने लागेर घरमा पनि सल्लाह भयो । तालिम लिएर घरैबाट स्विटर बुन्ने सानो व्यवसाय सुरु गरेकी हुँ ।
कस्तो थियो त्यतिबेला उद्यमी महिलाको अवस्था ?
–आफ्नै कोठाबाट काम सुरु गरेको हुनाले मेरा लागि खासै गाह्रो परेन । दुई तीन महिनापछि बजार पनि राम्रो भयो । दुइटा मेसिन राखेर दुईजनालाई काममा राखेँ, बिस्तारै काम पनि बढ्दै गयो । हातमा पैसा पनि पर्न थाल्यो । पैसा हातमा पर्न थालेपछि त्यसले जोस र जाँगर पनि बढाउँदो रहेछ  ।
कहिलेकाहीँ व्यवसायको तनाव लिनुभन्दा जागिर खान पाए बेसजस्तो लागेन ?
– पैसाले मलाई आकर्षित गराइसकेको थियो । व्यवसायमा घाटा लागेको भए तनाव हुन्थ्यो होला, विकर्षण हुन्थ्यो होला । अर्कातिर घरबाट पनि मलाई सहयोग मिलेको थियो । बिस्तारै बिस्तारै विराटनगरबाहिर पनि बजार बनिसकेको थियो । आखिर मेरा श्रीमान्जी पनि जागिरवृत्तिबाट सन्तोष मान्ने मान्छे पर्नुभएन । त्यसैले पनि हो, जागिरप्रतिको मेरो आकर्षण घट्दै गयो, स्वतन्त्र व्यवसायप्रतिको आकर्षण बढ्दै गयो । त्यसपछि बयालिस सालमा साना घरेलु उद्योगका रूपमा एक प्लास्टिक उद्योगको सुरुआत गरियो । अहिले त्यही उद्योगले मझौला उद्योगको रूप लिएको छ  । संस्थापक अध्यक्ष म नै हुँ ।
तपार्इंको अनुभवमा महिला उद्यमीले कामका क्रममा कत्तिको कठिनाइ भोग्नुपर्ने रहेछ त ?
– त्यतिबेला महिलाले व्यवसाय गर्नु सजिलो थिएन । मारवाडी महिला घरबाट बहिर निस्कने चलन थिएन । हामीले उत्पादन गरेको सामान मारवाडीकामा जान्थ्यो तर मारवाडीले म भुक्तानी लिन नआए हुन्थ्यो जस्तो गर्थे । फोन गर्‍यो– ‘भाउजू नआउनू, हामी नै पठाइदिन्छौँ’ भन्ने गर्थे उनीहरू तर पछि बिस्तारै सबैले बुझ्दै गए र काम सहज हुँदै गयो ।
कतै महिला भएका कारण हेपिनु त परेन ?
–काम गर्दा त्यस्तो हुन्थ्यो । सबै महिला घरमा बसेर चलेकै छ, म मात्र यस्तो तनावमा किन काम गर्ने भन्ने पनि लाग्थ्यो कहिलेकाहीँ तर घरपरिवारको सहयोगले मलाई यहाँसम्म पुर्‍यायो । माइती र घरतिरका कसैले पनि घरमै बसोस् जस्तो गरेनन् । म आफँै पनि घरभन्दा बाहिर नै काम गर्ने स्वभावकी थिएँ । कहिल्यै ‘म महिला हो, यस्तो चुनौतीपूर्ण काम गर्न सक्दिन कि’ भन्ने अनुभव गर्नु परेन ।
आफूजस्तै महिलासँग प्रतिस्पर्धा गर्नुपर्‍यो कि परेन ?
– त्यतिबेला अहिलेजस्तो प्रतिस्पर्धा थिएन । मलाई त सजिलो नै भयो, त्यतिबेला महिला उद्यमी नभएकाले पनि होला । यदि व्यवसायमा नलागेर अरू क्षेत्र, जस्तै राजनीतिमा नै लागेको भए मैले धेरै नै प्रतिस्पर्धा गर्नुपथ्र्यो होला, यहाँसम्म आउन सक्दिनथेँ होला । मलाई यहाँसम्म आउन पुरुष उद्यमीको धैरै सहयोग छ । मैले अहिलेसम्म अस्वस्थ प्रतिस्पर्धाको सामना गर्नुपरेको छैन ।
कुनै रोलमोडललाई हेरेर यस्तो बन्न पाए हुन्थ्यो भन्ने प्रेरणादायी नाम सम्झनामा छ कि ?
