किन सहर पस्छ चितुवा ?

काठमाडौं, १३ जेठ । स्याल बौलायो भने सहर पस्छन् भन्ने पुरानै उखान हो । अब त चितुवा पनि सहर पस्न थालेका छन् । ललितपुरको झरुवारासीमा बिहीबार अचानक दिउँसै चितुवा देखिएको खबर आयो । त्यसको दुई दिनअघि मंगलबार महाराजगन्जस्थित पाकिस्तानी दूतावासनजिकै निर्माणाधीन घरमा त लुकेर बसेको चितुवा नै भेटियो ।

यो साता काठमाडौँं उपत्यकामा दिउँसै चितुवा देखिएका दुई घटना हुन् यी । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको सदर चिडियाखाना जावलाखेलका अनुसार महाराजगन्जमा समातिएको चितुवा एक वर्षभित्र सहरमा समातिएको साताँैं चितुवा हो । पछिल्लो ६/७ वर्षदेखि सहरमा चितुवा देखिने क्रम बढेको चिडियाखानाका कर्मचारी बताउँछन् ।
आखिर जंगल छाडेर किन सहर पस्छ चितुवा ? राजधानीनजिकैका शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा आहारा नपाउँदा त्यसको खोजीमा चितुवा सहर पस्ने गरेको जानकार बताउँछन् । निकुञ्ज र मौलाएको सामुदायिक वनका कारण चितुवाको संख्या बढे पनि मृग र बँदेलजस्ता आहारा पर्याप्त नहँुदा चितुवा खानाकै खोजीमा भाँैंतारिएर सहर पसेको हुन सक्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ पर्यावरणविद् डा. महेश्वर ढकालको भनाइ छ ।
‘उपत्यका आसपास ससाना जंगल जोगिँदा चितुवाको संख्या बढे पनि त्यहाँ मृग र बँदेलजस्ता आहारा पर्याप्त भएनन्,’ उनले सौर्यसँग भने, ‘त्यसैले आहाराको खोजीमा भाँैतारिएको चितुवा सहरसम्म आइपुग्छ ।’ उनले आपसी द्वन्द्वका कारण चितुवा अर्कोदेखि दबिएर बस्न नचाहेर भाग्ने क्रममा सहरमा आइपुगेको हुन सक्ने अनुमान गरे । ‘त्यसैले तिनीहरूको द्वन्द्वको मापन र चितुवाको संख्या गणना गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने ।
ससाना वनमा बस्ने र एकैपटकमा ६/७ वटासम्म बच्चा जन्माउने क्याट (बिरालो) प्रजातिका चितुवाका भाले र पोथी यौनसम्पर्क र बच्चा नजन्मने बेलासम्म मात्रै सँगै बस्छन् । बच्चा ढाडे (ठूलो) भएर आफूसँगै लड्न र प्रतिस्पर्धा गर्न आउँछ भन्ने डरले भालेले देख्यो कि बच्चा खाइदिन्छ । त्यसैले पोथी बच्चा जन्माउने बेला भालेबाट टाढिन्छे । यसरी बच्चा र भालेबीचको लडाइँले भाग्ने क्रममा चितुवा सहरसम्म आइपुग्ने गरेको कोषका सदस्यसचिव जुद्धबहादुर गुरुङले बताए ।
‘एकले अर्कालाई लखेट्ने र भाग्ने क्रममा धेरैपटक चितुवा सहरसम्म आएको भेटिएको छ,’ उनले भने, ‘यसबाहेक आहाराको खोजीमा चितुवा राति सहर पस्ने गरेको हुन सक्छ ।’ दिनभर मानिसको कोलाहलले भोक सहेर बस्न बाध्य चितुवा राति सहर पसेर कुकुर खाने र कतै आराम गर्दैगर्दा उज्यालो भएर
दिउँसो फर्कन नसकी लुकेको अवस्थामा भेटिने गरेको उनले बताए ।
चितुवाको संख्या वन बाक्लिएसँगै बढ्दा त्यहाँ सीमित मृग वा बँदेलबाट भोक मेट्ने अवस्था नरहेपछि सहर पस्ने गरेको बताइन्छ । चितुवा मांसाहारी भएकाले सिकारबाहेक अन्य आहारा खाएर बाँच्न सक्दैन । मांसाहारी र अरूको हस्तक्षेपबिना बस्न रुचाउने यो जनावर सहरनजिकका वनमा सुरक्षित महसुस गर्न नसकेर बेलाबेला सहर पस्ने गरेको चिडियाखानाका प्रोजेक्ट म्यानेजर सरिता ज्ञवालीले बताइन् ।
‘बासस्थान साँघुरिँदै जानु र जताततै मानिस पुग्दा सुरक्षा महसुस गर्न नसकेर रातको समयमा जंगलबाहिर निस्कँदा चितुवा सहरसम्म आइपुग्छ,’ उनले भनिन् ‘जंगलमा आहाराको कमी पनि चितुवा सहर पस्नाको अर्को कारण हो ।’ उनले सुख्खा मौसम चितुवाको बच्चा जन्माउने सिजन भएकाले धेरै आहारा चाहिने हँुदा त्यसका लागि सहरसम्म आइपुगेको हुन सक्ने बताइन् ।
कहाँबाट आएको भन्ने यकिन हुन नसके पनि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज, गोदावरी, फूलचोकी वा जुन वननजिकको सहरी भेगमा चितुवा देखिन्छ त्यतैतिरबाट आएको अनुमान गर्दै सहरमा देखिएको चितुवालाई लठ्याएर सदर चिडियाखानामा राखिँदै आएको छ । सरकारले बाघ र गैंडाको नियमित गणना र तिनीहरूको अवस्था लेखाजोखा गर्दै आएको भए पनि अहिलेसम्म चितुवाको अवस्था कस्तो छ भनेर कुनै पनि किसिमको अध्ययन गरेको छैन ।

प्रतिक्रिया