बालबालिकाको कथामा फ्युचर अफ नेसन

काठमाडौं, १४ जेठ । बालबालिकाका विषयमा केन्द्रित रहेर चलचित्र द फ्युचर अफ नेसन निर्माण भएको छ । बालबालिकाले देश तथा समाजमा कुरीति फैलाउनेहरूविरुद्ध आधुनिक प्रविधिको सदुपयोग गरी मुलुक सुन्दर बनाउन गरेको प्रयासलाई चलचित्रले बोकेको छ ।  मोते फिल्म्स प्रालिको ब्यानरमा निर्मित चलचित्र वासु पौडेलले निर्देशन गरेका हुन् ।
मनोज मोते, लक्ष्मी बोहरा, सुमन मोते, सुवास खरेल, ममता बुढाथोकी, संगम पौडेललगायतले अभिनय गरेको चलचित्र हाल सम्पूर्ण प्राविधिक कार्य सकी प्रदर्शनका लागि प्रचारप्रसारमा जुटेको निर्माता गोविन्द मोतेले जानकारी गराए । यसमा सुमन मोतेले रोबोटको भूमिका निर्वाह गरेका छन् ।
अशोक थापाको संगीत रहेको चलचित्रमा कमल राईको नृत्य तथा वाङ्चु चेम्जोङको द्वन्द्वनिर्देशन छ । मोफसलबाट एनिमेसन प्रविधि प्रयोग गरेर बनाइएको यो नै पहिलो चलचित्र भएको दाबी गर्दै निर्माण पक्षले चलचित्रले सबै वर्गका दर्शकलाई आकर्षित गर्न सक्ने बतायो ।

प्रतिक्रिया