सैनिकको यातनापछि गाउँले त्रसित

चितवन, १२ जेठ । चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाका लागि खटिएका सैनिकले शारीरिक सम्पर्क राख्न खोज्दा अस्वीकार गर्ने महिला कुटिएपछि पश्चिम चितवनको पटिहानीका महिला त्रसित भएका छन् ।

३० वैशाखमा गंगानगर गाउँनजिकैको मध्यवर्ती क्षेत्रमा घाँस काट्न जाँदा सेनाका जमदार चित्रबहादुर प्रधानले स्थानीय फूलमती महतोलाई यातना दिएका हुन् । घाँस काट्दै गरेकी महतोलाई शारीरिक सम्बन्ध राख्न जबर्जस्ती गरेपछि उनले अस्वीकार गर्दा प्रधानले कुटपिट गरेका थिए । कुटपिटबाट महतो घाइते भएकी छन् । उनको देब्रे खुट्टामा चोट लागेको छ । ढाडमा लठ्ठीले हानेकाले अझै दुखिरहेको उनले बताइन् । सैनिक प्रधानले उनको छातीमा समेत मुक्का हानेका थिए ।
महतोलाई यातना दिएर घाइते बनाएपछि गाउँका अधिकांश महिला उनकै घरमा जम्मा भएर बस्ने गरेका छन् । बिहान–बेलुका घाँसदाउराका लागि पायक पर्ने समयमा जंगल जाँदा पनि उनीहरू समूहमा हिँड्न थालेका छन् ।
घाँस काट्न जाँदा महतोसँगै तीन बालिका थिए । घाँस काट्दै गर्दा रक्सीले मातेका जमदार प्रधानले जबर्जस्ती काखमा बस भनेर शारीरिक सम्बन्ध राख्न दिएको दबाब नमानेपछि महतोलाई कपडा फुकालेर कुटपिट गरेका थिए । उनले गुहार मागेको सुनेपछि गाउँलेको सहयोगमा बचाइएको स्थानीय कुमारी तामाङले बताइन् ।
घटनापछि महतोले काम गर्न सकेकी छैनन् । गाउँका महिला पनि त्रसित छन् । ‘जंगल र घर त हाम्रो खेतबारी जस्तै हो, भैँसी पालेपछि घाँस काट्न जानै पर्‍यो,’ स्थानीय गौमाया विकले भनिन्, ‘सधैँ साथी हुँदैनन्, एक्लै पनि गइन्थ्यो । अब कसरी घाँसदाउरा गर्ने भन्ने चिन्ता बढेको छ ।’
गाउँका महिला सेनाका जवानबाट असुरक्षित महसुस गर्न थालेका छन् । युवती र बालिका त जंगलतिर जानै छाडेका छन् । इज्जत सबैभन्दा ठूलो भएकाले घाँसदाउराका लागि वैकल्पिक उपाय खोजी वा नेपाली सेनाले गर्ने व्यवहारमा परिवर्तन आउने प्रतिबद्धता नभए एक्लै जंगल जान सक्ने अवस्था नभएको महिला अगुवा सीता पुनले बताइन् ।
महतोको उपचारका लागि नन्दबक्स गणले आठ हजार रुपियाँ दिएको छ । शरीरमा देखिने चोटको उपचार भइरहे पनि उनी मानसिक तनावमा छिन् । उनले सेना आएर अझै कुट्छन् कि भन्ने डर रहिरहेको बताइन् ।
यातना दिने सैनिकलाई कारबाही भए/नभएको पनि गाउँलेले थाहा पाएका छैनन् । उनीहरूले पीडक जमदार प्रधानलाई कारबाहीको माग गरेका छन् । मध्यवर्ती क्षेत्र महिला अधिकार मञ्चकी अध्यक्ष इन्दिरा बोटेले पीडक सैनिकलाई कारबाही गर्ने आश्वासन आए पनि कारबाही गरे/नगरेको थाहा नभएको बताइन् । उनले पीडकलाई कारबाही गरेर महिलालाई सुरक्षित वातावरणमा घाँसदाउरा गर्ने परिस्थिति निर्माण नभए महिलाले निकुञ्जविरुद्ध आन्दोलन गर्ने बताइन् ।

प्रतिक्रिया