–त्यस्ता धेरै छन् । महिला नेत्रीहरूले मञ्चमा गएर धाराप्रवाह भाषण गरेको देख्दा म पनि आफ्नो क्षेत्रको समस्या वा कुरालाई त्यसै गरी निर्धक्कसंँग राख्न सकँुला त भन्ने आशंका हुन्थ्यो । महिला भएर पनि कसरी बोलेको होला भन्ने लाग्थ्यो । व्यवसायीका रूपमा भने नेपालमा खासै महिला थिएनन् । निजी क्षेत्रको व्यावसायिक संस्थामा पहिलोपल्ट महिला अध्यक्ष हुने अवसर पाएकामा आफूलाई भाग्यमानी नै ठान्छु । यसले अरू महिलालाई पनि प्रेरणा मिल्छ भन्ने लागेको छ ।
यति ठूलो संस्थामा अध्यक्षको चुनाव लड्ने विचार कसरी आयो ?
–मैले महिला समितिको सभापति भई दुई कार्यकाल काम गरिसकेकी थिएँ । वरिष्ठ उपाध्यक्ष भएर कार्यकाल सकिँदै थियो । केन्द्रीय समितिको चुनाव हँदै थियो, साथीहरूले अब तपाईंले महासचिव भइदिनुपर्‍यो भन्नुभो । मैले ठीकै ठानँ र संस्थाका लागि वरिष्ठ उपाध्यक्षबाट झरेर महासचिवमा काम गर्न तयार भएँ तर उहाँहरूले त मलाई जाँच्नु भएको रहेछ । पछि अध्यक्षमा प्रस्ताव गर्नुभयो । मैले नसोचेकै कुरा, निर्विरोध अध्यक्ष भएँ । कसैले विरोध गरेनन् । यसले आफूमा काम गर्ने हैसियत र आत्मविश्वास भयो भने काम गर्ने अवसर पाइँदो रहेछ भन्ने पाठ सिक्न पाइयो ।
यति ठूलो जिम्मेवारी सम्हाल्नुभएको छ । आफ्नो व्यवसायमा असर परेको त छैन ?
–मैले उद्योगसँगै छोराछोरी पनि हुर्काएँ । अहिले तिनै छोराले सम्हालेका छन् व्यवसाय । दस वर्षयता आएर पारिवारिक व्यवसायका रूपमा विकास गरेका छाँै । भतिजो र मेरा दुई छोराले धानेका छन् । आवश्यकता पर्दा मेरो सुझाव र सल्लाह लिन्छन् । मारवाडीमा मात्र पारिवारिक व्यवसाय हुन्छ भन्थे तर हामीले पनि त्यसै गरेका छाँ ।
तपार्इंभन्दा पहिला ६जना अध्यक्ष भए । आफूलाई कहाँनिर राख्नुहुन्छ ?
–यो संस्था यहाँसम्म आउन धेरैको योगदान छ तर म आफू अध्यक्ष भएपछि संस्था चिनाउन सजिलो भएको छ । ए.. महिला अध्यक्ष भएको संस्था भन्ने र नबिर्सने हुँदो रहेछ । फेरि मलाई चुनौती पनि छ, कतै महिला भएका कारण कसैले यो भएन भन्ने ठाउँ नआओस् । मैले अरूले भन्दा झन् बढी काम गर्नु पर्छ भन्ने लाग्छ । मेरै गलत कार्यसम्पादनका कारण अरू महिलालाई समेत कमजोर नठानियोस् भन्ने चाहन्छु ।
भोलिको दिनमा कता फड्को मार्ने सोचमा हुनुहुन्छ ?
–त्यसबारे सोचेकी छैन तर उद्योग व्यवसायकै क्षेत्रमा काम गर्ने अफर आयो भने जानु पर्ला र काम पनि गराँला तर अहिले नै सोचिहालेकी छैन । फेरि म निष्क्रिय भएर बस्न सकूँलीजस्तो लाग्दैन पनि । अहिले नै निष्क्रिय बस्ने उमेर पनि त भएको छैन ।

प्रतिक्रिया