पोखरामा बृहत सदभाव र्‍याली

पोखरा, ११ जेठ । भावी संविधानमा जातीय सदभाव कायम रहोस भन्ने कामना गर्दै पोखरामा आज बृहत सदभाव र्‍याली निकालिएको छ ।

विभिन्न जातीय संगठनले नयाँ संविधानमा आफ्ना अधिकारलाई सुनिश्चित गर्न भन्दै सरकारलाई दवाव दिन बन्द, हड्ताल जस्ता कार्यक्रम गरिरहेका बेला स्थानीय संघ सस्थाका प्रतिनिधिहरु मिलेर सदभाव र्‍याली निकालेका हुन् ।

अवाञ्छीत गतिविधिले सदियौं देखिको सामाजिक सदभावमा आँच आउन सक्ने खतरालाई मध्य नजर गरी जातीय सदभाव कायम गर्न र्‍याली प्रर्दशन गरेको आयोजकहरुले जनाएका छन् ।
पोखरा उद्योग बाणिज्य संघको अगुवाईमा सभागृहचोकबाट शुरु भएको बृहत सदभाव र्‍याली न्यूरोड, चिप्लेढुङ्गा, पालिखेचोक हुँदै संघको कार्यालय गैह्रापाटनमा पुगेर टुङ्गिएको थियो ।

र्‍यालीमा सहभागीहरुले नागरिक अधिकारको सम्मान गरौं, बन्दलाई बन्द गरौं, जातीय सदभाव कायम गरौं, संविधान तोकिएको समयमा जारी गरौं, गरी खान देऊ, व्यवसायिक स्वतन्त्रता कायम गरौं, सदभाव हाम्रो सम्पति रक्षा गरौं, जस्ता प्ले कार्ड बोकेका थिए ।

संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठले आफ्ना माग पुरा गराउनका लागि सदियौं देखिको जातीय सदभाव खलल पुग्ने अवाच्छीत गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया