संघीयतामा उधारो सहमति हुँदैन

काठमाडौं, १२ जेठ । एमाओवादी र मधेसी मोर्चाले जातीय पहिचान सहितका संघीय राज्य बनाएर नयाँ संविधान तोकिएको समयमा जारी गर्न एक भएर जाने सहमति कायम गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको बैठकले जातीय पहिचानको संघीय राज्यमै सहमति खोज्ने निष्कर्ष निकालेको तमलोपाका नेता हृदयश त्रिपाठीले जानकारी दिए । उनले जातीय पहिचानको संघीयता भन्दा तल झरेर कुनै सम्झौता हुन नसक्ने बताए ।
‘संघीयताको सीमाङकन, नामाङकन लगायतका विषय राखेर जेठ–१४ गते भित्रै नयाँ संविधान जारी गर्नुपर्छ,’ नेता त्रिपाठीले भने, ‘संघीयतामा बाँकी काम पछी गर्ने भनिन्छ भने हामीले मान्दैनौं ।’
त्यसै गरेर मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले पनि जातीय पहिचान सहितको संघीय राज्यको नाम र सीमाङकन अहिलेनै तोक्नुपर्ने बताए ।
उनले जेठ–१४ गते भित्रै संविधान जारी गर्नुपर्ने भन्दै कांग्रेस/एमाले संविधानसभा विघटन गर्न लागेको आरोप लगाए ।

प्रतिक्रिया