खल्लो भो गणतन्त्र दिवस


काठमाडौं, १६ जेठ । संविधानसभाबाट आइतबार नयाँ संविधान जारी गरेर त्यसको खुसीयाली गणतन्त्र दिवसको अवसरमा सोमबार भव्यरूपमा मनाउने तयारी थियो । तर, संविधान जारी गर्न नसकी संविधानसभा विघटन भएपछि गणतन्त्र दिवसको समारोह खल्लो बन्न पुग्यो ।
संधिवानसभा विघटन भए पनि सरकारले गणतन्त्र दिवस मनाउने कार्यक्रम रद्द गरेन । तर, राजधानीको सैनिक मञ्चमा पाँचौं गणतन्त्र दिवस, २०६९ मनाउने क्रममा कुनै उल्लास थिएन, थियो केवल औपचारिकता । समारोहमा राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी, मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख प्रतिनिधिहरूको सहभागिता थियो । विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ समारोहमा सहभागी भएनन् ।
अघिल्ला वर्षहरूमा सबै दलका प्रमुख नेताहरू उपस्थित रहने परम्परा रहे पनि यसपटक कुनै पनि राजनीतिक दलका नेता पुगेनन् । अघिल्लो राति अबेरसम्म निरर्थक राजनीतिक व्यस्ततामा रहेका राष्ट्रपति तथा प्रधानमन्त्री बिहानै आयोजित कार्यक्रममा थकित र नैराश्यपूर्ण मुस्कान साटे । उनीहरूबीच खासै बोलचाल भएन । मञ्चमा आसिन सबैजना भावुक, निराश र खिन्न मुद्रामा थिए ।
संविधान जारी भएको भोलिपल्ट पर्ने भएकोले गणतन्त्र दिवस बनाउन राजधानीमा हजारौंको संख्यामा मानिस भेला हुने अनुमान गर्दै त्यसै अनुसार तयारी गरिएको थियो । तर, सैनिक मञ्चको खुला चौरमा पाँच सयजति पनि सर्वसाधारण थिएनन् । सेना, प्रहरी तथा उनीहरूका परिवार, संस्थानका उच्च पदाधिकारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र सीमित सर्वसाधारणको उपस्थिति थियो ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशबाट संयुक्त रूपमा शान्तिका प्रतीक परेवा उडाएर सुरु भएको सो समारोहमा नेपाली सेनाका दुईवटा हेलिकोप्टरबाट ‘गणतन्त्र दिवस–२०६९’ अंकित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाइयो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट र विद्यार्थीहरूले मार्चपास गरेका थिए भने राष्ट्रिय खेलकुद परिषद्द्वारा विविध खेलकुद प्रदर्शन गरिएको थियो ।
विभिन्न मन्त्रालय र मातहतका विभागहरूबाट विकास गतिविधि झल्कने झाँकी प्रदर्शनी प्रस्तुत गरिएको थियो । त्यसैगरी उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विविध परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गरियो । प्रमुख अतिथि राष्ट्रपति डा. रामवरण यादवले गृह मन्त्रालय र रेडियो नेपालद्वारा संयुक्त रुपमा आयोजना गरिएको चेतनामूलक लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुने राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका विजेता टोली कृष्ण रेउले र अस्मी थापाको टोलीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
समारोहलाई सम्बोधन गर्दै गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान बनाउन नसकेकोमा क्षमायाचना गरे । विभिन्न संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको ऐतिहासिक दिनलाई संविधान निर्माणको प्रक्रियाले केही ओझेलमा पारे पनि गणतन्त्रप्रति आमजनताले गर्व गर्नुपर्ने उनले बताए । प्रधानमन्त्रीले भने, ‘चार वर्षअघि जनताले संविधान बनाउने जिम्मा दिएका थिए तर त्यस अवधिभर सरकार गठन र विघटन गर्ने खेलले जनताको भावनामाथि कुठाराघात गरेकोप्रति दु:ख लागेको छ ।’
प्रधानमन्त्री डा. भट्टराईले संविधानसभाको घोषित निर्वाचनलाई सफल पार्न आमजनसमुदायलाई आग्रह गर्दै शान्तिसुरक्षा, सामाजिक सद्भाव कायम राखी राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रमुख राजनीतिक शक्ति एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।
यसैबीच राष्ष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसकै अवसरमा सोमबार अपरान्ह शीतलनिवासमा जलपान समारोह आयोजना गरेका थिए । उक्त समारोहमा विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । दिवसकै अवसरमा राष्ट्रपति डा. यादवले विगतका वर्षहरू झैं यस वर्षको जलपानलाई पनि निरन्तरता दिएको बाइन्छ ।

प्रतिक्रिया