प्राधिकरण निर्णय कार्यान्वयन नगर्न अख्तियारको निर्देशन

काठमाडौँ, १२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माथिल्लो तामाकोसीबारे नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

बिहीबार आयोगले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सञ्चालक सदस्य तथा आयोजना प्रमुख नियुक्ति गर्नु गलत भन्दै निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको हो । ‘तामाकोसीको आफ्नो नियम र व्यवस्थालाई चुनौती दिँदै प्राधिकरण बोर्डले १४ फागुन २०६८ मा गरेको निर्णय फिर्ता लिन निर्देशन दिइएको छ ।’आयोगका प्रवक्ता ईश्वरी पौडेलले भने ।
साथै अख्तियारले तामाकोसी सञ्चालक समितिलाई पारदर्शी रूपमा काम अघि बढाउन पनि निर्देशन दिएको छ । तामाकोसी आयोजना कार्यसञ्चालनमा ढिलाइ भएकामा चासो देखाउँदै आयोगले देखिएका सबै समस्या टुंग्याएर दु्रत गतिमा काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय–लगायतलाई पनि निर्देशन दिएको छ । प्रवक्ता पौडेलका अनुसार, तामाकोसीको काममा ढिलाइ भएको, पारदर्शी नभएको लगायतबारे अख्तियारमा उजुरी परेको थियो ।
उजुरीका आधारमा अख्तियारले ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक अध्यक्ष हरिराम कोइराला, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक एवं सदस्यसचिव टीकाराम बिसीलगायतलाई बोलाएर तामाकोसीबारे जानकारी लिएको थियो । अख्तियारले माथिल्लो तामाकोसी, विद्युत् चुहावटलगायतबारे जानकारी लिएर सकारात्मक निर्देशन दिएको बिसीले बताए ।
प्राधिकरण बोर्ड बैठकले ऊर्जा मन्त्रालयका सहसचिव अर्जुन कार्कीलाई सदस्यमा र प्राधिकरणभित्रकै सुनिल ढुंगेललाई आयोजना प्रमुखमा नियुक्ति गरेपछि विवाद बढेको छ । कार्कीलाई प्राधिकरण बोर्ड बैठकले सदस्यबाट फिर्ता गरिसकेको छ । तर, आयोजना प्रमुख नियुक्ति निर्णय भने फिर्ता लिइएको छैन । विवादकै कारणले गत १४ फागुनपछि माथिल्लो तामाकोसी सञ्चालक समितिको बैठक बस्न सकेको छैन । सो आयोजनाबारेको निर्णय प्राधिकरण बोर्ड बैठकले गरेको भन्दै सञ्चय कर्मचारी कोष, नागरिक लगानी कोषलगायतका प्रतिनिधिले असन्तुष्टि जनाउँदै आएका छन् । विवादकै कारण तामाकोसी बोर्ड बैठक बसे पनि कुनै निर्णय गर्न सकेको छैन जसका कारणले आयोजनाको काम नै प्रभावित हुने अवस्थामा पुगेको छ । आयोजनाले ठेकेदार कम्पनीलाई नगद दिन सकेको छैन । अख्तियारको निर्देशनले तामाकोसी बोर्डलाई नयाँ आयोजना प्रमुख नियुक्तिका लागि बाटो खुलेको छ ।

सातामा ६ घन्टा लोडसेडिङ घट्यो
काठमाडौ : नेपाल विद्युत् प्राधिकरणले हप्ताको ६ घन्टा लोडसेडिङ घटाएको छ । हप्ताको ६२ घन्टा लोडसेडिङ रहेकामा शुक्रबारदेखि लागू हुने गरी ५६ घन्टामा झारिएको प्राधिकरण भारप्रेषण प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । उनका अनुसार, पानीको सतह बढेको, चुहावट नियन्त्रण प्रभावकारी भएको र बढी चुहावट भएको क्षेत्रमा बढी लोडसेडिङ गरिएकाले घटेको हो । (सौस)

प्रतिक्रिया