होटलका टेबलमा एस्ट्रे, लाइटर र सलाई राख्न नपाइने

काठमाडौं, १३ जेठ । सार्वजनिक स्थलमा धूमपान गर्नेलाई कारबाही गर्न ऐन ल्याइए पनि हालसम्म कार्यान्वयन हुन नसकेपछि सरकारले नयाँ व्यवस्था गरेको छ । त्यस्तो कार्य रोक्न अबदेखि कुनै पनि होटल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृहले ग्राहक बस्ने टेबलमा सुर्ती सेवनका क्रममा प्रयोग हुने एस्ट्रे, लाइटर तथा सलाई राख्न नपाउने व्यवस्था सरकारले ल्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनकि गरेको सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावलीमा यस्तो व्यवस्था गरिएको छ । कुनै पनि होटल तथा रेस्टुरेन्ट वा भोजनालयका व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवनका लागि प्रयोग हुने एस्ट्रे, लाइटर तथा सलाईलगायत सामग्री राख्न नपाउने व्यवस्था नियमावलीमा छ ।
एक वर्षअघि नै सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई कारबाही गर्ने ऐन ल्याइए पनि ऐन निष्प्रभावी भएकाले नियमावली ल्याइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यसचिव डा. प्रवीण मिश्रले सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन कार्यलाई नियमन र नियन्त्रण गर्न नियमावलीको व्यवस्था गरिएको बताए । उनले नियमावलीमा भएको व्यवस्थाविपरीत कसैले पनि होटल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह तथा अन्य सार्वजनिक स्थलमा एस्ट्रे, लाइटर तथा सलाईलगायत सामग्री भेटिए कारबाही गरिने जानकारी दिए ।
‘कसैले पनि नियमावलीविपरीत कार्य गरे पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना हुनेछ,’ सचिव डा. मिश्रले भने, ‘नियमावलीमा भएको व्यवस्थाअनुसारको काम भए/नभएको अनुगमनका क्रममा दोषी देखिएकालाई तुरुन्त जरिवानासहित सार्वजनिक बहिष्कारसम्मको कारबाहीसमेत हुनेछ ।’
उनका अनुसार सरकारले गत २२ असारमा सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई एक सय रुपियाँदेखि विभागीय कारबाहीसम्म वा सार्वजनिक स्थलबाट बहिष्कार गर्नेसम्मको कारबाही गर्न सक्ने ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’ लागू गरेको थियो ।
ऐनमा परिभाषित सार्वजनिक स्थलमा राज्य तथा सरकारका निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीसाधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेना गृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल तथा सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर छन् ।
नियमावलीले होटल तथा रेस्टुरेन्ट वा सार्वजनिक स्थलमा धूमपान गर्न सम्बन्धित स्थानका व्यवस्थापकले निश्चित एउटा ठाउँ तोक्न सक्ने व्यवस्था गरेको छ । नियमावलीअनुसार ती होटल तथा रेस्टुरेन्टले मानिसको आवत–जावत कम हुने र धूमपान तथा सुर्ती सेवन नगर्ने व्यक्तिलाई असर नपर्ने गरी होटलबाहिरको ठाउँ धूमपानको प्रयोजनका लागि तोक्न सक्नेछन् । त्यो ठाउँ होटलको झ्याल तथा होटलमा प्रवेश गर्ने ढोकाभन्दा टाढा हुनुपर्ने र त्यस्तो ठाउँमा धूमपान गर्दा उत्पन्न हुने धुवाँ तथा गन्ध होटलभित्र नपस्ने व्यवस्था हुनुपर्नेछ ।
नियमावलीले १८ वर्ष उमेर नपुगेका बालबालिका र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न वा नि:शुल्क उपलब्ध गराउन नपाउने व्यवस्था गरेको छ । कसैले ऐनविपरीत सुर्तीजन्य पदार्थ बिक्री–वितरण गरे वा नि:शुल्क उपलब्ध गराए १० हजार रुपियाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । सार्वजनिक स्थानभन्दा कम्तीमा सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाउने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।

प्रतिक्रिया