चुनावमा दुईतिहाइ ल्याउने दाहालको दाबी


काठमाडौं,१६ जेठ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेलाई संघीयताविरोधी र संविधानसभा विघटनको दोषी भएको आरोप लगाएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ चुनावमा जाने सरकारको निर्णय उत्तम विकल्प भएको जिकिरसमेत गरे ।
‘कांग्रेस–एमालेले संघीयताको मर्म नै बुझेका छैनन् । उनीहरू संघीयता भन्नेबित्तिकै तर्सिने गरेका छन्’, अध्यक्ष दाहालले भने । दुवै दललाई उनले पुरातनवादी र यथास्थितिवादी भएको आरोप पनि लगाए । ‘पहिचानसहितको संघीयता स्थापना गर्ने कि नगर्ने विषयमा गएर अन्तरविरोध केन्द्रित हुन पुग्यो । देशलाई पहिचानसहितको संघीयतामा जान दिन नचाहने एकात्मकतावादीहरू घोर पुरातनवादी र यथास्थितिवादीहरूले संविधानसभालाई सफल हुन दिएनन्’, दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनमा जानुअघि माओवादी संकटकाल लगाएर संविधानसभा जोगाउने योजनामा रहे पनि कांग्रेस र एमाले त्यसमा तयार नभएको अध्यक्ष दाहालले दाबी गरे । छलफलमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘संकटकालको कलङ्क थाप्न आफू तयार रहेको’ बताउँदासमेत कांग्रेस–एमाले संविधानसभा जोगाउन तयार नभएको उनको भनाइ थियो । ‘हामी संविधानसभालाई जसरी पनि जोगाउने पक्षमा थियाँै तर सफल भएनौँ’, उनले भने ।
प्रमुख दलहरूबीच भएको पाँचबुँदे सहमति माओवादीले नभएर कांग्रेस–एमालेले तोडेको जिकिर पनि अध्यक्ष दाहालले गरे । ‘पाँचबुँदेमा दुई दिनभित्र सरकारलाई पूर्णता दिने र तीन दिनभित्र विवादित विषयमा सहमति खोज्ने उल्लेख थियो । तर, एमालेले मन्त्री छान्नकै लागि तीन दिनपछि मात्रै आफ्नो बैठक राख्यो, तीन दिनभित्र गर्नुपर्ने सहमति गरिएन, सहमति उल्लंघन त्यहीँबाट सुरु भएको हो’, उनले भने ।
सरकारले गरेको नयाँ संविधानसभा चुनावको घोषणा संवैधानिक र जायज भएको अध्यक्ष दाहालको दाबी छ । अन्य दलहरूले जेसुकै भने पनि यो घटनामा ‘कटुवाल प्रकरण’ नदोहोरिने पनि उनले बताए । ‘सर्वोच्चको फैसलाअनुसार चुनावको घोषणा गरिएको हो । कटुवाल प्रकरण जुन परिस्थिति र परिवेशमा भएको थियो त्यो अहिले छैन’, उनले भने ।
प्रधानमन्त्री भट्टराईले राजीनामा पनि नदिने भन्दै दाहालले बरु राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरूबीच छलफल हुने उल्लेख गरे । ‘राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जानुपर्छ । त्यस्तो सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा छलफल हुन सक्छ’, उनले भने ।
संविधानसभाबाट नयाँ संविधान जारी गर्न नसकेकोमा दु:खी भए पनि आफू असफल नभएको दाहालले बताए । ‘शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन जुन काम भएको छ, त्यसमा मैले गौरव नै गरेको छु’, उनले भने । अब आन्दोलन नयाँ चरणमा प्रवेश गरेको अध्यक्ष उनको भनाइ थियो ।
नयाँ चुनावबाट आफ्नो पार्टीले दुईतिहाइ बहुमत प्राप्त गर्ने जिकिर पनि अध्यक्ष दाहालले गरे । जनतालाई दलहरू र सभासद्प्रति केही रिस उठे पनि सबै कुरा बुझाउँदा बुझ्ने विश्वास उनको छ । ‘अहिले एकछिन त जनतालाई अलिअलि रिस उठेको होला, ६ सय १ जनाले केही पनि गरेनन् भन्ने पनि होला । तर, सबै कुरा बुझाउँदै गएपछि जनता जुरुक्कै उठ्ने दिन आउँछ भन्ने मलाई विश्वास छ’, उनले भने ।
त्यसअघि, अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा बसेको संस्थापन पक्षको स्थायी समिति बैठकले निर्वाचनको घोषणा जायज र आवश्यक भएको निष्कर्ष निकालेको थियो ।

वैद्य पक्ष भन्छ

निर्वाचनको घोषणा असंवैधानिक

काठमाडौं : एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको समूहले संविधानसभाको नयाँ निर्वाचन घोषणा असंवैधानिक भएको बताएको छ । संविधानसभाबाट नयाँ संविधान जारी गर्नुको सट्टा सरकारले एकतर्फी रूपमा चुनाव घोषणा गरेर जनताको चाहनामाथि आघात गरेको उसले जनाएको छ ।
‘राजनीतिक दलहरूको सहमतिविना नै नयाँ संविधानसभा निर्वाचन घोषणा गरिएको छ, संवैधानिक व्यवस्था मिचेर गरिएको घोषणा स्वत: अवैधानिक हो’, उपाध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले षड्यन्त्रपूर्वक चुनाव घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ । ‘१४ जेठको मध्यरातमा प्रधानमन्त्रीद्वारा सार्वजनिक सम्बोधनमार्फत षड्यन्त्रमूलक ढंगबाट संविधानसभाको निर्वाचन गर्ने घोषणा गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
वैद्यले प्रधानमन्त्री भट्टराईलाई तत्काल राजीनामा दिन पनि माग गरेका छन् । सर्वदलीय राजनीतिक सहमति गरेर निर्वाचनमा जाने र मुलुकलाई निकास दिनुपर्ने वैद्यले बताएका छन् । उनले यसबारे तत्काल पहल थाल्न अन्य दलहरूलाई पनि अपिल गरेका छन् ।
सोमबार बसेको वैद्यपक्षीय नेताहरूको बैठकले विदेशी शक्तिको इसारामा सरकारले निर्वाचनको घोषणा गरेको निष्कर्ष पनि निकालेको छ । संविधानसभा विघटन गर्ने र चुनाव घोषणा गर्ने काम नियोजित रूपमा भएको उनीहरूको ठहर छ । (सौस)

प्रतिक्रिया